भदौ २७, २०८०
मानिसको व्यक्तित्व विकास तथा जीवनको तयारी शिक्षाले गर्दछ । शिक्षाले नै सामाजिक तथा आर्थिक विकासको ढोका खोल्ने गर्दछ । आजको हाम्रो आवश्यकता शिक्षामा पहुँच विस्तार मात्र नभई सबै शिक्षण संस्थाहरूमा विद्यार्थीले गुणस्तरी...
फागुन २, २०७९
येषां न विद्या न तपो न दानं, ज्ञानं न शीलं न गुणो न धर्मः ।
ते मृत्युलोके भुवि भारभूता, मनुष्यरूपेण मृगाश्चरन्ति । । - चाणक्य
अर्थ : जुन मनुष्यमा न विद्या, न साधना, न दान, न शील, न गुण, न धर्म छ, त्यस्तो मनुष्य पृथ्वीको भार हो र उसले बाँचेको जीवन पशुसरह हो ।
यहाँ यस श्लोक किन उद्धृत गरिएको हो भने नेपालको वर्तमान राजनीति चरम अव्यवस्थाबाट गुज्रिरहेको छ । यस्तो परिप्रेक्ष्यमा एउटा त्यस्तो भरपर्दो संस्था वा व्यक्ति हुनुपर्ने हो, जसमा सबैको नजर केन्द्रित भएको होस्, त्यस्तो पटक्कै भेटिएन, नितान्त अभाव देखियो । जसले वर्तमान राजनीतिक प्रणालीको वकालत गरे ती नेपालका राजनीतिक दलहरूप्रति जनताको विश्वास र भरोसा पटक्कै देखिएन । आज जनतामा चरम निराशा व्याप्त छ । समाजमा अभाव र अशान्ति छ । देशमा भ्रष्टाचार छ । ऊर्जाशील यूवाहरू राजनीतिक दलको व्यवहार र कार्यसम्पादनबाट बिरक्तिएका छन् र बर्सेनि लाखौंको संख्यामा विदेश पलायन भइरहेका छन् ।
राज्यसंयन्त्र पंगु छन् । संवैधानिक अंगहरू कामकाजी छैनन् । देशभित्र विधिविहीनता मौलाएको छ । प्राकृतिक तथा धार्मिक सम्पदाबाहेक अन्य कुनै राष्ट्रिय र अन्तर्राष्ट्रिय गौरव एवं प्रतिष्ठाका धरोहर छैनन् । धर्म, संस्कृति र परम्परामाथि निरन्तर प्रहार छ । उपभोक्तावादी संस्कृतिले हाम्रो मौलिक संस्कृतिलाई विस्थापित गर्न लागेको छ । हामी भने समृद्धिको नारा फलाकिरहेका छौं । हरेक आमचुनावको मुख्य नारा बनाइरहेका छौं । कति वर्षसम्म हामी यसो गर्न सक्छौं ? हाम्रो गैरजिम्मेवारीको धारावाहिक यात्रा कहिलेसम्म ? जनता झुक्याउने कतिन्जेल ? राजनीतिक दलमा भएका नेतामा माथि श्लोकमा भनेजस्तो देश चलाउन आवश्यक पर्ने न योग्यता, न कुशलता, न त्याग र न कुनै विश्वसनीयता, केही पनि देखिएन । तथापि जनताले बारम्बार काँध थापिरहनुपर्ने कस्तो बिडम्वना हो बुझ्न सकिएन । सुधार होला भन्ने आशमा काकाकुल भएर कतिञ्जेल बस्ने ? नेपाली सचेत जनमत जागरुक हुने बेला आएको छ ।
