
नेकपा एमालेका सांसद देवीप्रसाद भट्टचनले नेपालकै सबभन्दा आकर्षक जलाशययुक्त उत्तरगंगा जलविद्युत आयोजनाको काम अगाडि बढाउन आग्रह गरेका छन् । सरकारका नीति तथा कार्यक्रम र बजेटमा जलाशययुक्त आयोजनालाई जोड दिइएपनि उत्तरगंगाको विषय नसमेटिएकोमा उनले प्रश्न गरे ।
शुक्रवार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटका सामान्य छलफलमा भाग लिँदै सांसद भट्टचनले उत्तरगंगा आयोजनाको काम अगाडि बढाउन माग गरेका हुन् । ‘नेपालको सबैभन्दा राम्रो सुख्खा याममा १०० प्रतिशत फल दिने उत्तरगंगा जलासययुक्त जलविद्युत आयोजनाबारे किन सोच्न सकेका छैनौं ।
३५ वर्ष अगाडि जायिकालले गरेको अध्ययनले सबभन्दा फिजिबल भनेको छ, यो शुरु नगर्नेमा के कारण छ ?’ भट्टचनले प्रश्न गरे ।
बाग्लुङको ढोरपाटन र निसिखोला क्षेत्रमा पर्ने यो बहुद्देश्यीय आयोजनाको हेडग्रेसबाट ८२८ र टेलग्रेसबाट ८६० गरी १६ सय ८८ मेगावाट विद्युत उत्पादन गर्न सकिने सम्भावना रहेको उनले बताए ।
सांसद भट्टचनले बौद्ध धार्मिक स्थल समेटेर निर्माण गरिने भनिएको बुद्ध सर्किटमा मनाङ र मुस्ताङ जिल्लालाई समेटन सरकारको ध्यानाकर्षण गराए ।
प्रधानमन्त्रीको चीन भ्रमण अगावै १३ अर्ब रुपैयाँ लिने सम्झौता गरौं
सांसद भट्टचनले बाग्लुङ र मुस्ताङ जिल्लामा अनलाइन कक्षा संचालनका लागि चीनको एक्जिम बैंकबाट १३ अर्ब रुपैयाँ लिने सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण अगावै गर्न आग्रह गरेका छन् । ‘बजेटमा गुणस्तरीय शिक्षा आम नागरिकको पहुँच भन्ने नारा छ ।
केही दिन अगाडि चीन सरकारको सहयोगमा १३ अरब रुपैयाँ रकम बराबर एक्जिम बैंकको सहयोगमा नेपाल सरकारलाई उपलव्ध गराई नेपालका बाग्लुङ र मुस्ताङ जिल्लामा जिल्लामा अनलाइन कार्यक्रम संचालन गर्ने योजना बनाएको छु’ सांसद भट्टचनले संसदमा भने, ‘२० वर्षको किस्ताबस्तीमा तिर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको चीन भ्रमण अगावै सम्झौता गर्ने तयारी गरौं । हामी चीनले बनाइदिएको संसद भवनमा बसिरहेका छौं भने चीनबाट रकम लिनुहुन्न भन्ने छैन होला ।’