
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राष्ट्रिय सहमतिबाट सरकार निर्माण गर्न सके देशको राष्ट्रियता, अखण्डताको रक्षा गर्न सकिने बताएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आज भक्तपुरमा आयोजना गरेको नेपाल–चीन रेशमी सहकार्य, समुन्नत भविष्यका लागि सहयात्रा कार्यक्रमअन्तर्गत ‘सिल्क रोडस्टर ः जोइन द राइड फर बेटर फ्युचर’ मा उनले सरकार राष्ट्रिय सहमतिबाट नै बनाउन सके देशको हित हुने बताए ।
महासचिव गुरुङले भने, “देश राष्ट्रिय एकता र सहकार्यबाट अगाडि बढ्नुपर्छ, देश बनाउन राष्ट्रिय सहमतिको विकल्प छैन, सरकार पनि राष्ट्रिय सहमतिबाटै बन्नु आवश्यक छ, त्यसो हुन नसके देशको विकास, स्थिरता, स्थायित्व, मुख्य एजेण्डा र असंलग्न परराष्ट्रनीतिमा राष्ट्रिय सहमति हुन आवश्यक छ ।”
राष्ट्रिय एकता र सहमतिबाट देश अगाडि बढ्न नसक्दा शक्ति राष्ट्रहरूले हाम्रो देशमा खेल्ने मौका पाएको चर्चा गर्दै उनले राज्य कमजोर पार्ने प्रक्रियाले नेपालको राष्ट्रित अस्मिता अत्यन्तै कमजोर बनेको बताए । उनले भने, “हाम्रो देशको राष्ट्रिय राजनीति अस्थिर बनेको छ, एकले अर्कालाई निषेधको राजनीति सुरु भएको छ, विकास र स्वाधीनतामा पनि राष्ट्रिय सहमति बन्न सकेको छैन, मुलुकको राष्ट्रिय अस्मिता रक्षाका लागि राष्ट्रिय सहमतिको नीति लिनु अत्यावश्यक छ ।”
देश र जनताको स्वार्थभन्दा पनि नेता, दलहरूको स्वार्थमा बढी केन्द्रित हुँदा नेपालको असंलग्न परराष्ट्र नीति कमजोर बन्दै गइरहेको उल्लेख गर्दै उनले पछिल्लो समयमा पञ्चशीलको सिद्धान्त कमजोर पर्दै गइरहेको, स्वतन्त्र परराष्ट्र नीति कमजोर बन्नुको कारण शक्ति राष्ट्रको कुनै न कुनै दबाब र प्रभावमा पर्दै जाने स्थितिले नेपालको स्वाधीनता कमजोर बनेको बताए ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका नेता रवीन्द्र ज्याख्वाले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) लाई आत्मसात गरेको बताउँदै विकासका कार्यलाई दुई देशले द्रुत गतिमा लग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा आइडिसिपिसीका काउन्सेलर डु शियालिनले सिल्क रोडस्टरका महत्त्वमाथि प्रकाश पारेका थिए ।