मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
काठमाडाैं | साउन ९, २०८०
‘मैले नेपाली कांग्रेस संसदीय दलको नेता बदल्ने प्रयास गरें । सकिनँ । परिणामलाई मानें, मान्नैपर्छ । तर, अब (प्रयास) गर्नै मिल्दैन त ? पार्टीको विधानले गर्न दिन्छ । आवश्यकता छ । सम्भव हुन्छ । कर्म गर्ने, फलको आश नगर्ने हो । मलाई लाग्छ, गाह्रो छ । सांसदहरूको मत पाउने कुरा भनेको गाह्रै छ नि ! गाह्रो छ थाहा छ, तर गाह्रो छ भनेर ठीक भएको काम छाड्न हुँदैन । म के चाहन्छु भने, सभापतिज्यूले यसो एक दुई महिनापछि ल यार, पाँचपटक भइसकें, छैटौंपटक किन हुने ? को हुने हो अघि आऊ भनिदिनुहुन्छ कि ! राम्रै हो । म हुनुपर्छ भन्ने छैन, जो भए पनि हुन्छ । मैले साथ दिने हो, तर कोही अघि नबढ्दा अघि बढ्ने हो नि ! साथीहरू किन आत्तिनुभएको ? मैले पार्टी फुटाउने कुरा गरेको हो र ? मैले त दलको नेता फेर्ने कुरा गरेको हो । सभापतिज्यूलाई यो कुरा ठीक हो भन्ने लागेको छ, तर वरिपरि बस्ने साथीहरूलाई चाहिँ चिन्तित बनाएको छ । धेरै चिन्ता गर्नुपर्दैन, म बदल्न लागिरहन्छु, कसैले नसोध्नुहोला अब,’सोमवार महामन्त्री गगन थापाले यी कुरा राख्दै गर्दा नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा एक प्रकारको सन्नाटा नै छाएको थियो । अरूका कुरा सुन्न हड्बडाउने सभापति शेरबहादुर देउवाले पनि आधा घण्टासम्म गगनको कुरा धैर्यतापूर्वक सुने ।
६ दिनदेखि आफूमाथि भइरहेको एकोहोरो प्रहार सुनेर बसिरहेका गगनले केन्द्रीय समिति बैठकमा शालीन ढंगले जवाफ फर्काए । राजनीतिक प्रस्तावलाई गैरसरकारी संस्थाको प्रतिवेदनजस्तो भन्ने केन्द्रीय सदस्य आरजु देउवालाई व्यंग्यात्मक शैलीमा जवाफ फर्काए, ‘मसँग एनजीओमा काम गरेको अनुभव छैन’ भनेर ।
कांग्रेसको १५ औं महाधिवेशन २०८२ सालमै गर्नुपर्छ भन्ने कुरा गगनले केन्द्रीय समिति बैठकमा पहिलोपटक उठाए । साथै नेतृत्व परिवर्तनको आफ्नो अभियान नरोकिने मत सभापति शेरबहादुर देउवाकै अगाडि केन्द्रीय समितिमा दर्ज गराए । नेतृत्व परिवर्तनको बहसले मात्र पार्टीलाई जीवन्त बनाउने निष्कर्ष सुनाउँदै आफू निरन्तर लागिपर्ने बताए ।
कांग्रेस केन्द्रीय समिति बैठकमा गगनले राखेको विषयलाई लिएर सामाजिक सञ्जालमा उनको प्रशंसा भइरहेको छ । स्वयं कांग्रेस कार्यकर्ताले पनि देउवाकै अगाडि नेतृत्व परिवर्तनका लागि लागिरहन्छु भन्ने गगनको साहसको तारिफ गरिरहेका छन् ।
परिवर्तन महसूस नगरेको 'श्यामश्वेत' पुस्ता
मंसिर– ४ को चुनावमा नयाँ दलको उदय, वैशाख १० को चुनावमा परम्परागत गढमै कांग्रेसले व्यहोरेको झट्कालाई बिर्सेर कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाको स्तुतिगान चल्यो । कांग्रेसलाई पहिलो दल बनाएको, गुमेको सत्तामा पुनरागमन भएको कुरालाई उपलब्धि भन्दै बहुसंख्यकले देउवाको प्रशंसा गरे ।
पहिलोपटक प्रत्यक्ष प्रशारण भएको खुला बैठकमै देउवालाई नै लाज हुनेगरी केन्द्रीय सदस्यहरूले उनको स्तुतिगान गाए । स्थानीय तह या प्रतिनिधि सभा चुनावमा कांग्रेस पहिलो दल प्राविधिक रूपले मात्र बनेको हो । चुनावअघिको एमालेसँग एक्लै लड्न नसकिने कांग्रेसको विश्लेषण तथा कांग्रेसको ओत नलागी अस्तित्व समाप्त हुने माओवादी र समाजवादीको बुझाइका कारण गठबन्धन बन्यो । जनताको आशा, भरोसा या पार्टीको लोकप्रियता नभई बाध्यताले बनेको गठबन्धनमा दामासाही ढंगले बाँडेको सीटमा कांग्रेसले केही धेरै जितेको हो ।
