२८ जेठ २०८३, बिहीबार
बजारमा सुस्तताको परिणाम

एक महिनामै ३० अर्बले बढ्यो वाणिज्य बैंकहरूको खराब कर्जा, निजीभन्दा सरकारीमा बढी

बैशाख १२, २०८०
एक महिनामै ३० अर्बले बढ्यो वाणिज्य बैंकहरूको खराब कर्जा, निजीभन्दा सरकारीमा बढी

वाणिज्य बैंकहरूको खराब कर्जा एक महिनामा नै ३० अर्ब रुपैयाँले बढेको छ । अर्थतन्त्रको पछिल्लो चित्रले बैंकहरूको खराब कर्जा ह्वात्तै बढेको देखाएको हो ।  

गत फागुनमा कुल प्रवाह भएको कर्जामध्ये वाणिज्य बैंकहरूको खराब कर्जा १ खर्ब ८ अर्ब ८२ करोड रुपैयाँ थियो । यस्तो खराब कर्जा चैतमा ३० अर्ब २० करोड रुपैयाँले बढेर १ खर्ब ३९ अर्ब २ करोड रुपैयाँ पुगेको सम्बन्धित बैंकहरूले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासको अपरिस्कृत तथ्यांकले देखाएको छ । 

सबै वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको चैतसम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

उक्त विवरणअनुसार चालू आर्थिक वर्ष २०७९/८० को चैतसम्ममा सञ्चालनमा रहेका २१ वाणिज्य बैंकहरूको खराब कर्जा मात्रै डेढ खर्बनजिक पुगेको छ ।

खराब कर्जा वाणिज्य बैंकहरूले यो वर्ष प्रवाह गरेको कुल कर्जाको ३.०२ प्रतिशत हो । यस्तो खराब कर्जा गत आव २०७८/७९ को सोही अवधिमा १.२१ प्रतिशत मात्रै रहेको तथ्यांक सम्बन्धित बैंकहरूले सार्वजनिक गरेका थिए । 

नेपाल राष्ट्र बैंकले भने चालू आर्थिक वर्ष २०७९/८० को फागुनसम्मको मात्रै तथ्यांक सार्वजनिक गरेको छ । 

तथ्यांकअनुसार फागुनसम्ममा वाणिज्य बैंकहरूको खराब कर्जा २.५३ प्रतिशत छ । वाणिज्य बैंकहरूको छाता संस्थाकै अनुसार खराब कर्जा साउनसम्ममा ५ प्रतिशत पुग्न सक्ने अनुमान छ । पछिल्लो समय आन्तरिक अर्थतन्त्र बिग्रँदै जाँदा वाणिज्य बैंकहरूले गरेको लगानी पनि जोखिममा पर्दै गएको छ ।

वाणिज्य बैंकहरूले प्रवाह गरेको कर्जाको सावाँ ब्याज उठ्न छाडेको एक वर्षपछि खराब कर्जाको रूपमा गणना हुन्छ । यस्तो खराब कर्जा अझै बढ्नै चिन्ता बैंकहरूको छ । 

राष्ट्र बैंकले सार्वजनिक गरेको औपचारिक तथ्यांकअनुसार वाणिज्य बैंकहरूको खराब कर्जा गत आर्थिक वर्ष २०७८/७९ को चैतसम्ममा  १.३२ प्रतिशत मात्रै थियो ।

गत वर्ष सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरूको यस्तो खराब कर्जा ५३ अर्ब ८ करोड रुपैयाँ मात्रै रहेको तथ्यांकले देखाएको छ । यो वर्ष बैंकहरू मर्ज भएर २१ वटामा झरेको भए पनि खराब कर्जा भने उकालो चढ्दै गएको छ । यसले अर्थतन्त्रको अवस्था कमजोर हुँदा ऋणीले ऋण तिर्न सकेनन् भन्ने देखाउँछ ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चल पाण्डे अर्थतन्त्रको अवस्था कमजोर भएको र बजार चलायमान गराउने प्रमुख क्षेत्र चलायमान नहुँदा खराब कर्जा बढेको बताउँछन् । 

अर्थतन्त्रको समग्र अवस्था नै राम्रो नहुँदा, आर्थिक वृद्धिदर खुम्चिएर ४ प्रतिशतमा सीमित भएको छ । 

‘अहिले निजी क्षेत्रका उद्योगहरूको उत्पादन घटेको, घरजग्गा कारोबार लामो समयदेखि ठप्प भएको, शेयर बजार चलायमान नभएको सहितका कारणले अर्थतन्त्रमा संकुचन आएको छ । जसका कारण खराब कर्जा पनि बढेको हो,’ पाण्डेले भने । 

