२२ असार २०८३, सोमबार

एक चौथाइमा झर्‍यो खानेतेलको उत्पादन

बैशाख २५, २०७९
एक चौथाइमा झर्‍यो खानेतेलको उत्पादन

लम्बिँदो रूस–युक्रेन तनावबीच इन्डोनेशियाले खानेतेलको कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगाएपछि स्वदेशी तेल उद्योगको उत्पादन एक चौथाइमा झरेको छ । कच्चा पदार्थ आयातमा अवरोध आएपछि उत्पादन खुम्चिएको उद्योगीहरूले बताए ।

कच्चा पदार्थको आपूर्ति असहज भएपछि बारा–पर्साका तेल उद्योग अहिले क्षमताको २५ प्रतिशतमा चलिरहेको उद्योगी बताउँछन् । अर्धप्रशोधित तेलका मुख्य उत्पादक देशबाट आयात अवरुद्ध भएपछि उत्पादन करीब एक चौथाइमा झरिसकेको नारायणी आयलका सञ्चालक निखिल चाचानले बताए ।

‘यसअघि यहाँका उद्योगले क्षमताको ८० प्रतिशतसम्म उत्पादन गरिरहेका थिए । अहिले त्यो २५/३० प्रतिशतमा झरिसकेको छ,’ चाचानले आर्थिक अभियानसित भने । कच्चा पदार्थ आपूर्तिमा यस्तै समस्या रहिरहे उत्पादन अझ कम हुँदै जाने उद्यमीको भनाइ छ । नेपालका दुई दर्जन खानेतेल उद्योगमध्ये अधिकांश (१४ ओटा) यही कोरिडोरमा छन् । अन्य विराटनगर र भैरहवामा सञ्चालित छन् ।

स्वदेशी उत्पादकले युक्रेन र रूसबाट सूर्यमुखी र भटमासको अर्धप्रशोधित तेल आयात गर्छन् । तोरीको अधिकांश परिमाण पनि यी देशबाटै आउने गरेकोमा २ महीनादेखि जारी तनावले आपूर्ति अवरुद्ध भएको छ ।

पाम तेलको मुख्य निर्यातकर्ता इन्डोनेशियाले अप्रिल २८ देखि आन्तरिक बजार मूल्य नियन्त्रणका लागि भन्दै निर्यात रोकेको छ । त्यहाँबाट अर्धप्रशोधित तेल ल्याएर प्रशोधन गरी भारत निकासी गर्दै आएका उद्योगीलाई अहिले उद्योग चलाउनै कठिन भएको अर्का उद्योगी ओसीबी फूडका सञ्चालक सुरेश रुंगटाले बताए ।

अर्धप्रशोधित तेल नपाएपछि अस्ट्रेलिया र भारतबाट भटमास मगाएर यहीँ पेल्न थालिएको रुंगटाले जानकारी दिए । गोदाममा राखिएको भटमासले १ महीना पनि धान्न नसक्ने रुंगटाले बताए । उनको उद्योगले अहिले दैनिक ८० मेट्रिक टन भटमास खपत गरिरहेको छ । अर्धप्रशोधित तेल आयात नभएपछि भटमासको दाना पेल्नु परेको उनले बताए ।

कच्चा पदार्थ आपूर्ति सहज नभए आन्तरिक बजारमा पनि अभाव हुनसक्ने उद्योगी बताउँछन् । कोरोना महामारीका कारण उत्पादनमा कमी आएपछि १ वर्षयता तेलको भाउ उकालो लागेको उद्यमीहरू बताउँछन् । १ वर्षअघिसम्म अन्तरराष्ट्रिय बजारमा प्रतिमेट्रिक टन १ हजार अमेरिकी डलर हाराहारी रहेको भटमासको अर्धप्रशोधित तेलको मूल्य अहिले २ हजार १ सय डलर पुगिसकेको उद्योगी चाचानले बताए ।

अन्तरराष्ट्रिय बजारमा देखिएको अभाव र मूल्यवृद्धिको दबाब स्वदेशी बजार मूल्यमा देखिएको छ । खानेतेलको मूल्य निरन्तर बढिरहेको छ । रूस–युक्रेन तनाव शुरू भएयतामात्रै तेलको भाउ प्रतिलिटर ५० रुपैयाँ बढिसकेको छ । उद्यमी रुंगटाका अनुसार २ महीनाअघि प्रतिलिटर २५० रुपैयाँसम्म रहेको खानेतेलको मूल्य अहिले ३०० रुपैयाँ छ । ओमप्रकाश खनालले आर्थिक अभियान दैनिकले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्