०४ साउन २०८३, सोमबार
अलबिदा सीता दाहाल

टाउकोको मूल्य तोकिएका पतिको आदेशमा छोराछोरीलाई 'आतंककारी' बन्न पठाउने साहसी आमा

साउन २, २०८०
काठमाडौं
टाउकोको मूल्य तोकिएका पतिको आदेशमा छोराछोरीलाई 'आतंककारी' बन्न पठाउने साहसी आमा

आकाश नगर्जिए हुन्थ्यो, नदि नसुसाए हुन्थ्यो । बिहानीको चिसो हावा कुनै अशुभ खबर बोकेर कहिल्यै नआए हुन्थ्यो । यस्तै कल्पनामा जिन्दगीको एउटा कालखण्ड गुजारेकी आमा सीता दाहाललाई रेडियोको आवाज, टेलिभिजनको पर्दा  र अखबारका पानादेखि डर लाग्थ्यो सायद !

दिनहुँ लडाइँबाहेकका अरू कुनै समाचार कभरेज नहुने समयले उनलाई बेस्सरी घोचपेच गर्थ्यो होला । सन्तानको हातमा बम बारुद र पतिको काँधमा बन्दुक भिराइदिएर संसारको कुन चाहिँ महिला चैनले श्वास फेर्नसक्छ ? सन्तुलित जीवन जिउन सक्छ ? उनलाई पनि रणभूमिका पति र सन्तानहरूको पीरले बेचैन बनाउँथ्यो नै होला । तर, त्यो कष्टकर अग्निपरीक्षामा उनले परिवारका सदस्यलाई लडाइँबाट फिर्ता हुन दबाब दिएर विचलित बनाइनन् । बरु आफैं हतियारबद्ध पंक्तिमा उभिएर जीवनको भयानक परीक्षामा सामेल भइन् । रामायणमा रावणबाट आफ्नो अस्तित्व जोगाएको प्रमाण पेश गर्न सीताले दिएको अग्नि परीक्षा र लडाइँमा बन्दुक बोकेर होमिएकी लक्ष्मी बाइजस्तो चर्चा त सीता दाहालको नहोला । तर, उनको संघर्षको स्केल र उनीभित्रको मातृत्व, दायित्व, जवाफदेहिता, देशप्रेम तथा वर्ग र पार्टी प्रतिको अगाध आस्था, विश्वास, भरोसा र वीरताले ओतप्रोत साहसलाई हृदयदेखि सम्मान प्रकट भइ नै हाल्छ ।

संवेदनाहीन मानिसहरूले आर्यघाट र अन्त पनि युद्ध, आन्दोलन र संघर्षलाई धारे हात लगाउँदै गर्दा स्वतन्त्रता र स्वच्छन्दताको यस युगका लागि जीवन मरणको लडाइँ लडेकाहरूप्रति कहिल्यै सहानुभूति प्रकट गर्दैनन् । अहिलेको प्रेमिल र रंगिन समयको पुस्ताले अघिल्लो पुस्ताको निरस र कठिन संघर्षको सम्मान गर्न सिकेको छैन किनकि यो पुस्तालाई इतिहासको स्वतन्त्र अध्ययन अन्वेषणबाट टाढा राखेर राजनीतिक प्रतिशोध साँध्न मात्रै सिकाइएको छ । सायद त्यही कारणले होला आफ्ना सबै सन्तानलाई युद्धमा होमेर आतंककारीको नाइके भनिएको पतिसँग बन्दुक बोकेर हिँड्न तयार हुने ती जब्बर र साहसी महिला इतिहासकै अद्वितीय र महान महिला सीता दाहाल र त्यही कोटीका महान नारीहरूप्रति हामीले श्रद्धा गर्न सकेका छैनौं ।

चितामा प्रेमिल समालोचनाको बहस गरेर आलोचनाको छिद्र खोज्ने नयाँ अनुहार र वैकल्पिक शक्तिलाई इतिहास मजाक लागे पनि नेपालको राजनीतिक परिवर्तनमा प्रचण्ड अमिट र अद्वितीय नाम हो ।

