भदौ ७, २०८०
उर्लाबारीबाट २०७४ चैत पहिलो साता एउटा टोली काठमाडौं आयो । जो पीडित छ, उसैलाई प्रहरीले ज्यान मुद्दा लगाएको भनी टोलीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’समक्ष अर्जी गर्यो । कुरा सुने...
काठमाडाैं | साउन २८, २०८०
पशुचौपायामा महामारीको रूप लिएको 'लम्पी स्किन' रोगविरुद्ध लगाइने खोप बिक्री वितरणमा व्यापक कालोबजारी भइरहेको पाइएको छ ।
खोप आयत गरेका निजी क्षेत्रका आयातकर्ताहरूले तीनै तहका सरकारलाई मनोमानी मूल्यमा खोप बिक्री वितरण गरिरहेका छन् ।
सातै प्रदेशका प्रदेश सरकारदेखि स्थानीय सरकार हुँदै किसानसम्मलाई मनोमानी ढंगले फरक-फरक मूल्य लिएर खोप वितरण भइरहेको छ ।
अधिकतम १ सय रुपैयाँमा बिक्री हुनुपर्ने खोप ३ सय रुपैयाँसम्ममा बिक्री गरेर कालोबजारी भइरहेको हो ।
पशु सेवा विभागबाट आयात अनुमति लिएका कान्तिपुर भेट डिस्ट्रिब्युटरका ऋषि बडाल, लोटस/सुनगाभा भेट फर्माका भरत पाण्डे र वनदेवी भेट फर्माका विदेश थापाले कुल १३ लाख ६९ हजार खोप आयात गरी अधिकतम मूल्य (एमआरपी) भन्दा धेरै बढी मूल्य लिएर बिक्री वितरण गरिरहेका छन् ।
सरकारलाई नै ठग्दै आयातकर्ता, १४० को खोप २१० मा
कर्णाली प्रदेशमा प्रदेश सरकारअन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १४० रुपैयाँको खोप २१० रुपैयाँमा किनेको छ ।
कर्णालीस्थित पशुपन्छी विकास निर्देशनालयका सूचना अधिकारी मोहन गिरीले कृषि मन्त्रालयले प्रतिखोप २१० रुपैयाँ तिरेर खरिद गरेको बताए ।
'हामी आफैंले खोप किनेका छैनौं । मन्त्रालयले खोप किनेर वितरण गर्नका लागि निर्देशनालयलाई पठाएको हो,' गिरीले लोकान्तरसँग भने, 'प्रतिखोप २१० रुपैयाँका दरले वनदेवी एग्रो भेटको बिल हामीलाई मन्त्रालयले पठाएको छ ।'
मन्त्रालयबाट प्राप्त १७ सय खोपको ३ लाख ५७ हजार रुपैयाँको बिल निर्देशनालयमा आएको उनले खुलाए ।
संघीय सरकारअन्तर्गत रहेको पशु सेवा विभागका पशु चिकित्सक डा. नवीन उपाध्यायका अनुसार वनदेवी एग्रोभेटले ल्याएको खोपको अधिकतम मूल्य (एमआरपी) १४० रुपैयाँ मात्र हो । जबिक उसले प्रतिखोप ७० रुपैयाँ बढी लिएर प्रदेश सरकारलाई बेचेको छ ।
निर्देशनालयका सूचना अधिकारी गिरीका अनुसार निर्देशनालय, प्रदेश सरकार र स्थानीय पालिका समेतले गरी कर्णाली प्रदेशमा हालसम्म १२ हजार ७ सय थान खोप लगाइसकिएको छ, जसमध्ये कतिपय स्थानमा पालिकाहरू आफैंले खोप किनेका छन् ।
कर्णालीमा बिक्री भएको १२ हजार ७ सय थान खोपमा वनदेवी भेट फर्माले ८ लाख ८९ हजार रुपैयाँ बढी लिएर कालोबजारी गरेको पुष्टि हुन्छ ।
कर्णाली प्रदेशजस्तै लुम्बिनी प्रदेशमा पनि आयातकर्ताले खोप बिक्री गर्दा व्यापक कालोबजारी गरेको पाइएको छ ।
लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले प्रतिखोप १२० रुपैयाँका दरले १२ हजार खोप किनेको मन्त्रालयका कृषि अर्थ विज्ञ समेत रहेका सूचना अधिकारी युवराज ढकालले बताए ।