अर्थतन्त्र चलायमान नहुँदा आत्मविश्वास पनि कमजोर हुँदै गएको अवस्थामा खराब कर्जा बढ्नु स्वाभाविक भएको पनि पाण्डेको तर्क छ । उत्पादन गरेको वस्तु बिक्री नहुने, घरजग्गा नबिक्ने, बजारमा माग नहुने हुँदा आत्मविश्वास कमजोर भएर पनि खराब कर्जा बढेको बुझाइ पाण्डेको छ । 

अब विस्तारै आत्मविश्वास बढ्दै गयो भने एकदुई महिनामा नै अर्थतन्त्रले सकारात्मक दिशा समात्न सक्ने र बैंकको खराब कर्जाको दर पनि घट्दै जाने विश्वास पाण्डेको छ ।

सबैभन्दा बढी खराब कर्जा सरकारी बैंकको

निजी क्षेत्रका बैंकहरूको तुलनामा सरकारी बैंकहरूको खराब कर्जा बढी देखिएको छ । 

निजी बैंकहरूको न्यूनतम् खराब कर्जा ०.७ प्रतिशत मात्रै छ जबकि सरकारी बैंकको न्यूनतम् खराब कर्जा ३.८८ प्रतिशत पुगेको छ । सरकारी बैंकको खराब कर्जा वृद्धिदर पनि बढी छ । 

सरकारी बैंकमा कृषि विकास बैंकको ४.३५ प्रतिशत खराब कर्जा छ । गत वर्षको चैतसम्ममा यसको जम्मा २.३२ प्रतिशत मात्रै खराब कर्जा थियो । यो अरू दुई सरकारी बैंकको तुलनामा सबैभन्दा बढी हो । नेपाल बैंकको पनि ४.१६ प्रतिशत खराब कर्जा छ । नेपाल बैंकको पनि गत वर्ष खराब कर्जा २.०६ प्रतिशत मात्रै थियो । 

सरकारी बैंकमध्ये कम खराब कर्जा राख्नेमा राष्ट्रिय वाणिज्य बैंक छ । चैतसम्ममा यसको खराब कर्जा ३.८८ प्रतिशत छ । यस्तो खराब कर्जा गत वर्षको सोही अवधिमा ३.०७ प्रतिशत रहेको थियो । 

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ भने निजी बैंकको तुलनामा सरकारी बैंकको खराब कर्जाको वृद्धिदर कम भएको तर्क गर्छन् । 

अहिले तथ्यांक बढी देखिनुमा भने कोभिडको प्रभाव, अर्थतन्त्रको समस्यामा, सरकारी बैंक ऋणीप्रति लिबरल हुनु आदि प्रमुख कारण भएको उनको बुझाइ छ ।

सरकारी बैंकमा ऋण लिन आउनेको चाप नै निजीको भन्दा बढी हुन्छ भने उठाउने विषयमा पनि सरकारी बैंक बढी आक्रामक नहुने गरेको उनको दाबी छ ।

निजी बैंकहरूमा तथा समग्र बैंकहरूकै तुलनामा हिमालयन बैंकको खराब कर्जा सबैभन्दा बढी छ । यो बैंकको खराब कर्जा ४.५६ प्रतिशत छ । यसको यस्तो खराब कर्जा वृद्धिदर अस्वाभाविक रूपले बढेको छ । गत वर्ष चैतमा हिमालयन बैंकको खराब कर्जा ०.९९ प्रतिशत मात्रै थियो ।  

बैंकहरूको नाफा ५ अर्बले बढ्यो

चालू आवको ९ महिना (साउन–चैत)सम्ममा वाणिज्य बैंकहरूको नाफा ४८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।

यस्तो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५ अर्ब ११ करोड रुपैयाँले बढी हो । गत वर्ष वाणिज्य बैंकहरूले यो अवधिमा कमाएको यस्तो नाफा ४३ अर्ब ५१ करोड रुपैयाँ थियो ।

यस्तो नाफाका लागि वाणिज्य बैंकहरूले १ खर्ब ३७ अर्ब रुपैयाँ ब्याजबापत आम्दानी गरेका थिए । 

ब्याज आम्दानी पनि गत वर्षको चैतसम्मको तुलनामा ४४ अर्ब रुपैयाँले बढेको देखिएको छ ।  बैंकहरूको ब्याज आम्दानी यो समयमा ४७.४७ प्रतिशतले बढेको हो । 

बैंकहरूले ब्याजदर बढाएका कारण पुरानो कर्जाबाट आम्दानी बढी भएको र यो वर्ष वितरण गरेको कर्जाको पनि उच्च ब्याज भएका कारण गत वर्षभन्दा कम कर्जा प्रवाह गर्दा पनि आम्दानी बढेको देखिएको छ ।

हेर्नुहोस्, तथ्यांक :

null

salt training

कमेन्ट गर्नुहोस्