काखका सन्तानहरू आतंककारीको फर्मेसनमा पठाउँदा, उनीहरूलाई बिदाइ गर्दा, रेड कर्नर नोटिस जारी भएको पतिबारे सोच्दा आधी रातमा कति मैनबत्तीहरू निभे होलान् र फेरि बालिए होलान् ? आँसुहरू कति रित्तिए होलान् र फेरि भरिए होलान् ? दशकौंसम्म तीव्र गतिमा दौडेका मुटुका धड्कनहरू, मनमा एकोहोरो उर्लिरहने हृदयका ज्वारभाटाहरू, समाजको खासखुस, राज्य दमनको सन्त्रास, प्रत्येक पाइलामा सँगै उभिइरहने मृत्युको छायाँको वरिपरि सिंगो जीवन घुमिरहँदा दिमागका न्युरोनहरूले कस्तो प्रतिक्रिया दिए होलान् ? अनि मन भक्कानिँदै र सम्हालिँदै गरेको दशकौंको अभ्यासले जिन्दगीलाई कति कठोर बनायो होला ? वास्तवमै त्यो त्याग र समर्पण त्यसले समाजलाई गरेको सकारात्मक योगदान र व्यक्तिगत जीवनमा व्यहोर्नु परेको क्षतिबारे हामी कहिल्यै संवेदनशील भएर सोच्न सकेनौं ।

वास्तवमै सीता दाहालको जिन्दगी संघर्षले भरिएको थियो । चुनौतीका तारेभीरहरू छिचोलेर बाँचेको एउटा आँधीमय जिन्दगी हो । जो कहिल्यै समतल थिएन । यसैबीचमा उनले आफूलाई एउटा फरक संसारमा जिउने स्वभाव निर्धारण गरिन् । जहाँ हजारौं मानिसहरूको जीवन, भविष्य र स्वतन्त्रता जोडिएको थियो र पतिको आदर्श पनि । रियल जिन्दगीको रिलमा अनौठो पोएट्री हुने निष्कर्षसँगै उनले युद्धमा होमिएका हजारौं महिलाहरूलाई आफ्नै क्यानभासको जरुरी र महत्व सामान्य बोलीचालीकै भाषामा बुझाइन् । जहाँ हरेक महिलाहरूले आफ्नै रंग भर्न सक्थे । त्यो स्वतन्त्रताको रंग थियो । सम्भ्रान्त र उनका आसेपासेहरूले खिसिट्युरी गर्ने लोकतन्त्र, समाजवाद र साम्यवादको काल्पनिक स्क्याच तयार गर्दा त्यसलाई पहिला वास्तविक ठोस वस्तुजस्तै ठान्ने र त्यसमा भिज्न सिक्ने अनि त्यसैलाई वास्तविकतामा परिणत पनि गरिदिने आशयको उनको बोलीचालीको लवजबाट महिला कमरेडहरू प्रफुल्लित भएको सुनाउँथे । त्यो आफैंमा एक दार्शनिक चेत थियो ।

इमोसनसँग सम्झौता नगर्ने आजको पुस्ता र कर्तव्य एवं भविष्यसँग सम्झौता नगर्ने सीता दाहालको जीवन संघर्ष मेल त खाँदैन । फेरि पनि जतिसुकै कठोर किन नहोस् इतिहासले आफ्नो सत्य खुला किताबका रूपमा राख्नैपर्छ । त्यसैले प्रचण्ड परिवारको संघर्षबारे पनि आजको पुस्तालाई सही जानकारी आवश्यक छ । चाहे त्यो समर्थनका लागि उपयोग गरियोस् वा आलोचनाका लागि । निजी जीवनका भयानक मोडहरूमा मुख खोल्न तयार नहुने उनी पार्टी अस्तित्वमाथि संकट आउँदा समन्वयकारी भूमिकामा रहन्थिन् । बेला बखत उनको मौनता बोल्थ्यो । सीताले सत्ता सञ्चालनमा पतिलाई ओभरटेक वा प्रोएक्टिभको चाहना राखिनन् । सत्ता, शक्ति र सम्पत्ति अर्थात् अहिले नेपाली समाजमा नेताहरूलाई घृणित बनाउने थ्री पी (पावर, प्रिष्टिज र प्रोपर्टी)का लागि जुनसुकै लक्ष्मण रेखा पार गर्ने आशक्ति उनले कहिल्यै राखिनन् । पति सत्ता र शक्तिमा पुगेपछि अब महारानी बन्नुपर्छ भन्ने सोच उनमा कहिल्यै आएन ।  