उनका अनुसार मन्त्रालयले कान्तिपुर भेट डिस्ट्रिब्युटरमार्फत १२ हजार थान खोप किनेको छ । त्यसैगरी प्रदेशका अन्य निकायले किनेको समेत गरी कुल २५ हजार थान खोप लगाइसकिएको ढकालले बताए ।
पशु सेवा विभागका चिकित्सक नविन उपाध्यायका अनुसार कान्तिपुर एग्रो भेटले आयात गरेको खोप नाफा राखेर बेच्न सकिने अधिकतम मूल्य ११० रुपैयाँ हो । तर, खोप आयातकर्ता ऋषि बडालले त्यसमा पनि प्रतिखोप १० रुपैयाँ बढी लिएर १२० रुपैयाँमा लुम्बिनी प्रदेश सरकारलाई बिक्री गरेका छन् ।
त्यसैगरी मधेश प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अहिलेसम्म ६४ हजार थान खोप किनेर वितरण गरेको छ । मन्त्रालयका प्रवक्ता रोशनकुमार मेहताका अनुसार १२० रुपैयाँका दरले मन्त्रालयले खोप किनेको हो । त्यहाँ पनि प्रतिखोप १० रुपैयाँ बढीले हिसाब गरी अधिकतम मूल्यभन्दा ६ लाख ४० हजार बढी लिएको देखिन्छ ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म प्रदेश सरकारले खोप किनेको छैन । खोप नकिनेपछि किसानले आफैं व्यावसायिक एग्रो भेट, एग्रो फर्माहरूबाट २५० देखि ३ सय रुपैयाँसम्ममा किनेर लगाइरहेका छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका निमित्त कार्यालय प्रमुख महेन्द्रराज पाण्डेय किसानले २ सयदेखि २५० रुपैयाँमा खोप किनेर लगाइरहेको बताउँछन् ।
'हामीसँग बजेट नै थिएन, त्यसैले हामीले खोप किन्न सकेनौं । अब मन्त्रालयले आफैं वा निर्देशनालयमार्फत किन्ने तयारी गरेको जानकारी पाएका छौं,' पाण्डेयले लोकान्तरसँग भने, 'कान्तिपुर भेटले तान्जानियाबाट आयात गरेको खोप यहाँका व्यावसायिक एग्रोभेटहरूले किनेका छन् । ती एग्रोभेटबाट किसानले २०० देखि २५० रुपैयाँसम्ममा खोप किनेर पशुमा लगाइरहेका छन् ।'
खोप किन्ने एग्रोभेटका प्राविधिकले नै थप २५ देखि ५० रुपैयाँ लिएर पशुमा खोप लगाइदिने गरेको उनले बताए । पशु चिकित्सक नवीन उपाध्यायका अनुसार कान्तिपुर भेट डिस्ट्रिब्युटरले तान्जानियामा उत्पादन भएको ८ लाख खोप आयात गरेको छ । उक्त खोपको अधिकतम मूल्य (एमारपी)११० रुपैयाँ रहेको उनले बताए ।
त्यसैगरी वनदेवी भेट फर्माले जोर्डनमा उत्पादन भएको ३ लाख ४० हजार खोप आयात गरेका छन् । उक्त खोपको एमआरपी १४० रुपैयाँ छ ।
त्यसैगरी लोटस/सुनगाभा भेट फर्माले टर्कीमा उत्पादन भएको २ लाख २९ हजार खोप आयात गरेको छ । उक्त खोपको एमआरपी १२५ रुपैयाँ रहेको उपाध्यायले बताए ।
'मैले ती खोपको अधिकतम् मूल्य आफैंले हेरेको होइन । आयातकर्तालाई नै सोध्दा उनीहरूले जानकारी गराएका हुन्,' उपाध्यायले भने ।
पशु सेवा विभागकी महानिर्देशक डा. सम्झना कुमारी काफ्ले पनि कतै-कतै २२० रुपैयाँसम्ममा खोप बिक्री गरिएको भनेर आफूहरूले पनि सुनेको तर त्यसको कुनै जानकारी नरहेको बताउँछिन् ।
कालोबजारीका विषयमा नियमन गर्ने अधिकारी आफूहरूलाई नरहेको उनको भनाइ छ । 'वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्यस विषयमा हेर्ने हो,' उनले लोकान्तरसँग भनिन्, 'खोपको मूल्य आयातकर्ताहरूले नै निर्धारण गरी बिक्री गरिरहेका छन् ।'
