०६ असार २०८३, शनिबार

प्लाष्टिकबाट बनेको फूलको बिक्री वितरणमा रोक, भण्डारण गरेको पनि भेटिए १ लाख जरिबाना

कात्तिक ३, २०७९
प्लाष्टिकबाट बनेको फूलको बिक्री वितरणमा रोक, भण्डारण गरेको पनि भेटिए १ लाख जरिबाना

वातावरण विभागले शुक्रवारदेखि प्लाष्टिकजन्य फूलको उत्पादन, आयात बिक्री वितरण रोक्न माइकिङ तथा अनुगमन गर्ने भएको छ । तिहार र छठको मुखमा सरकारले सूचना जारी गर्दै प्लाष्टिकजन्य फूलको आयात र बिक्री वितरणमा रोक लगाएको हो । 

वातावरण विभागका महानिर्देशक नारायण घिमिरेले प्लाष्टिकजन्य फूलको आयात, बिक्री वितरणमा रोक लगाएको सरकारले शुक्रवारदेखि नै बजारमा प्लाष्टिकजन्य फूल बेच्न र प्रयोग नगर्न माइकिङ गर्ने बताए । उनले सरकारले गत साउनमा राजपत्रमा प्रकाशन गरेर प्लाष्टिकजन्य फूलको उत्पादन, आयात बिक्री, वितरण वा भण्डारणमा रोक लगाएको भन्दै बिहीवारको सूचनामार्फत सचेत गराएको बताए । 

उनले तिहार र छठ नजिकिएसँगै बजारमा प्लाष्टिकजन्य फूलमालाहरू बिक्री बढ्ने भएकाले बिक्री-वितरणमा रोक लगाउने सरकारको उद्देश्य रहेको प्रष्ट पारे । घिमिरेले गत साउनदेखि नै  प्लाष्टिकजन्य फूलमालाको आयात प्रतिबन्ध रहेको बताए । उनले तिहार र छठजस्ता पर्वहरूमा प्लाष्टिकजन्य फूलमाला प्रयोग नगर्न आग्रह गर्दा–गर्दै पनि बजारमा बिक्रीवितरण गरेको अनुगमनमा भेटिएमा तत्काल १ लाख रुपैयाँसम्म जरिबाना गरिने बताए । 

उनले अनुगमनका क्रममा सरकारको निर्णय विपरित कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को  खण्ड (क) वा (ख) बमोजिम १५ हजार देखि २० हजार रुपैयाँसम्म जरिबाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट १ लाख रुपैयाँसम्म जरिबाना हुने सूचनामा उल्लेखअनुसार नै कारबाही गरिने बताए । 

‘प्लाष्टिकका फूलहरू बिक्रीवितरण नगर्नु भनेर वातावरण विभागले आज सूचना दिएको हो । तर, यो गत साउन १२ गते राजपत्रमा प्रकाशित सूचनाको जानकारी हो । सरकारको उद्धेश्य तिहारलगायतका चाडपर्वहरूमा प्लाष्टिकजन्य फूल तथा झल्लरहरूको बिक्री–वितरण रोक्नको लागि सूचना जारी गरिएको हो । यस्ता फूलको आयात गत साउनमा नै आयातमा रोक लगाइसकेको हो । भन्सारमा प्लाष्टिकबाट बनेका फूल, झल्लरहरू आयात गर्न पाइँदैन’, घिमिरेले भने, ‘अहिले विगतमा आयात गरेर स्टोरमा रहेका फूलहरू तिहारमा बजारमा बिक्रीवितरणमा वा प्रयोग नगर्न सचेतनाको लागि सूचना जारी गरिएको हो । बजारमा प्लाष्टिकजन्य फूलहरू प्रयोग नगर्न भोलिदेखि नै माइकिङ गर्छौं । शुक्रवार र शनिवार दिनभर माइकिङ गर्छौंं । माइकिङ गर्दै बजार अनुगमनमा जान्छौँ । यस्ता फूलहरूको प्रयोग नगर्दा जानकारी गराएपछि पनि अनुगमन गर्दा यस्ता सामान बजारमा भेटियो भने कारबाही गर्ने चरणमा जान्छौँ ।’

salt training

कमेन्ट गर्नुहोस्