
घोराही उपमहानगरपालिका–१३ कलमघारीका रेशमबहादुर राणासँग १५० माहुरीका घार छन् । उनले ८३ घारबाट माहुरीपालन शुरूआत गरेका हुन् । पहिला माहुरीपालनबाट मेहनतअनुसार कमाइ ठीकै थियो । त्यही अवस्थाबाट उत्साहित हुँदै राणाले माहुरीका घार थपे ।
‘घार थपेसँगै मह उत्पादन बढेको छ, तर मह बिक्री हुन सकेको छैन’, राणाले भने । जिल्लामै विगत वर्षभन्दा यस पटक मह उत्पादन बढेको छ । मह नबिकेपछि किसान निराश छन् । स्थानीय बजारको मागभन्दा बढी उत्पादन भएपछि किसानले मह घरमै भण्डारण गरी बजार खोज्न थालेका छन् ।
‘बजारमा मह खपत हुन सकेको छैन, घरमा यत्तिकै राख्नु परेको छ,’ राणाले भने, ‘फेरि मह उत्पादन हुने याम शुरू भएको छ, बिक्रीको चिन्ता हुन थालेको छ ।’ उत्पादन राम्रो भए पनि महले बजार नपाएपछि निराश बनेको तुलसीपुरका माहुरीपालक किसान उमेश थापाले बताए । खपत हुन नसक्दा घरमै मह राख्नुपर्ने अवस्था आएको घोराही–१८ अम्बापुरका मोहन खत्रीको भनाइ छ ।
किसानले सेरेना र मेलिफेरा जातका माहुरीपालन गर्दै आएका छन् । जिल्लामा हाल पाँच सयभन्दा बढी व्यावसायिक रुपमा माहुरीपालक किसान रहेको नेपाल माहुरीपालक महासंघका वरिष्ठ उपाध्यक्ष दीपक श्रेष्ठले बताए । ‘मह नबिक्दा माहुरीपालक किसान के गर्ने भन्ने अन्यौलमा छन्’, उनले भने । जिल्लामा हाल १५० टन मह बिक्री नभएर थन्किएको तथ्यांक महासंघसँग छ ।
आयातीत महले पनि स्थानीय महको बजार प्रतिस्थापन गरेको छ । महको स्थानीय ब्रान्डलाई स्तरीय बनाउन जरुरी रहेको उनको भनाइ छ । दाङको मह पोखरा, काठमाडौंलगायत सहरमा बिक्री हुने गरेको छ । भारतीय बजारबाट आउने सस्तो मूल्यको महका कारण उपभोक्ताले स्थानीय महमा चासो दिएका छैनन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत माहुरीजोनकी प्राविधिक सहायक नारायणी घर्ती माहुरीपालक कृषकलाई माहुरीको नस्ल सुधारदेखि व्यावसायिक रूपमा मह उत्पादनमा अनुदानलगायत सहयोग गर्दै आएको बताउछिन् । ‘बजारीकरणको काम कृषक आफँैले गर्ने गरेका छन्’, उनले भनिन् । यसपटक औसतमा प्रतिघार १२ दशमलव ८३ किलो मह उत्पादन भएको घर्तीको भनाइ थियो । माहुरीजोनमा घोराहीका १०१, तुलसीपुरका ४५ र बंगलाचुलीका ११ फार्म सूचीकृत छन् ।
उत्पादित मह सहकारीमार्फत बेच्ने तयारी छ । बजारीकरणमा समस्या भएपछि यहाँका किसान संगठित रूपमा एकद्वार प्रणालीमार्फत मह बिक्री गर्ने तयारीमा जुटेका छन् । मह उत्पादक किसानलाई सहकारी संस्थामा आबद्ध गराउँदै एकीकृत रूपमा मह बिक्री गर्ने तयारी छ । रासस