०६ साउन २०८३, बुधबार
भागबण्डाको सकस

मोरङमा गठबन्धन दलबीच किन बढ्दैछ दूरी ?

बैशाख ३, २०७९
मोरङमा गठबन्धन दलबीच किन बढ्दैछ दूरी ?

स्थानीय तह निर्वाचनका लागि उम्मेदवार भागबण्डालाई लिएर मोरङमा सत्ता गठबन्धन दलबीच दूरी बढ्न थालेको छ । 

वैशाख ३० गते हुने निर्वाचनका लागि पटक–पटक बैठक बसे पनि भागबण्डाको टुंगो भने लागेको छैन । शनिवार दिउँसो बसेको बैठक पनि निष्कर्षविहीन सकिएको छ । 

नेपाली कांग्रेस मोरङको पार्टी कार्यालयमा गठबन्धनको बैठक चलिरहेका बेला कांग्रेस कार्यकर्ताले नाराबाजी गरेपछि अन्य गठबन्धन दलका नेताहरू बैठक छाडेर हिँडेका छन् । 

गठबन्धनमा रहेका अन्य दललाई कमजोर बनाउने उद्देश्यले कांग्रेसले कार्यकर्ता उचालेको भन्दै उनीहरू कांग्रेसको पार्टी कार्यालयमा बैठक बस्न नसक्ने भन्दै बाहिरिएका हुन् । 

‘भित्र बैठक हुन्छ, बाहिर कांग्रेसले कार्यकर्ता बोलाएर नारा जुलुस लगाउँछ,’ बैठकमा सहभागी एक नेताले भने, ‘कांग्रेसको दोहोरो चरित्रका कारण हामी निष्कर्षमा पुग्न सकेनौँ ।’

शुक्रवारको बैठकमा पनि कांग्रेस कार्यकर्ताले नाराबाजी गर्दै पार्टी कार्यालय प्रवेश गरेपछि कार्यदलका नेताहरूले ढोका बन्द गरेका थिए । कांग्रेसले अघिल्ला चुनावमा जितेका पालिकामा मेयर उपमेयर दिन नसक्ने अन्य पदमा भागबण्डा गर्न सकिने अडान राख्दै आएको छ । 

अपरान्ह ५ बजे बस्ने गरी बैठक स्थगित भएको नेकपा एकीकृत समाजवादीका नेता उद्धव पोख्रेलले बताए । 

यता माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले पनि स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताएर एमालेलाई हराउन माओवादी बाध्य नभएको बताएका छन् । 

‘एउटालाई हराएर अर्कालाई जिताउने ठेक्का माओवादीको होइन, लोकतन्त्र, व्यवस्था र संविधान रक्षार्थ जिम्मेवारपूर्ण सहकार्यको अपेक्षा मात्र हो, सहमतिको नाममा विलम्ब घातक मात्र हुन्छ, अब मैत्रीपूर्ण प्रतिस्पर्धाको लागि अविलम्ब अगाडि बढौँ,’ आङ्बोले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शीर्ष नेताहरूलाई आग्रह छ, आवश्यकता र औचित्यको आधारमा स्थानीयस्तरमा नै तालमेलको अधिकार स्वैच्छिक र खुल्ला गरिदिऊँ ।’

गठबन्धनबीच भागबण्डा नमिल्नु र माओवादी नेताबाटै यस्तो भनाइ आउनुले मोरङमा चुनावी तालमेलको विषय झनै पेचिलो बन्दै गएको छ । 

सस्थापनइतर समूहको वर्चस्व रहेका जिल्लामा कांग्रेसले गठबन्धनलाई हेप्न खोजेको माओवादीको आरोप छ । तर, कांग्रेसले भने नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आफ्नो हैसियतभन्दा बढी दाबी गरिरहेको जनाएको छ । 

माओवादीले धेरै पालिका मागेका कारण गठबन्धनबीचमा सहमति नजुटेको कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बुले बताए । 

सत्ता गठबन्धनलाई सबैभन्दा ठूलो सकस विराटनगर महानगरपालिकामा देखिन्छ । महानगरमा कांग्रेस र जनता समाजवादी पार्टीले नेतृत्वमा दाबी गर्दै आएका छन् । 

मोरङका १७ स्थानीय तहमध्ये गत चुनावमा एक्लै भिड्दा कांग्रेसले विराटनगर महानगरपालिकासहित ९ स्थानीय तह जितेको थियो । उर्लाबारी, रतुवामाई, लेटाङ, सुनवर्षी, सुन्दरहरैंचा नगरमा जितेको कांग्रेसले कटहरी, केराबारी, धनपालथान गाउँपालिका पनि जितेको थियो । 

बूढीगंगा गाउँपालिकामा विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकले जितेको थियो । गच्छदारको दल कांग्रेसमा गाभिएपछि अहिले मोरङमा १० स्थानीय तहमा कांग्रेसको नेतृत्व छ ।

salt training

कमेन्ट गर्नुहोस्