संघर्षरत मानिसहरूले जिन्दगीका हरेक मोडमा कठिन जाँचहरूको सामना गर्नुपर्छ । जसको उत्तर किताबका ठेलीहरूमा होइन धैर्य, इमान, नैतिकता, अनुशासन र कडा परिश्रममा मात्रै भेटिने गर्छ । त्यस्ता हरेक मोडका जाँचहरूमा आमा सीता दाहालले उत्तरहरू भेटाइन् । ३० को दशकको उत्तरार्धतिरै गहिरो गरी अनुभूत हुन थालेको जिन्दगीको उराठलाग्दो हिस्सा आँधी आउनुपूर्वको सन्नाटाजस्तै सुनसान थियो । उखरमाउलो गर्मी होस् वा शीतकालीन ठण्डी, साउने झरी होस् वा वसन्ती पवन, प्रकृति र मौसमको नियमले सीताको जिन्दगीलाई चिमोट्न सकेन । सायद रहर र चाहनाहरूलाई बन्ध्याकरण गरिसकेकी थिइन् उनले । बरु मौसमभन्दा चाँडो फेरिएर आउने गर्थे सामाजिक झटाराहरू । नाबालक सन्तानहरूको लालन पालन, हेरचाह र शिक्षादिक्षाको भारी एक्लै बोक्ने उनी त्यो समाजको एक अथक महिलाका रूपमा आफ्नो पहिचान बनाउँदै थिइन् । तर, त्यो त उनको जीवनको संघर्षको शुरूआत मात्र थियो ।

इमोसनसँग सम्झौता नगर्ने आजको पुस्ता र कर्तव्य एवं भविष्यसँग सम्झौता नगर्ने सीता दाहालको जीवन संघर्ष मेल खाँदैन । जतिसुकै कठोर किन नहोस् इतिहासले आफ्नो सत्य खुला किताबका रूपमा राख्नैपर्छ । त्यसैले प्रचण्ड परिवारको संघर्षबारे पनि आजको पुस्तालाई सही जानकारी आवश्यक छ ।

अनुकूल समयको आशा गर्दा गर्दै पञ्चायत ढल्यो । अब त सुखद् घडी देख्न पाइएला क्यारे भन्ने सोच्न नभ्याउँदै प्रचण्डले थप जटिल र भयानक बाटो रोजे । प्रचण्डले खल्तीमा बारुद बोक्ने, काँधमा बन्दुक बोक्ने, दलित, महिला, मधेशी, पछाडि परेको जाति, क्षेत्र र समुदाय बोक्ने निश्चय गरे । यसको सीधा अर्थ थियो उनले कुइनोले पहरा फोड्ने र टाउकोले भित्ता फोड्ने असम्भव बाटो रोजे । प्रचण्डको कठोर निर्णयसँग मार्क्सवादका ठेली घोकेका, विश्व कम्युनिस्ट आन्दोलन र वर्गसंघर्षको गहिरो अध्ययन गर्दै कपाल फुलाएका आफ्नै खाँटी क्रान्तिकारी मित्रहरू समेत तर्सिए र फरक बाटो रोजे । जो दर्शन, राजनीति र विचारधारात्मक रूपमा परिपक्व मात्र होइन निखारिएका थिए । लाइन संघर्षमा तिखारिएका थिए । साँच्चिकै वर्गसंघर्ष भनेपछि ती मित्रहरू विचलित भए । तर मार्क्सवाद र वर्गसंघर्षको गहिरो अध्ययनको त कुरै छोडौं पारिवारिक चापले पर्याप्त प्रशिक्षण समेत लिन नपाएकी सीता प्रचण्डसँग विचलित भइनन् ।

मानिसहरूको कल्पनाभन्दा बाहिर गएर विषयलाई ब्रेक थ्रु दिने स्वभावका प्रचण्डको जीवनलाई झेल्न जो कोहीले सक्दैन । १२० सीट हुँदा राजीनामा दिने र ३२ सीट हुँदा समकालीन राजनीतिलाई चक्मा दिनेगरी सिंहदरबारमा प्रभावशाली उपस्थिति जनाउने उनको दिमागको अध्ययन गर्न सम्भवतः दुनियाँका अनुभवी जासुसलाई पनि सकस होला । यस्तो असीमित गतिशील स्वभावसँग हमेशा सन्तुलन कायम राख्न सीताले आफूलाई पनि कति परिपक्व, शान्त र धैर्य बनाउनु पर्यो होला ? समकालीन राजनीतिमा प्रचण्डलाई बुझ्ने र व्यहोर्ने सबै राजनीतिक प्राणीले अनुमान गर्ने विषय हो ।

