मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
कात्तिक १५, २०७९
प्रतिनिधि सभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा नेकपा एमाले र नेपाली कांग्रेसबीच मुख्य चुनावी प्रतिस्पर्धा हुँदैछ ।
नेकपा एमालेले केन्द्रीय सदस्य मानवीर राईलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेस र माओवादी केन्द्रको साझा उम्मेदवार कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री बलबहादुर केसी छन् ।
सोलुखुम्बुबाट पटक–पटक चुनाव जितेका केसी सातौंपटक उम्मेदवार बनेका छन् । २०४८ सालदेखि सोलुखुम्बुको चुनावमा केसी निरन्तर उम्मेदवार छन् ।
हाल ६९ वर्षीय केसीले २०४८, २०५१, २०५६ र २०७० चुनाव जितेका छन् । २०६४ सालमा उनी माओवादी केन्द्रका उम्मेदवार गोपाल किरातीसँग पराजित भएका थिए । २०७४ सालमा एमाले र माओवादी केन्द्रले देशभर गठबन्धन गरेर सोलुखुम्बुमा माओवादी केन्द्रका हेमकुमार राईलाई उम्मेदवार बनाएको थियो । एमाले र माओवादी केन्द्रको मतसँग कांग्रेसका उम्मेदवार केसी पराजित भएका थिए ।
कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा २ पटक गरेर भौतिक योजना, सामान्य प्रशासन र श्रम मन्त्री भएका केसी शेरबहादुर देउवाको २ कार्यकालमा पनि युवा तथा खेलकुद र पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका थिए ।
सोलुखुम्बुमा केसीसँग चुनावी प्रतिस्पर्धा गर्न एमालेले अघि सारेका युवा उम्मेदवार मानवीर राई पहिलोपटक चुनावी मैदानमा छन् । राई २०७४ सालमा प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका थिए तर एमाले–माओवादी गठबन्धन हुँदा सोलुखुम्बु माओवादीको भागमा पर्यो । हेमकुमार राई प्रतिनिधि सभाको उम्मेदवार भए ।
मानवीरलाई १ नम्बर प्रदेशसभा सदस्यको ‘अफर’ आउँदा उनले इन्कार गरिदिए । आफूले प्रतिनिधिसभा सदस्यको लागि तयारी गरेको र अहिले नभए अर्को चुनावमा लड्ने भन्दै प्रदेश सभाको टिकट उत्तमकुमार बस्नेतलाई छाडिदिए । बस्नेतले चुनाव जिते र १ नम्बर प्रदेश सरकारको उद्योग, वन तथा वातावरण राज्यमन्त्री भए ।
२०७४ सालको चुनाव छाडेका राईलाई एमाले सोलुखुम्बुले आगामी मंसिर ४ गते हुने चुनावमा प्रतिनिधिसभा सदस्यका लागि एकल सिफारिस गरेको थियो । एमालेले उनैलाई टिकट दिने निर्णय गर्यो तर एमालेले सोलुखुम्बुमा अहिलेसम्म प्रतिनिधि सभाको चुनाव जितेको रेकर्ड छैन । यसपटक राईलाई चुनाव जितेर रेकर्ड कायम गर्ने अवसर र चुनौती दुवै छ ।
सगरमाथाको जिल्ला भनेर चिनिने सोलुखुम्बु केन्द्रीय सरकारलाई सबैभन्दा धेरै रोयल्टी बुझाउने जिल्लाको रूपमा परिचित छ । भौगोलिक हिसाबले अत्यन्त विकट सोलुखुम्बुका जनताले अहिलेसम्म राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् उपभोग गर्न पाएका छैनन् । सोलुखुम्बुमा लघु जलविद्युत् र सोलारबाटै जनताले विद्युत् उपभोग गरिरहेका छन् ।
सोलुखुम्बुका अधिकांश जनतालाई कालोपत्रे सडक देख्न घण्टौंको यात्रा गर्नुपर्छ । २०७४ सालयता कच्ची सडक विस्तारको कामले तीव्रता पाएको छ । स्थानीय तहहरूले सडक विस्तारलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् तर वर्षायाममा कुनै पनि पालिकाको केन्द्रसम्म सहजै सवारीसाधन पुग्दैन ।
पर्यटकीय गन्तव्यको रूपमा परिचित सोलुखुम्बुमा ४ वटा विमानस्थल छन् । त्यसमध्ये फाप्लु र लुक्ला विमानस्थल मात्रै चालू अवस्थामा छन् । कागेल र स्याङ्बोचे विमानस्थल बन्द छन् । महाकुलुङ विमानस्थल प्रस्ताव गरिएको छ, त्यसको काम अझैसम्म शुरू भएको छैन ।