केन्द्रीय सदस्यहरूले देउवालाई रिझाउन/खुशी पार्न बनावटी कुरा गरेजस्तो छैन कांग्रेसको अवस्था । डडेल्धुराजस्तो जिल्लामा नाति पुस्ताको एक युवाले देउवाको जरो हल्लाइदियो, अप्रत्यासित मत ल्याएर । अझ त्यतिबेलासम्म चितवन आसपासमा बजेको घण्टीको ध्वनि डडेल्धुरा पुगेकै थिएन । आगामी चुनावसम्म रुवा र रडुवा खोलामा धेरै पानी बगिसक्नेछ ।
जनमत जाँच्ने क्रममा गिरिजाप्रसाद कोइरालाले बारम्बार एउटा विम्ब प्रयोग गर्दथे, ‘भात पाक्यो कि पाकेन भनेर कसौँडीको हरेक सिता छाम्नु पर्दैन, एउटा छामे पुग्छ ।’ कांग्रेसको हालत बुझ्न भर्खरै सकिएको उपनिर्वाचनको ऐना हेरे पुग्छ । कांग्रेस नेताहरूले खहरे भनुन् या निराशाको व्यापार गर्ने छट्टु भनुन्, त्यही पसलतिर जनताको आकर्षण देखिएको छ । देशको अर्को ठूलो दलको झण्डै आधा सदस्यले सदस्यता नवीकरण नगर्नु त्यही निराशाको व्यापार गर्नेहरूका कारण हो भन्नु पर्ला ।
कांग्रेसजस्तो देशको अग्रणी लोकतान्त्रिक दलका केन्द्रीय सदस्यहरूको अभिव्यक्तिको स्तर हेर्दा यस्तो लाग्छ, या उनीहरू मतदाताको मनोविज्ञानमा आइरहेको बदलावबारे पूरै बेखबर छन्, वा नेतृत्वको स्तुति नगाई आफ्नो राजनीतिक भविष्य देखेका छैनन् ।
कांग्रेसको ‘ब्ल्याक एन्ड ह्वाइट’ (श्यामश्वेत) पुस्ता देशमा भइरहेको परिवर्तनप्रति पूरै बेखबर छ । गगन थापा विद्यार्थी संघमा छँदा पार्टीको केन्द्रीय सदस्य रहेका तिनै प्रौढहरू अहिले पनि केन्द्रीय सदस्यमै रमाइरहेका छन् । उनीहरू २०४८–०५१ को ह्याङओभरबाट माथि उठ्न सकेका छैनन् । यो तप्का गगन–विश्वप्रकाशलाई अझै पनि नेविसंघकै कार्यकर्ता देख्छ, कांग्रेस महामन्त्री भइसकेको वास्तविकता स्वीकार्दैन । यही पुस्ताले केन्द्रीय समिति बैठकमा बालकृष्ण खाँणको भरमग्दुर बचाउको प्रयत्न गर्यो ।
केन्द्रदेखि वडा तहसम्म कांग्रेसका नेतामा देखिएको सामन्ती चिन्तन र कांग्रेसका बहुसंख्यक नेताको डीएनए मिल्छ । वास्तवमा कांग्रेस कार्यकर्ताको ‘ग्राउन्ड मनोविज्ञान’ गगन थापाकै शब्दमा पार्टी प्रजापरिषद् नै बन्ने हो कि भन्ने खालको देखिन्छ ।
कांग्रेस रूपान्तरणमा गगन–विश्वप्रकाशको हुटहुटी
मंसिरको चुनावलगत्तै नेविसंघका पूर्व अध्यक्ष समेत रहेका युवा नेता गुरु घिमिरेले कांग्रेसमा ‘सच्चिने कि सकिने’ भन्ने बहस चलाए । सभापति शेरबहादुर देउवा र संस्थापन पक्षले यो कुरा सुन्न चाहेन । गुरु घिमिरे नेतृत्वको कांग्रेस रुपान्तरण अभियानले सातवटै प्रदेशमा गरेको अन्तरक्रिया र त्यसको सुझाव लिन समेत देउवा राजी भएनन् । पहिलो पार्टीको दम्भ र आत्मरतिमा रमाएको कांग्रेसको एउटा तप्का निकट भविष्यमा आउन लागेको संकटप्रति पूरै अनभिज्ञ छ ।
कांग्रेस रुपान्तरणका नाममा भइरहेका अभियान र प्रयत्नलाई संस्थापन पक्षले नेतृत्व परिवर्तनको बहस भनेर बेवास्ता गरिरहेको छ । केन्द्रीय सदस्य र देउवा निकटका पदाधिकारीले त्यसैगरी केन्द्रीय समितिमा व्याख्या गरे । यहाँसम्मकि रुपान्तरण र नेतृत्व परिवर्तनका पक्षमा बोल्ने महामन्त्रीको विकल्प खोज्छौं भनेर चुनौती दिए ।
