१८ असार २०८३, बिहीबार
सञ्चारको विकासले गाउँमा ल्याएको परिवर्तन

मोबाइल नेटवर्कको खोजीमा अग्ला डाँडा धाउनुपर्ने च्याम्राङवासीका दिन फेरिए !

मोबाइल नेटवर्कको खोजीमा अग्ला डाँडा धाउनुपर्ने च्याम्राङवासीका दिन फेरिए !

एकवर्ष अघिसम्म सविना तिमिल्सिना दाहाललाई आफन्तको हालखबर बुझ्न हातमा मोबाइल बोकेर नेटवर्कको खोजीमा अग्ला डाँडामा पुग्नुपर्थ्यो । 

काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर १ निवासी दाहालका गाउँमा सबैसँग मोबाइल सेट त थियो तर उनको च्याम्राङ गाउँवरिपरि कुनै पनि मोबाइल सेवाप्रदायकको नेटवर्क थिएन । नेटवर्कको अभावमा उनी फोन गर्नकै लागि एक/दुई घण्टासम्म भौँतारिदै अग्ला पहाड पुग्ने गर्थिन् ।

मोबाइलको नेटवर्क फेला परिहाले पनि बीच–बीचमा काटिने समस्याले दाहाललाई आजित बनाइदिन्थ्यो । गाउँमा मोबाइलको टावर नहुँदाको पीडा र नेटवर्क खोज्न घण्टौंको समय खर्चिन पर्दा दाहालले घरधन्दाका धेरै काम थाति राख्न पर्थ्यो । घरको काम समयमा नसक्दा धेरैपटक गाली खाएको अनुभव उनीसँग छ ।

काभ्रेपलाञ्चोक जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को बेथानचोक गाउँपालिकाको वडा नम्बर १ भौगोलिक हिसाबले पनि दुर्गममा पर्छ । करीब २२ सय जनसंख्या रहेको यस वडाका बासिन्दा मोबाइलबाट कुराकानी गर्न सविनाले जस्तै नजिकको मोबाइल टावरको नेटवर्क खोज्न भीरपाखा धाउँदै आएका थिए । र, यी सबैको मोबाइलबाट फोन गर्दाको अनुभव सविनाको जस्तै थियो ।

स्थानीय डण्डप्रसाद दाहालका अनुसार छिमेकी वडाका स्थानीयले ल्यान्डलाइन टेलिफोनसँगै मोबाइल इन्टरनेट सेवाको सुविधा उपभोग गरिरहँदा विकट च्याम्राङबेसीवासी सञ्चारको सुविधाबाट बञ्चित थिए । सञ्चारविहीन च्याम्राङबासीले सञ्चारको पहुँचमा आउन आफ्नै निर्वाचन क्षेत्रका निर्वाचित सांसद गोकुल बास्कोटासँग आग्रह गरे । 

सांसद बाँस्कोटाले स्थानीयको माग र आवश्यकताअनुसार नेपाल टेलिकमसँग समन्वय गरेपछि अहिले धामीडाँडा टोलनजिकको डाँडामा टेलिकमको मोबाइल टावर सञ्चालनमा आएको छ । २०७९ साल वैशाख पहिलो साताबाट टावर सञ्चालनमा आएपछि यहाँका बासिन्दाको दैनिकीमै परिवर्तन आएको छ ।

‘शहरमा सबैले मोबाइल इन्टरनेटबाट भिडियोमा कुरा गरेको देख्दा मलाई पनि शहरमा बस्ने छोराछोरीसँग इन्टरनेटबाट कुराकानी गर्न रहर लागेर महंगो मोबाइल सेट खरिद गरें,’ स्थानीय पार्वती दाहालले भनिन्, ‘गाउँमा कुनै पनि मोबाइल सेवा प्रदायकको नेटवर्क थिएन । अरू नेटवर्कको खोजीमा अग्ला पहाडतिर जान्थे । म हिँडडुल गर्न नसक्ने भएकाले मोबाइल थन्क्याएर राखें । अहिले गाउँमै नेपाल टेलिकमको टावर सञ्चालनमा आयो । थन्क्याएर राखेको मोबाइल सेट बल्ल प्रयोग गर्न पाएकी छु । मज्जाले छोराछोरीसँग कुराकानी गर्न पाएकी छु ।’ 

च्याम्राङबेसीलाई पहिलोपटक मोबाइल नेटवर्कले छोएपछि यहाँका कृषक बढी खुसी भएका छन् । स्थानीय सुमन दाहाल निवर्तमान सांसद बाँस्कोटाकै पहलमा सडक सञ्जालको समेत विस्तार भएको बताउँछन् ।

‘च्याम्राङबेसीमा तरकारी खेती र दूध उत्पादन बढी हुन्छ । यातायातका साथै सञ्चार सुविधाले कृषकहरूलाई सिधै व्यापारीसँग फोन सम्र्पक गरी आफ्नो कृषि उत्पादनको बेचबिखन गर्न सजिलो भएको छ,’ दाहालले भने । 

पहिला सडक र सञ्चार सुविधा नहुँदा उत्पादन भएका तरकारी बोकेर तीनचार घण्टाको दुरीमा रहेको बजार पुर्‍याउनुपर्ने बाध्यता थियो । अहिले किसानहरू भारी बोकेर बजार धाउनुपर्ने बोझबाट मुक्त भएका छन् ।  

सञ्चार प्रविधिको पहँुच र विस्तार अभावमा आफूलाई आवश्यक पर्ने सूचना र जानकारीबाट बञ्चित बनेका यहाँका स्थानीयले अहिले भने हातहातमा मोबाइल फोनबाट आवश्यक सूचना र जानकारी लिएको देख्न सकिन्छ । मोबाइल नेटवर्कको विस्तारसँगै विद्यालयमा समेत सूचना प्रविधिसम्बन्धी शिक्षण सिकाइको शुरूआत भएको स्थानीयहरू बताउँछन् ।

‘सडक र सञ्चार भनेको मुख्य विकास रहेछ, ढिलो भएपनि हामीले ती सुविधा प्रयोग गर्न पाएका छौं, विकासका लागि पहल गर्नेलाई हामीले मनबाटै धन्यवाद दिएका छौं,’ डण्डप्रसादले भने । 

salt training

कमेन्ट गर्नुहोस्