आयातकर्ताहरूले खोप फ्रिज गर्दा तथा ढुवानी गर्दा लाग्ने खर्च समेत जोडेर बिक्री गर्दा मूल्य बढेको भनेर जवाफ दिने गरेको पशु चिकित्सक नवीन उपाध्यायले बताए ।
'हामीले कृषि मन्त्रालयमा नै आयातकर्ताहरूलाई बिक्री मूल्यको बारेमा कुरा गर्दा आयातकर्ताहरूले २ देखि ८ डिग्री तापक्रममा खोप स्टोर गर्दा, आइस/कुलर राख्दा र ढुवानी गर्दाको चार्ज लिएको जवाफ दिएका थिए,' उनले भने ।
औसत १ सय रुपैयाँका दरले नै जोड्ने हो भने ती आयातकर्ताहरूले बिक्री गरिसकेका १२ लाख खोपमा १२ करोड रुपैयाँ आयातकर्ताहरूले कालोबजारी गरी आम्दानी गरेका छन् ।
झन्डै १ लाख ६९ हजार खोप बिक्री गर्न बाँकी रहेकाले त्यसको पनि मूल्य जोड्ने हो भने १ करोड ६९ लाख रुपैयाँ थप आम्दानी गर्ने निश्चित छ ।
कोरोना महामारीको मौका छोपी व्यापारीहरूले आफूखुशी बजार मूल्यभन्दा कयौं गुणा बढीमा स्वास्थ्य सामग्री बिक्री गरेका थिए, ठीक त्यसरी नै अहिले लम्पी स्किन खोप बिक्रेताले मनपरी गर्दै कालोबजारी मात्र गरेका छैनन्, फरक-फरक मूल्यमा खोप बिक्री गरेका छन् ।
कतिपय स्थानमा किसानले आफैं निजी स्रोतबाट पनि प्रतिखोप ५ सय रुपैयाँसम्ममा किनेर गाई भैँसीलाई खोप लगाएका छन् ।
आयातकर्ता पोस्न अर्कै खोप !
रोग नियन्त्रण गर्नका लागि वैकल्पिक उपाय भन्दै पशु सेवा विभागको सिफारिसमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गोट पक्सविरुद्ध प्रयोग हुने ७० लाख डोज खोप आयात गर्ने निर्णय गरेको छ ।
गाई/भैँसीमा देखिएको लम्पी स्किन रोगको खोप खरिद गर्नुपर्नेमा बाख्रामा लगाइने गोट पक्स खोप खरिद गर्न लागिएको हो ।
मन्त्रालयले उक्त खोप खरिद गर्नका लागि मन्त्रालयअन्तर्गतकै नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनालाई जिम्मेवारी दिएको छ ।
लम्पी स्किन रोग नियन्त्रणका लागि होमोलोगस खोप खरिद गर्नुपर्नेमा कमिसनकै लागि बाख्रामा लगाइने गोट पक्स किन्न लागिएको विज्ञहरूको आशंका छ । कृषि मन्त्रलायकै एक कर्मचारीले लोकान्तरसँग भने, 'गाई/भैंसीमा देखा परेको लम्पी स्किनविरुद्ध 'होमोलोगस' खोप लगाउनुपर्ने हो, तर अहिले सरकारले गोट पक्सको 'हेट्रोलोगस' खोप किन्न लागेको छ ।'
बाख्राको खोप गाई/भैंसीमा लगाएर रोग नियन्त्रण हुन नसक्ने भन्दै ती कर्मचारीले थपे, 'खोप आयातकर्तालाई पोस्न र कमिसन पाउनकै लागि खरिद गर्न लागिएको देखिन्छ ।'
यस विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशु स्वास्थ्य महाशाखा प्रमुख डा. रामनन्दन तिवारी, पशु सेवा विभागकी महानिर्देशक डा. सम्झना कुमारी काफ्ले र नेपाल लाइभ सेक्टर इनोभेसन आयोजनाका प्रमुख डा. उमेश दाहालसँग जिज्ञासा राख्दा एकैखालको जवाफ दिए ।