राजनीतिक दल लगायतका विभिन्न संस्था वा घरपरिवारमा पनि सबैजना जान्नेबुझ्ने भएको राम्रो हो । तर परिवारलाई सही रूपमा व्यवस्थापन गरी कुशलतापूर्वक सञ्चालन गर्न गतिलो अभिभावक चाहिन्छ जसले परिवारलाई एकताको सूत्रमा बाँधेर विश्वासिलो र भरपर्दो नेतृत्व प्रदान गर्छ । प्रचलित भाषामा यसैलाई घरको मियो भनिन्छ र मानिन्छ पनि । यसैगरी कुनै संस्था या राजनीतिक दलले पनि विधिपूर्वक आफ्नो मियो खडा गरेका हुन्छन् । देशले पनि संविधान र कानूनमुताविक मियो खडा गर्छ र उसैको सबल नेतृत्वमा स्वाभिमानका साथ अघि बढ्छ । मियोलाई सबैले टेवा दिन्छन् र अझ सबल बनाउँछन् । ऊप्रति गर्व गर्छन् । आजसम्म नेपालको दुर्भाग्य ! देश र जनताले दह्रो मियो पाएनन् । राष्ट्रको एकीकरणपश्चात नै यो दुर्भाग्य शुरू भयो । अपवादका नेताबाहेक कसैबाट पनि नेपाली जनताले भरोसा पाएनन् । राजनीतिक दल र नेता त मियो बन्न सकेनन् नै राजनीतिक पद्धति समेत मियो बन्न सकेन, नत्र पद्धतिले सबैलाई डोर्याउन सक्थ्यो । पद्धति बलियो र विश्वसनीय भयो भने समाज व्यवस्था आफैं अघि बढ्छ । राजनीतिक दल र शक्तिशाली ठानिने नेताहरू वा उच्चपदस्थ व्यक्तिहरूलाई पद्दतिले बाँध्छ ।
यतिबेला हामी राष्ट्रपति निर्वाचनको संघारमा छौं । गत निर्वाचनको दलीय गठबन्धन भत्किएको पृष्ठभूमिमा राष्ट्र प्रमुखको चुनाव हुँदैछ । नेपालको पहिलो र दोस्रो राष्ट्रपतिको कार्यकाल भोगेका नेपाली जनताले तेस्रो राष्ट्रपतिबाट धेरै अपेक्षा गरेका छन् । हाम्रो संविधानले व्यवस्था गरेको राष्ट्रपति सम्पूर्ण नेपाली जनताको अभिभावक र संरक्षक हो । यसैगरी राष्ट्र र संविधानको पनि संरक्षक हो । राष्ट्रपतिले संविधानको पालना र राष्ट्रिय एकतालाई प्रबर्द्धन गर्नुपर्छ । उसले गर्ने हरेक व्यवहार र चाल्ने हर कदम संविधानप्रदत्त हुनुपर्छ । उसले तटस्थता र निष्पक्षतालाई मूलमन्त्र बनाएर जनताको साझा अभिभावक बन्न सक्नुपर्छ ।
राष्ट्रपति दलभित्रबाट आओस् या बाहिरबाट त्यो ठूलो प्रश्न होइन । मूल प्रश्न त उसको योग्यता, छवि र सार्वजनिक प्रतिष्ठा हो । राजनीतिक दलभित्रबाट आउँदा पनि उसको सार्वजनिक उचाइ, परिपक्वता र पृष्ठभूमि ख्याल गरिनुपर्छ । यो जिम्मेवारी निकै नै गहन छ । उसको एक कदमले प्रणालीको मात्र के कुरा राष्ट्र नै नरहन सक्छ । नेपालका प्रथम राष्ट्रपतिले निकै हदसम्म त्यस्तो सुझबुझपूर्ण अभ्यास गर्ने हरसम्भव कोशिश गर्नुभयो । राष्ट्रपति पद दलको नेता थन्क्याउने या प्रमुख नेताको विश्वास पात्रलाई राख्ने ठाउँ होइन । देश र दुनियाँले पत्याउने तथा भर गर्न सक्ने व्यक्ति मात्र राष्ट्राध्यक्षका लागि योग्य हकदार हुनसक्छ । दलको इशारामा चल्ने व्यक्तिले यस पदको गरिमा राख्न सक्दैन ।