स्टन्ट नै किन नहोस्, रवि लामिछाने या बालेन शाहले गरिरहेको राजनीतिले परम्परागत दललाई झस्का दिएको छ । कांग्रेस सांसद दीपक गिरीले त संसदमै बालेनको प्रशंसा गरे । रवि या बालेनको कामलाई लिएर वाहवाही गर्नेमा कांग्रेसकै कार्यकर्ता तथा पुराना मतदाता पनि छन् । केन्द्रीय समिति बैठकमा आफ्नो कुरा राख्ने क्रममा गगनले रविको नाम नलिई निराशाको व्यापार गर्ने छट्टुहरू भनेर टिप्पणी गरे । ‘निराशाको व्यापार गर्ने छट्टु’ भनिए पनि तिनैले ठूला दललाई हायलकायल पारिदिएका छन् । राजधानी काठमाडौं उपत्यकाका एकतिहाइ सीटमा जीत हात पारेका छन् ।
घण्टीले दिएको चुनौती सामना गर्नका लागि नै कांग्रेसमा रुपान्तरणको बहस चलेको हो । बालबच्चाले जंकफूडको स्वाद मन पराएजस्तै निराशाबाट गुज्रेको नेपाली समाजले रवि–बालेन पुस्ताले गरिरहेको हाताहाती राजनीति मन पराएका छन् । उनीहरूलाई आरोप लगाउँदैमा कांग्रेसको भोट बढ्ने अवस्था छैन ।
कांग्रेसका मतदाता र शुभेच्छुक मात्र होइन, नेपालको राजनीति सही कोर्समा अगाडि बढोस् भन्ने चाहना राख्नेहरूले गगन–विश्वप्रकाशको मुभलाई नियालिरहेका छन् । कुनै एउटा दलमा हुने परिवर्तनको असर अरू दलमा पर्छ, जस्तै कांग्रेसले केन्द्रीय समिति बैठक लाइभ गरेर अन्य दलमाथि दबाब सिर्जना गरेका छ । गगनले उठाइरहेको नेतृत्व परिवर्तनको बहस कांग्रेसमा यत्तिकै सेलाएर जाने छैन । केन्द्रीय समिति बैठकमा देउवाको स्तुति गाउनेले पनि बुझेका छन्, देउवालाई प्रधानमन्त्री बनाउने भनेर फेरि जनताले भोट दिँदैनन् ।
संसदीय दलको निर्वाचनमा एक ठाउँमा उभिएका महामन्त्रीद्वय गगन र विश्वप्रकाश नेतृत्व परिवर्तनको एजेन्डामा पनि नजिक देखिन्छन् ।
गगनले जस्तो संसदीय दलको नेता परिवर्तनको वकालत नगरे पनि विश्वप्रकाशले एक व्यक्ति एकपटक राष्ट्रपति र दुईपटकसम्म मात्र राष्ट्रपति बन्न पाउने अवधारणाले पनि नेतृत्व परिवर्तनको कुरालाई जोड दिन्छ ।
शर्माले राजनीतिक रूपान्तरणका लागि नेताहरूको ‘एक्जिट पोलिसी’को अवधारणा लागू गर्नुपर्ने प्रस्ताव गरे ।
‘कांग्रेसले एक्जिट पोलिसी राखेको भए, शेरबहादुर दाइले जस्तो ५ पटक प्रधानमन्त्री हुन्थें भनेर कसैले सोच्दैनथ्यो, भविष्यका लागि पनि एक्जिट पोलिसी आवश्यक छ,’ शर्माले भनेका थिए ।
भ्रष्टाचारीमाथिको कारवाही सम्बन्धमा पनि गगन र विश्वप्रकाश एक ठाउँमा देखिए । भ्रष्टाचारको आरोप लागेका नेताको बचाउमा केन्द्रीय समितिका अधिकांशले प्रतिरक्षा गर्दा गगन र विश्वप्रकाशले कारवाही गर्नुपर्ने माग राखे । १४ औं महाधिवेशन सम्पन्न भएको डेढ वर्षपछि पहिलोपटक कांग्रेसमा जमेर बहस भयो ।
कांग्रेस बैठकले नेपालको राजनीतिमा तत्कालै कुनै असर त देखाइहाल्ने छैन, तर यसअघि बाहिर मात्र कुरा गरेका गगनले केन्द्रीय समिति बैठकमै नेतृत्व परिवर्तनको वकालत गरेपछि अबको उनको मूभबारेचाहिँ चासो बढेको छ । कांग्रेस रुपान्तरण र नेतृत्व परिवर्तनको एजेन्डामा गगन कति खरो उत्रिन्छन्, त्यसले धेरै हदसम्म कांग्रेसको भविष्य निर्धारण गर्ने छ । साथै कांग्रेसको राजनीतिलाई पनि तरंगित बनाइराख्नेछ ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...