सोलुखुम्बुमा सोलु–दुधकुण्ड नगरपालिकासहित ८ वटा स्थानीय तह छन्, त्यसमध्ये ७ वटा गाउँपालिका छन् । गत स्थानीय तहको चुनावमा कांग्रेसले ५, एमालेले २ र माओवादीले १ स्थानीय तह जितेका छन् ।
स्थानीय तहको मत परिणामअनुसार सोलुखुम्बुमा कांग्रेस पहिलो पार्टी हो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छ । त्यसबेला वडाध्यक्षका उम्मेदवारमध्ये कांग्रेसले १९ हजार ६८, एमालेले १६ हजार ५९७ र माओवादी केन्द्रले १२ हजार ४२५ मत पाएका छन् ।
सोलुखुम्बुमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेको हुँदा मतपरिणामको हिसाबले कांग्रेसका उम्मेदवारले सहजै चुनाव जित्नुपर्ने हो तर सोलुखुम्बुमा कांग्रेसभित्रकै अन्तरविरोध बलबहादुर केसीका लागि प्रमुख चुनौती बनेको छ ।
सोलुखुम्बु कांग्रेसमा निरन्तर एउटै व्यक्तिले राजनीतिक लाभ लिइरहेको भनेर असन्तुष्टि छ । उम्मेदवार सिफारिसकै बेला असन्तुष्टि व्यापकरूपमा प्रस्तुत भएको थियो । कांग्रेसमा बलबहादुर केसी शेखर कोइराला खेमामा छन् । सोलुखुम्बु कांग्रेसका सभापति भने केन्द्रीय सभापति शेरबहादुर देउवा निकटका नाम्गेल जाङ्बु शेर्पा छन् । सोलुखुम्बु कांग्रेसमा देउवा पक्ष हाबी छ ।
सोलुखुम्बुबाट कांग्रेसले केन्द्रीय सदस्य आङ्गेलु शेर्पाको नाम प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सिफारिस गरेको थियो । त्यसबेला बलबहादुर केसी बिरामी भएर उपचारका लागि काठमाडौं आएका थिए तर केसीले शेर्पालाई उम्मेदवार हुन नदिएर प्रतिनिधिसभा सदस्य उम्मेदवारको टिकट आफैंले लिएर गए ।
केसीले सातौंपटक चुनावको टिकट लिएपछि सोलुखुम्बु कांग्रेसको संस्थापन पक्ष केसीसँग असन्तुष्ट छ । उनीहरू अहिलेसम्म खुलेर चुनावी प्रचारमा हिँडेका छैनन् ।
सोलु–दुधकुण्ड नगरपालिकाका मेयर समेत रहेका सोलु कांग्रेसका सभापति नाम्गेल जाङ्बु शेर्पा उम्मेदवारको विषयलाई लिएर पार्टीभित्र अन्तरविरोध रहेको तर त्यसलाई चुनावको बेला नउठाउने बताउँछन् ।
‘एउटै व्यक्तिले ७ पटकसम्म चुनावको टिकट पाउँदा अरू नेता अवसरबाट वञ्चित भए भन्ने असन्तुष्टि पार्टीभित्र छ । त्यही भएर हामीले नयाँ व्यक्तिको नाम उम्मेदवारको रूपमा सिफारिस गरेर पठाएका थियौं । हाम्रो सिफारिसलाई केन्द्रले मान्यता दिएन । अब केन्द्रले उम्मेदवार तय गरेर पठाएको व्यक्ति पार्टीको उम्मेदवार हो । अहिले हामी पार्टीको उम्मेदवारलाई जिताउन लाग्छौं र चुनावपछि हाम्रा असन्तुष्टिका बारेमा छलफल गर्छौं,’ शेर्पाले भने ।
सोलुखुम्बुमा चुनाव जित्नका लागि माओवादी केन्द्रको मतको खासै अपेक्षा नगरेको उनले बताए ।
‘सोलुखुम्बुमा माओवादी केन्द्र कमजोर छ । एउटा स्थानीय तहको प्रमुख मात्रै माओवादी केन्द्रले जितेको छ । गठबन्धनमा भएपछि केही मत त थप होला तर कांग्रेस आफ्नै मतको भरमा चुनाव लड्ने हो, माओवादी केन्द्रको मतमा धेरै भर परेका छैनौं,’ शेर्पा भन्छन् । हालसम्म सोलुखुम्बुमा अघिल्ला चुनावहरूमा जस्तो चुनावी माहोल नबनिसकेकाले कुन उम्मेदवारको कस्तो अवस्था छ भन्ने आकलन गर्न अहिल्यै नसकिने शेर्पा बताउँछन् ।
‘उम्मेदवारले अगुवा कार्यकर्तासँग भेट्ने र छलफल गर्ने कार्यक्रम चलिरहेको छ । चुनावी माहोल बनिसकेको छैन । अब बिस्तारै चुनावी माहोल तात्दै जाला,’ उनी भन्छन् ।
