२१ जेठ २०८३, बिहीबार

चुँदारा पेशा गरेर दिनचर्या चलाउनै कठिन

चैत ८, २०७९
चुँदारा पेशा गरेर दिनचर्या चलाउनै कठिन

काठको ठेकी बनाउने चुँदाराले श्रम अनुसारको ज्याला पाउन सकेका छैनन् । लामो समयदेखि यो पेशा गरे पनि ठेकी कुँदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने गरेको उनीहरूको गुनासो छ ।

विगत वर्षमा धेरैले यो पेशा गर्दै आए पनि पछिल्लो समयमा भने घट्दै गएको छ । न्यून ज्याला, संरक्षणको अभाव तथा पुस्तान्तरण नहुँदा पेशा संकटमा पर्दै गएको चुँदाराको भनाइ छ । 

ठाउँअनुसार गाउँघरमा पाइने पँयले, दार, मौवा, कटहर लगायतका काठबाट स–साना आकारका गोलियालाई कुँदेर चुँदाराले काठका ठेकीसँगै भाँडाकुँडा बनाउने गर्दछन् । जसका लागि उनीहरूलाई निकै मेहनत पर्ने गर्दछ ।

दूध जमाउने ठेकीबाहेक मोही पार्ने ठेकी, कोसी, आरी खुर्पेटा कुँदेर चुँदाराले आफ्नो जीविका चलाउँदै आएका छन् । ठेकी बनाउनका लागि फलामबाट बनाइएका बाँक, रुखान, सादन लगायतका औजारको प्रयोग हुने गर्दछ । नयाँ पुस्तामा ध्यान नजाँदा तथा व्यावसायिक हुन नसक्दा यहाँ अहिले पनि परम्परागत रूपमा नै ठेकी बनाउने चलन छ । काम गर्ने प्रविधिले आधुनिकता नपाउँदा श्रम धेरै गर्नुपर्ने भएकाले जीविका चलाउन समस्या हुने चुँदारा बताउँछन् ।

धेरै मेहनतले खोलाखोल्सीको चिसोमा बसेर काम गर्दा पनि राम्रो आर्थिक उपार्जन नहुने भएपछि यो पेसा छाड्दै गएको ५१ वर्ष बढी समयबाट चुँदारा पेशा गर्दै आएका टेम्केमैयुुङ गाउँपालिका–८ गोगनेका रत्नबहादुर विश्वकर्माले बताए । ‘न्यून ज्याला लगायत कारणले यो हाम्रो पुख्र्यौली पेशा संकटमा पर्न थालेको छ,’ विश्वकर्माले भने, ‘मेहनत धेरै गर्नुपर्छ । मेहनत अनुसारको आम्दानी हुँदैन, धेरै दुःख गर्नुपर्ने भएकाले नयाँ पुस्ताले चासो दिँदैनन् ।’

काठको सामग्री बनाउनका लागि दार, पँयले, लोडसल्ला, मौवा, कटहर लगायत रुखको काठ उपयोगी हुने विश्वकर्माले बताए तर पछिल्लो समय त्यस्ता काठ समेत अभाव हुँदै गएको उनले बताए । ‘काममा त दुःख छँदैछ । अझ काठको पनि अभाव छ । गाउँले आफैंले काठ खोजेर ल्याए भने हामी बनाइदिन्छौं । हामीले ज्याला लिने हो,’ विश्वकर्माले भने, ‘एक पाथी जाने ठेकी बनाएको २५० देखि ३०० रुपैयाँसम्म ज्याला लिने गरेका छौं । २ जनाले दिनभर काम गरेको १ हजार ५०० रुपैयाँसम्म हुन्छ ।’ 

आफूले पाउँदै आएको ज्याला समय सुहाउँदो नभएको विश्वकर्माको भनाइ छ । मेहनतका आधारमा प्रतिफल नहुने भएकाले नयाँ पुस्ताले चासो नदिँदा पेशा लोप हुने अवस्थामा पुगेको उनले बताए । विश्वकर्माले भने, ‘यो काम गरेर हामीले जीवन गुजरा गर्न सकिएको छैन । हिउँदको समयमा खोलामा पानी कम हुने भएकाले निरन्तर काम हुँदैन । वर्षातको समयमा मात्र सञ्चालन हुन्छ । काम गर्न झन्झट हुने भएकाले धेरैले यो पेसा नै गर्न छाडे । नयाँ पुस्ताले चासो दिँदैनन् । पेशा जोगाउन नै समस्या छ ।’