हामीले देखेका या पढेका छौं, सिक्किमको सार्वभौमसत्ता कसरी समाप्त भयो । भारत स्वतन्त्र भएको २८ वर्षपछि काजी लेण्डुप दोर्जेको अगुवाइमा सिक्किम भारतको २२ औं प्रान्त बन्यो । हेर्दाहेर्दै एउटा सार्वभौमसत्ता सम्पन्न देश विश्व मानचित्रबाट लुप्त भयो । यसको प्रमुख कारण लेण्डुप र उनको राजनीतिक महात्वाकांक्षा थियो । चोग्याल शासन निरंकुश र विभेदी पक्कै थियो तर यसको समाधान पनि थियो । राजासँगको झगडामा देश नै सिध्याउने लेण्डुपको कदमलाई सिक्किमका जनता र इतिहासले कहिल्यै माफ गर्नेछैन । एउटा स्वाधीन राष्ट्रका जनताले आफ्नो स्वतन्त्र पहिचान गुमाउनु पर्दाको पीडालाई शब्दमा चित्रण गर्न सकिँदैन । यसको एउटै कारण तत्कालीन राजनीतिक नेतृत्व हो । हामीले आजसम्म अनेक थिचोमिचो झेलेर पनि देश जोगाएका छौं तर राष्ट्रको प्रतिष्ठा दिनानुदिन ओरालो लागिरहेको छ । अन्तर्राष्ट्रिय शक्ति केन्द्रको चौतर्फी हस्तक्षेप जारी छ । देशको चारैदिशामा हताशा फैलिनुको प्रमुख कारण राजनीतिक नेतृत्व नै हो । यसमा नेपाली जनता अलमलिनु हुँदैन । मौका पाएर पनि गर्न नसक्ने र दोषजति अरूको थाप्लोमा हाल्न खोज्ने नेतृत्वबाट देश उँभो लाग्दैन ।
हामीले ठूलो संघर्षबाट वर्तमान राजनीतिक प्रणाली स्थापना गरेका हौं । र, यस प्रणालीलाई उत्कृष्ट भनेका हौं । पञ्चायती शासनको अवसानपछि अभ्यास गरेको प्रजातन्त्रमा राजाको स्थान थियो । संवैधानिक रूपमा रहेका राजाबाट निरंकुशता थोपरियो भनेर गणतन्त्र ल्याइएको हो । गणतान्त्रिक प्रणालीमा राष्ट्रपतिलाई पनि राजालाई झैं संवैधानिक भूमिकामा राखेको हो । हिजो राजाले झैं राष्ट्रपतिले संवैधानिक सीमा उल्लंघन गर्दैनन् भनेको हो । तर हाम्रा राष्ट्रपतिले के–के गरे सबैका सामु छ । सबैभन्दा निष्पक्ष भएर बस्नुपर्ने संस्थाले पक्षधरता अंगाल्दा राष्ट्राध्यक्षको प्रतिष्ठा कहाँ पुग्यो र देशको मियोको रूपमा रह्यो कि रहेन इतिहासले समीक्षा गर्ने नै छ । तसर्थ यसपटकको निर्वाचनका लागि यी सबै घटना गम्भीर शिक्षा हुन् ।
राष्ट्राध्यक्षको संवैधानिक मात्र होइन, व्यक्तिगत हैसियत र व्यक्तित्व पनि हुनुपर्छ । राजनीतिक दलका नेता, प्रधानमन्त्री, मन्त्री तथा राज्य संयन्त्रका पदाधिकारीहरूलाई कर्तव्यपरायण बनाउन सक्ने र उनीहरूको दायित्वबोध गराउन सक्ने सुझबुझ भएको व्यक्ति चाहिन्छ । गैरजिम्मेवार पदाधिकारीलाई डाँट्न सक्ने सामर्थ्य भएको र संविधानको सच्चा पालनकर्ता प्रमाणित गर्नसक्ने निष्ठावान हुनुपर्छ । देश चलाउने व्यक्तिहरूलाई हामीमाथि राष्ट्र प्रमुख पनि छन् भन्ने महसूस गराउन सक्ने व्यक्ति चाहिन्छ । फगत एउटा पदपूर्ति मात्र होइन, राष्ट्रपति चयन ।