लम्पी स्किनका लागि त्यसैको खोप आवश्यक पर्ने स्वीकारेका उनीहरूले उक्त खोप निकै महंगो रहेकाले वैकल्पिक उपायस्वरूप गोट पक्सको खोप खरिद गर्न लागिएको बताए । सरकारसँग महंगो खोप किन्न बजेट नरहेकाले विश्व बैंकको अनुदान रकमबाट गोट पक्स खोप किन्ने निर्णय भएको उनीहरूको भनाइ छ ।
'हाम्रो छिमेकी मुलुक भारत र चीनमा पनि लम्पी स्किनको महामारी हुँदा वैकल्पिक उपायका रूपमा गोट पक्सको खोप लगाएर क्षति नियन्त्रण गरिएको थियो । त्यही अनुभवको आधारमा अहिले ७० लाख खोप किन्न लागिएको हो,' उनीहरूले छुट्टाछुट्टै कुराकानीमा एकनासको जवाफ दिए ।
लम्पी स्किनको खोप नेपालमै उत्पादन गर्ने लक्ष्य रहे पनि खोप उत्पादन गर्न १ वर्षजति लाग्ने भएकाले वैकल्पिक रूपमा गोट पक्सको खोप खरिद गर्न लागिएको बताउँछिन् ।
'हामीले आफैं खोप उत्पादन गर्नका लागि भारत सरकारसँग सीड भाइरस र प्रविधि मागेका छौं,' उनले थपिन्, 'तर, त्यो सबै हुन १ वर्षजति समय लाग्छ । तत्काल मास भ्याक्सिनेसनको आवश्यकता रहेकाले गोट पक्सबाट काम चलाउन लागिएको हो ।'
नेपाल लाइभ सेक्टर इनोभेसन आयोजनाका प्रमुख डा. उमेश दाहालले खोरैत रोग नियन्त्रणका लागि खोप खरिद शीर्षकको १५ करोड रकममध्ये ७ करोड रुपैयाँ खर्चिएर गोट पक्सको खोप खरिद गर्ने निर्णय भएको बताउँछन् ।
'हामीसँग अझै पनि २९ लाख डोज खोरैत खोप स्टकमा मौज्दात छ, त्यसैले खोरैत खोप ३० लाख र गोट पक्स खोप ७० लाख डोज किन्न लागिएको हो,' उनले लोकान्तरसँग भने, 'अहिले त्यसका लागि हामीले विश्व बैंकसँग सोधनीको काम गरेका छौं । उताबाट स्वीकृति आइसकेको छैन ।'
विश्व बैंकको अनुदान रकमबाट गोट पक्सको खोप किन्ने हुनाले विश्व बैंकसँग सहमति माग गरिएको उनले खुलाए ।
'विश्व बैंकले सहमति दिएलगत्तै सार्वजनिक खरिद ऐन र नियमवालीअनुसार खरिद प्रक्रियाका लागि ई-टेन्डर आह्वान गर्छौं,' दाहालले थपे, 'हामीले कुनै आयातकर्तालाई पोस्नका लागि खोप खरिद गर्न लागेका होइनौं । टेन्डरमा जसले सबैभन्दा कम मूल्य प्रस्ताव गर्छ अनि हाम्रो स्पेसिफिकेसन अनुसार जसले मापदण्ड पुरा गर्छ, उसैमार्फत खरिद गर्छौं ।'
राज्यको बेहिसाब खर्च, महामारी यथावत
पशु सेवा विभागले साउन २४ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार हालसम्म संक्रमित १३ लाख ५ हजार ३६१ पशुमध्ये १० लाख ८२ हजार १५९ निको भइसकेका छन् । संक्रमित मध्ये ४७ हजार ६४९ पशु मरेको तथा बाँकी सक्रिय संक्रमित रहेको तथ्यांक छ ।
पशु सेवा विभागकी महानिर्देशक डा. सम्झना कुमारी काफ्लेले जारी गरेको विज्ञप्तिमा संक्रमणको दर क्रमशः घट्दै गएको उल्लेख गरिएको छ ।
साथै हालसम्म १३ लाख ६९ हजार डोज खोप आयात भई सातवटै प्रदेशका विभिन्न जिल्लाहरूमा ४ लाख ४५ हजार ९४५ पशुहरूमा लगाउने काम सम्पन्न भएको उनले उल्लेख गरेकी छन् ।
उक्त महामारी नियन्त्रण गर्नका लागि संघीय सरकारअन्तर्गतको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत आर्थिक वर्षमा नै देशभरका ७५३ वटै पालिकालाई १/१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