खोलाबाट भिरालो ठाउँमा पानी ल्याएर डुँढबाट पंखामा खसाइ काठलाई घुमाएर फलामको सानो धारिलो हतियार (बाँक)को सहायताले काठलाई कोपेर विभिन्न आकारको सामग्री बनाउने गरिन्छ । त्यसको अलावा हातले यन्त्र घुमाएर पनि काठका सामग्री बनाउने चलन छ । चुँदाराले कलात्मकरूपमा काठबाट ठेकी, हर्पे, तोङ्बाको भाडो, गम्बु लगायत विभिन्न सामग्री बनाउँदै आएका छन् ।

हालसम्म परम्परागत शैलीमा हुँदै आएकाले यसलाई आधुनिक उपकरण प्रयोग गरेर सञ्चालन ल्याउन सके काम गर्न सहज हुने चुँदाराको काम गर्दै आएका अर्का स्थानीय जंगबहादुर विकले बताए । विकले भने, ‘हामीले बलको भरमा परम्परागत रूपमा काम गरिरहेका छौं । बाउबाजेले जसरी गरे हामीले पनि त्यही विधिअनुसारको काम गर्दै आएका छौं । आधुनिक उपकरण खरिद गर्नका लागि स्थानीय सरकार तथा सरोकारवाला पक्षबाट सहयोग गरे हुने तर यो पेशाको संरक्षणमा खास कसैको सहयोग छैन ।’

पेशालाई जोगाउन नयाँ पुस्तालाई आकर्षित गर्नुपर्ने विकको भनाइ छ । तालिमको व्यवस्था गरेर सीपलाई सबैमा विस्तार गर्नुपर्ने विकले बताए । ‘यो सीपलाई विस्तार गर्न आवश्यक छ,’ विकले भने, ‘विस्तार गर्न सकिएन भने यो काम गर्ने मानिस पाउन मुस्किल छ । राज्यको तर्फबाट जीवन गुजारा गर्न सक्नेसम्मको वातावरण निर्माण भयो भने पेशालाई बचाइराख्न सकिन्थ्योजस्तो लाग्छ । अहिले पनि हामीले काम गर्न आवश्यक सामग्री जुटाउन नै समस्या छ ।’

पराम्परागत रूपमा सञ्चालन हुँदै आएका यस्ता पेशाको संरक्षणमा सरोकारवाला पक्षले ध्यान दिनुपर्ने स्थानीय गोरखबहादुर विष्टले बताए । राज्यको तहबाट यस्ता पेशालाई प्राथमिकता नदिने हो भने नयाँ पुस्ताका लागि इतिहास हुने विष्टको भनाइ छ । रैथाने पराम्परागत पेशाको संरक्षण गर्न ठोस योजना बनाउन आवश्यक रहेको उनले बताए ।

विष्टले भने, ‘यो पेशालाई जोगाउनुपर्ने अवस्था छ । धेरैले पेशा छाड्दै जाँदा यस्तो काम गर्ने मानिस पाउन नै मुस्किल छ ।’

स्वास्थ्यका लागि पनि काठका भाँडा फाइदाजनक मानिन्छ । आधुनिक औजार र प्रविधिको प्रयोगका कारण यस्ता काठका भाँडा बिस्तारै हराउन थालेका हुन् । गाउँमा पशुपालन गर्ने व्यवसाय घटेपछि काठका ठेकीको प्रयोगमा पनि कमी आएको देखिन्छ । अझै पनि जिल्लाका केही ग्रामीण स्थानमा कुँदेरै ठेकी बनाउने चलन छ ।

परम्परागत रूपमा गाईभैंसीको दूध जमाउन प्रयोग गरिने काठका ठेकीको चलन पछिल्लो समय हराउँदै गएको छ । बजारमा आधुनिक स्टिल लगायत प्लाष्टिकका सामग्री पाइन थालेपछि काठको ठेकीको प्रयोग हराउँदै गएको हो । – युवराज विष्ट/रासस

salt training

कमेन्ट गर्नुहोस्