३१ असार २०८३, बुधबार

राप्ती लोकमार्गमा बिग्रियो ‘ओटासिल’ सडक

राप्ती लोकमार्गमा बिग्रियो ‘ओटासिल’ सडक

राप्ती लोकमार्ग ठाउँठाउँमा जीर्ण छ । दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् ।

जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन्, जसले गर्दा आवतजावतमा पनि समस्या छ भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।

‘आवतजावत गर्दा धुलाम्मे हुन्छ, खाल्डाखुल्डीले पनि उत्तिकै समस्या पार्छ,’ सल्यानबाट दाङ आउँदै गरेका यात्रु रुद्रबहादुर रेउलेले भने, ‘दुर्घटनाको जोखिम उत्तिकै छ ।’ 

सल्यानको कपुरकोटदेखि तुलसपुर पुग्दा मानिस चिन्न नसिकने अवस्था रहने यात्रुहरूको गुनासो छ । त्यस्तै समय पनि धेरै लाग्ने गर्छ । ‘धुलोले शरीर थपक्कै ढाकेको हुन्छ,’ मोटरसाइकल चालक लक्ष्मण केसीले भने, ‘खाल्डाखुल्डीले गर्दा पहिले जस्तो छिटो पनि आउन सकिँदैन, आधा घण्टा लाग्ने ठाउँमा, एक डेढ घण्टा लाग्छ ।’

बिग्रिएको ठाउँमा मर्मतका लागि ठेक्का भइसकेको सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवालले बताए । ‘धेरै ठाउँमा सडक बिग्रिएको छ, अहिले ससाना ठेक्का लागिरहेका छन्,’ उनले भने, ‘स–साना ठेक्काको काम सकेपछि अर्को वर्षदेखि ठूलो ठेक्का लाग्छ ।’

ठाउँठाउँमा ठेक्का गरिएको भए पनि ठेकेदारले काम गरेको अवस्था छैन । पटक–पटक म्याद थप गर्ने कार्य भइरहेको छ । यो आर्थिक वर्षभित्र सडक मर्मतको काम सक्ने योजना रहेको प्रमुख जैसवालको भनाई छ ।  

राप्ती लोकमार्ग शुरूमा ओटासिल प्रविधिबाट कालोपत्रे गरिएको हो । त्यो थोरै सवारी चल्दाको कालोपत्रे भए पनि अहिले धेरै सवारी चल्दा ठाउँठाउँमा बिग्रिएको उनको भनाई छ । तुलसीपुरदेखि रुकुमपश्चिम खौलासम्मको सडक ठाउँठाउँमा बिग्रिएको छ । ३ वर्षदेखि राप्ती लोकमार्गका लागि भनेर छुट्टै बजेट आउने गरेको छ ।

चालू वर्षका लागि मात्रै विभिन्न २० खण्डमा करीब ४८ करोड बजेट परेको छ । सडकमा खाल्डाखुल्डी हुँदा चालू वर्षमा मात्रै ३ दर्जन बढीको दुर्घटनाबाट मृत्यु भइसकेको छ । सडकमा बर्सेनि करोडौं बजेट विनियोजन गरेको भए पनि काम भने नहुने गरेको पाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्