चुनावी प्रचारमा व्यस्त रहेका कांग्रेसका उम्मेदवार केसीले सोलुखुम्बुका जनताले आफूलाई ‘विकास बहादुर’को रूपमा चिनेकाले आगामी चुनावमा पनि आफूलाई नै विजयी गराउने बताउँदै आएका छन् ।
हुन त केसीले २०७४ सालमा चुनाव हारेपछि आफूले अब कहिल्यै चुनाव नलड्ने घोषणा गरेका थिए । आफू पार्टी शुद्धीकरणमा लाग्ने उनले बताएका थिए ।
सोलुमा गठबन्धनमा रहेको माओवादी केन्द्र र कांग्रेसको सम्बन्ध तिक्ततापूर्ण छ । २०६४ सालको चुनावमा सिसाखोलामा माओवादी र कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा माओवादीका गजेन्द्र भुजेलको ज्यान गएको थियो । त्यसेबला माओवादीको कुटाइबाट केसी आफैं घाइते भएका थिए । त्यसपछि चुनाव प्रचार नै छाडेर हेलिकप्टर चार्टर्ड गरी उनी काठमाडौं आएका थिए ।
त्यस्तो झडप २०७० सालको चुनावमा पनि दोहोरियो । त्यसबेला चुनाव प्रचारकै क्रममा देउसामा कांग्रेस कार्यकर्ताको आक्रमणबाट माओवादीकी रश्मी राईको ज्यान गयो ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि कांग्रेस र माओवादी कार्यकर्ताबीचको झडप रोकिएन । त्यसबेला सोताङ गाउँपालिकामा माओवादी कार्यकर्ता सुदीप राईको ज्यान गयो ।
सोताङ घटनापछि कर्तव्य ज्यान मुद्दामा कांग्रेसका कार्यकर्ता थुनामा छन् । कांग्रेसको सोताङ गाउँपालिका कार्यसमितिले आफ्ना कार्यकर्ताको रिहाइको माग गरेको छ । थुनामा रहेका कार्यकर्ता रिहाइ नहुँदासम्म कुनै चुनावी कार्यक्रममा सहभागी नहुने र भोट नहाल्ने भनेर सोताङ कांग्रेसले विज्ञप्ति निकालेको छ ।
अर्कोतर्फ माओवादी केन्द्रमा पनि टिकटकै विषयलाई लिएर विवाद छ । सत्तारूढ गठबन्धनमा सिट बाँडफाँटका लागि बनाएको मापदण्डअनुसार सोलुखुम्बुको टिकट माओवादी केन्द्रले पाउनुपर्ने थियो । हेमकुमार राई ‘सुरवीर’ फेरि पनि प्रतिनिधि सदस्यको उम्मेदवार बन्ने तयारीमा थिए तर एकाएक गठबन्धनमा सोलुखुम्बु कांग्रेसलाई दिने सहमति बन्यो ।
सोलुखुम्बुको माओवादी केन्द्रमा भने जिल्ला नेतृत्वले कांग्रेसका उम्मेदवारसँगको साँठगाँठमा टिकटको दाबी छाडेर भन्दै विवाद चर्किएको छ । सोही कारण सोलुको माओवादी केन्द्र २ खेमामा विभाजित छ । माओवादीको जिल्ला नेतृत्व गठबन्धनलाई जिताउने पक्षमा छ भने असन्तुष्ट पक्ष सहयोग नगर्ने मूडमा छ । मतदानको समयमा माओवादी केन्द्रको असन्तुष्टि कुन रूपमा प्रस्तुत हुन्छ भन्ने कुराले पनि सोलुमा एमाले र कांग्रेसका उम्मेदवारको जीतहार निर्क्यौल गर्छ ।
नेकपा एमालेका उम्मेदवार मानवीर राई भने सोलुखुम्बुमा आफू एमालेबाट उम्मेदवार भए पनि सोलुखुम्बुका लागि साझा व्यक्तित्व भएकाले चुनावी जित्ने निश्चित रहेको दाबी गर्छन् । ‘सोलुखुम्बुमा मेरो साझा उम्मेदवारी जस्तै हो । कांग्रेस, माओवादी र नेकपा एसले पनि मलाई नै भोट हाल्छन् । उहाँहरूको मतले जितेर सोलुखुम्बुलाई अभिभावकीय जिम्मेवारी दिने गरी चुनावी तयारी गरिरहेको छु,’ एमाले उम्मेदवार राईले भने ।
यसअघि चुनाव जितेका उम्मेदवारले सोलुखुम्बुको विकास र समृद्धिमा योगदान गर्न नसकेकाले मतदाताले विकल्प खोजेको र आफू उपयुक्त विकल्प भएको राईको दाबी छ ।
‘मतदाताले मेरो उम्मेदवारीलाई सहर्ष स्वीकारेका छन् । सोलुखुम्बुमा अहिलेसम्म मैले गरेको योगदान सबैसामु छर्लङ्ग छ । सोलुखुम्बुका जनता मेरै जीतको पक्षमा छन्,’ उनी भन्छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...