२६ जेठ २०८३, मंगलबार

मेयर खाँणले फर्जी माइन्यूट खडा गरी तिलोत्तमाको नगरसभा स्थगित गरेको एमालेको आरोप

असार ३२, २०७९
मेयर खाँणले फर्जी माइन्यूट खडा गरी तिलोत्तमाको नगरसभा स्थगित गरेको एमालेको आरोप

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा फर्जी माइन्यूट तयार गरी गणपुरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित भएको छ । जसका कारण तिलोत्तमा नगरपालिकाको बजेट पारित हुन सकेको छैन ।

पटक–पटक सर्दै आएको नगरसभा शुक्रवारका लागि बोलाइएको थियो ।

बैठकमा नगर प्रमुख रामकृष्ण खाँणले बजेट पारित गर्ने कार्यसूची मात्र पेश गरेका थिए तर एमालेबाट निर्वाचित नगरसभा सदस्यले बजेटका साथै न्यायिक समिति लगायत ४ वटा विषयगत समिति गठनलाई पनि कार्यसूचीमा राख्न गरेको आग्रह नगर प्रमुखले अस्वीकार गरेका थिए ।

नगरसभा बैठकको माइन्यूटमा ८८ जनाको हस्ताक्षर भएकोमा नगर प्रमुख खाँणले नगर सभाको हल बाहिर छुट्टै फर्जी माइन्यूट खडा गरी ४१ जनाको हस्ताक्षर गराएर गणपुरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित गरेको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीको आरोप छ ।

‘नगर सभाले गठन गर्नुपर्ने विषयगत समितिहरूलाई बेवास्ता गर्ने गरी वैधानिक व्यवस्था विपरीत अघि बढ्न खोज्दा सिंगो नगरपालिकाको काममा असर पर्न सक्छ,’ उनले भनिन् ।

असार १० गते उपप्रमुख चौधरीले नगर सभामा बजेट प्रस्तुत गरेपछि त्यसका लागि छलफल तथा पारित गर्न असार २१ गते नगर सभाको बैठक आह्वान गरिएको थियो तर बैठक सूचना टाँसेर असार २६ गतेका लागि सारिएको थियो । 

त्यो दिनको बैठक पनि स्थगित गरी शुक्रवारका लागि सारिएको थियो । यसअघि असार २८ गतेको कार्यपालिका बैठकमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले न्यायिक समिति, लेखा समिति, विधायन समिति र सुशासन समिति गरी ४ वटा विषयगत समिति नगर सभाले पारित गर्नुपर्ने वैधानिक व्यवस्था भएकाले बजेट पारित गर्ने दिन यी विषयलाई पनि कार्यसूचीमा राख्नुपर्ने अडान लिएका थिए ।

नगर सभामा ८८ जनाको हस्ताक्षर हुँदाहुँदै नक्कली माइन्युट खडा गरेर नगरसभा स्थगित गर्नु दुर्भाग्यपूर्ण रहेको नगर कार्यपालिकाका सदस्य सुरेन्द्र श्रीले बताए । ‘९१ सदस्यीय नगर सभामा ८८ जनाको हस्ताक्षर छ तर नगर प्रमुखले विषयगत समिति गठन नगर्ने मनसायका साथ नक्कली माइन्यूट खडा गरेर नगरसभा नै स्थगित गर्नु निकै चिन्ताजनक र दुर्भाग्यपूर्ण कुरा हो, यसमा हाम्रो गम्भीर असहमति छ,’ उनले भने ।

यसबारे बुझ्न मेयर खाँणसँग पटक–पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेन ।

salt training

कमेन्ट गर्नुहोस्