०९ साउन २०८३, शनिबार
स्थानीय चुनाव

चुनावमा विवेकशील साझालाई लज्जास्पद मत, ३ अंकको आंकडा छुनै मुस्किल

चुनावमा विवेकशील साझालाई लज्जास्पद मत, ३ अंकको आंकडा छुनै मुस्किल

वैकल्पिक राजनीतिको वकालत गर्दै आएको विवेकशील साझा पार्टीको अवस्था लज्जास्पद देखिएको छ ।

आइतवार दिउँसोसम्मको प्रारम्भिक नतिजामा साझाको अवस्था नाजुक देखिएको हो । काठमाडौं महानगरमा ७ हजार मत गणना हुँदा साझाकी उम्मेदवार छैटौं स्थानमा छिन् । स्वतन्त्र उम्मेदवार बालेन शाहले २ हजार ८ सय मत प्राप्त गर्दा साझाकी समीक्षा बास्कोटाले मात्र २३ भोट पाएकी छिन् । उनी भन्दा स्वतन्त्र उम्मेदवार सुमन सायमीले १६५ मत पाएका छन् । 

उपमेयरमा सुनिता डंगोलले २ हजार भोट पाउँदा साझाकी कृति कंशाकारले मात्र ३५ भोट पाएकी छिन् । 

काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा खेमकुमारी भुर्तेलले ७ औं स्थानमा रहँदै ७ भोट पाएकी छिन्, जबकि यही क्षेत्रमा मेयरका स्वतन्त्र उम्मेदवार सुमित खरेलले ४ सय मत पाएका छन् । 

पोखरा उपमहानगरमा पनि साझाले पाएको भोट लज्जास्पद देखिएको छ । गठबन्धनका धनराज आचार्यले १ हजार १ सय २१ मत पाउँदा साझाकी सुशीला केसीले ८ भोट पाएकी छिन्, जबकि स्वतन्त्र उम्मेदवार खड्कराज गौडेल (गनेस)ले ६५ र राप्रपाका शंकर खरालले १८४ मत पाएका छन् ।

चितवनको भरतपुरमा ४ हजार ८ सय मत गन्दा साझाका प्रविन काफ्लेले ८ भोट पाएका छन्, जबकि स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५ सय ७९ मत पाएका छन् । 

२०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौंमा विवेकशील र साझाका उम्मेदवारले राम्रो भोट पाएका थिए । त्यसपछि साझा र विवेकशील पार्टी एक भएर चुनाव लड्दा काठमाडौं १ मा रवीन्द्र मिश्रले कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई धक्का दिएका थिए । 

चुनावमा पराजित भएको केही समयमै विवेकशील साझा विभाजित भयो । त्यसको असर स्थानीय तह निर्वाचनमा देखिएको छ । 

‘मान्छेमा इमान्दारी भए सचेत जनताले पत्याउँदा रहेछन् भन्ने उदाहरण बालेन शाह हुन् । रवीन्द्रजीहरूले वैकल्पिक राजनीतिलाई धमिल्याउनुभयो,’ साझा पार्टीबाट अलग्गिएका उनका एक पूर्व सहकर्मीले भने, ‘चुनावको पूर्वसन्ध्यामा राप्रपासँग एकताको चर्चापछि त्यो पार्टी वैकल्पिक राजनीतिको वकालत गर्न पनि योग्य रहेन ।’

salt training

कमेन्ट गर्नुहोस्