सीताले सन्तानका एक कर्तव्यनिष्ठ अभिभावकको मात्रै दायित्व पूरा गरिनन् फलामको च्युरा चपाउनुजत्तिकै कठिन घडीहरूमा पनि प्रचण्डको व्यक्तिगत जीवन र माओवादी आन्दोलनमा अमूल्य योगदान गरिन् । वास्तवमा माओवादी पार्टीले सीतालाई प्रचण्ड पत्नीका रूपमा मात्रै हेर्नु अन्याय हो भन्ने धेरैको अनुभूति थियो । तर मृत्युपछि उनको सादा जीवनको चर्चा विपक्षी खेमामा समेत सर्वस्वीकार्य बन्यो । त्यसले पदभन्दा माथि पनि वजन हुन्छ भन्ने कुरा सिद्ध गर्यो ।

लालावालाहरू हुर्काउँदै किशोरावस्थामा पुर्याउनु पर्ने र किशोरमा टेक्नवित्तिकै बाघलाई बच्चा सुम्पनुजत्तिकै कठोर मन बनाएर सबै सन्तान लाइन लगाउँदै युद्ध मोर्चामा खटाउनु सामान्य विषय हो र ?  टाउकोको मूल्य तोकिएको आतंककारी पतिको आदेशमा बलिको बोका पर्साए झैं सशस्त्र युद्धमा पठाउन एउटा आमालाई कति साहस चाहिन्छ होला । एउटा कालखण्डमा जसले नाबालक सन्तानलाई मातृ स्नेह र बाबाको अभिभावकीय भूमिका पुरा गरिन् उनैले अर्को कालखण्डमा तिनै सन्तानको हातमा बन्दुक थमाएर रणभूमिमा पठाइदिइन् । सन्तानप्रतिको स्नेह, आन्दोलन प्रतिको आस्था र पति प्रतिको विश्वास यी सबै चुनौतीहरूको अग्निपरीक्षा उनले कुशलतापूर्वक उत्तीर्ण गरिन् ।

हरेक समय र कथाले मागेको भूमिकामा कुनै अभिनय होइन जीवन व्यवहार प्रदर्शन गर्ने ल्याकत उनले राखिन् ।  यदि व्यवहारिक जीवनका भयानक घुम्तीहरूमा पनि अकल्पनीय भूमिका कुशलतापूर्वक पुरा गर्ने संस्कारको शुरूआत यदि आमा सीता दाहालले गर्नु हुन्नथ्यो भने पार्टीका अरू कुनै नेता र नेतृहरूले गर्दैनथे । त्यसो नगर्दा माओवादी आन्दोलनको सफलता र गणतन्त्र प्राप्ति सम्भव हुँदैनथ्यो । वास्तवमा शुरूआत आफैंबाट भन्ने आजभोलिको सस्तो लोकप्रिय नारा सीता दाहालले त्यतिबेलै सम्भावित मृत्यु र अवश्यम्भावी यातनाका दस्तावेजहरूमा हस्ताक्षर गरेर आफ्नै जिन्दगीबाट शुरू गरिन् । 

पति र सन्तानहरू युद्ध मोर्चामा होमिएपछि उनले आफ्नो ४० को दशक बन्दुकधारीहरूसँग रुकुम रोल्पाका गाउँबस्ती चहारिन् । बाटाघाटा बनाइएको आजको जस्तो रुकुम, रोल्पा थिएन त्यो बेला । नारायणी किनारमा जन्मे, हुर्केकी सीतालाई पश्चिमका डरलाग्दा पहाडहरूमा कम्बयाट लगाएर कुद्नु पर्यो । जंगल, बंंकर र अँध्यारो रातहरूमा भीरपाखा छिचोल्नुपर्ने जीवन कुनै पारिश्रमिकका लागि थिएन । जिन्दगीका झण्डै चार दशक प्रचण्डले परिवारलाई समय दिन भ्याएनन् । आफ्नो जीवन सिंगो पार्टी र संगठनमा अभ्यस्त बनाए । जसको परिणाम देशको व्यवस्था परिवर्तन भयो । 

चितामा प्रेमिल समालोचनाको बहस गरेर आलोचनाको छिद्र खोज्ने नयाँ अनुहार र वैकल्पिक शक्तिलाई इतिहास मजाक लागे पनि नेपालको राजनीतिक परिवर्तनमा प्रचण्ड अमिट र अद्वितीय नाम हो । जुन जति खुइल्याउन खोज्यो त्यति नै गाढा बन्ने छ । अन्ततः आफ्नो जीवनको अमूल्य योगदानले नेपाली समाजलाई एउटा नयाँ व्यवस्थामा जाने बाटो देखाउन अग्रणी भूमिका निर्वाह गर्ने आमा सीता दाहाललाई हार्दिक श्रद्धा सुमन...

कमेन्ट गर्नुहोस्