दलहरूले राष्ट्रपति छान्दा आफ्नो विवेक प्रयोग गर्न सक्छन् र यो छनौटले देश एवं जनताको चाहना तथा संविधानको मर्मलाई आत्मसात गर्नसक्नु पर्दछ । कम्तीमा म कहाँ छु र मेरो दायित्व एवं कर्तव्य के हो भन्ने कुरा बुझेको शालीन व्यक्ति राष्ट्रपति हुनुपर्छ । यसका लागि राजनीतिक दलभित्रकै व्यक्ति पहिलो प्राथमिकता हो । तर दलभित्रको छुद्र लडाइँमा सामेल भएको प्रदुषित मानसिकता बोकेको व्यक्तिले राष्ट्र प्रमुखको गरिमा धान्न सक्तैन । शीतलनिवासमा बसेर दलभित्र गुटबन्दी चलाउने व्यक्ति पनि राष्ट्रपति हुन सक्दैन । बरु यसको सट्टा दलबाहिरकै प्रतिष्ठित व्यक्ति आउँदा पनि फरक पर्दैन । कम्तीमा उसले राजनीतिक दलभित्र त खेल्दैन । दलीय स्वार्थको टेको पनि त बन्दैन । उसले आफूलाई देश, जनता र संविधानको संरक्षक एवं परिपालक ठानेर काम गर्छ । त्यसैले यसपटकको राष्ट्रपतिको उम्मेदवार छान्दा दलहरूले निकै होश पुर्याउनुपर्छ । गणतान्त्रिक व्यवस्थामा राष्ट्र प्रमुख बनाइएका व्यक्तिहरूको विगतको भूमिकालाई दृष्टिगत गरि कदम चाल्नुपर्दछ । नेपाली राजनीतिको मियो भाँचिएको बेला त्यस्तो पात्र राष्ट्राध्यक्ष छानियोस्, जसले संकटका बेलामा मियो बनेर देश र जनताको संरक्षण गर्न सकोस् ।
मानिसको व्यक्तित्व विकास तथा जीवनको तयारी शिक्षाले गर्दछ । शिक्षाले नै सामाजिक तथा आर्थिक विकासको ढोका खोल्ने गर्दछ । आजको हाम्रो आवश्यकता शिक्षामा पहुँच विस्तार मात्र नभई सबै शिक्षण संस्थाहरूमा विद्यार्थीले गुणस्तरी...
सुकरातको मुद्दा, उनको मृत्यु र अद्भूत विचार शीर्षकको पुस्तकमा उनका आत्माकथाकार प्लेटोले उल्लेख गरेका थिए, मोटो ओठ र थेप्चो नाक भएको कुरूप अनुहारको मान्छे इसापूर्व चौथो शताब्दीतिर युनानको एथेन्स नगरको सडकमा घुमि...
कोभिडका कारण थला परेको अर्थतन्त्र र पर्यटन क्षेत्रलाई चलायमान बनाउन विश्वका धेरै देशले अनेकन रणनीति अघि सारेका छन् । केही महिनाअघि अमेरिका पुग्दा थाहा भयो, न्युयोर्क, कोलोराडो लगायत शहरमा मारिओना फ्री (गाँजा स...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
अश्वत्थामा हतोहतः इति नरोवा कुञ्जरोवा (अश्वत्थामा मारियो त्यो मान्छे हो वा हात्ती) सत्यवादी युधिष्ठिर को यो वाक्य युद्धमा विपक्षीलाई पराजित गर्न आज पनि एकअर्काविरुद्ध चलाइने ‘प्रोपोगान्डा वारफेर’को मूल म...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...