औषधि खरिदका नाममा मन्त्रालयले ७ करोड ५३ लाख रुपैयाँ दिएको थियो । फेरि चालू आर्थिक वर्षमा पनि कृषि मन्त्रालयले खोप खरिद गर्नका लागि ७५३ वटै पालिकालाई १/१ लाखका दरले ७ करोड ५३ लाख विनियोजन गरेको छ । संघीय सरकारले हालसम्म पालिकालाई १५ करोड ६ लाख रुपैयाँ दिइसकेको छ ।
त्यसबाहेक हरेक प्रदेशले बजेट विनियोजन गरी खोप खरिद गरेका छन् ।
पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालका अनुसार हालसम्म कोशी प्रदेशले खोप खरिदका लागि ५० लाख रुपैयाँ, आकस्मिक रोग नियन्त्रणका लागि आठवटै जिल्ला तथा मन्त्रालयलाई ६० लाख बजेट विनियोजन गरेको छ ।
मधेश प्रदेशले सरकारले ६४ हजार खोप खरिद गरिसकेको उनले बताए । मधेश प्रदेशले खोप खरिद तथा आकस्मिक रोग नियन्त्रणका लागि आठै जिल्लामा ५/५ लाख बजेट विनियोजन गरेको छ । मधेश प्रदेशका केही स्थानीय तहले पनि खोप खरिद गरी प्रयोग गरिरहेको उनले बताए ।
'गण्डकी प्रदेशले खोप खरिदको लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ र अघिल्लो आर्थिक वर्षमा खरिद गरिएको खोप लगाउने काम भइरहेको जानकारी प्राप्त भएको छ,' ढकालले लोकान्तरसँग भने ।
बागमती प्रदेशले खोप खरिदको लागि ६५ लाख, आकस्मिक रोग नियन्त्रणका लागि हरेक जिल्लामा ५ देखि ९ लाख बजेट विनियोजन गरेको उनले बताए ।
लुम्बिनी प्रदेशमा पनि खोप कार्य चालू रहेको र खोप खरिद कार्यका लागि थप २ करोड ८३ लाख बजेटको प्रक्रिया अघि बढेको उनले बताए ।
लम्पी स्किनको अवस्थाबारे जारी विज्ञप्ति :
उर्लाबारीबाट २०७४ चैत पहिलो साता एउटा टोली काठमाडौं आयो । जो पीडित छ, उसैलाई प्रहरीले ज्यान मुद्दा लगाएको भनी टोलीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’समक्ष अर्जी गर्यो । कुरा सुने...
विभिन्न सरकारी निकायको कालोसूचीमा परेर बैंक खाता रोक्का भएको अवस्थामा पनि शंकर माली निर्माण सेवा प्रा.लि.ले एक बैंकबाट दुई करोडभन्दा माथि रकम निकालेर खाता बन्द गरेको खुलेको छ । गरिमा विकास बैंकले उक्त क...
पूर्ण सरकारी स्वामित्वको गोरखापत्र संस्थानमा नियमविपरीत तोकआदेशकै भरमा १६४ जना कर्मचारी भर्ना गरिएको पाइएको छ । 'रोजगारी दिलाई पाऊँ, काम गर्ने अवसर प्रदान गरी पाऊँ, योग्यताबमोजिम काम दिलाई पाऊँ' भ...
ब्याडमिन्टनका विभिन्न प्रतियोगितामा असम्बन्धित व्यक्तिहरूलाई पनि अमेरिका, अस्ट्रेलिया, जापानजस्ता मुलुकमा पठाउने र उतै लुकाउने काममा नेपाल ब्याडमिन्टन संघको नेतृत्व नै क्रियाशील रहेको आरोप लागेको छ । अर्कातिर य...
आठ वर्षदेखिको 'माइन्युट' गायब पारिएको विषयमा भ्रष्टाचारसम्बन्धी ऐन समेत आकर्षित हुने भएपछि 'नेपाल ब्याडमिन्टन संघ'मा खैलाबैला मच्चिएको छ । संघका पदाधिकारीहरू माइन्युटका विषयमा आरोपप्रत्यारोपम...
लामो समयदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा काजमा कार्यरत मोहनदेव जोशीलाई स्वास्थ्य मन्त्रालयले गत असार ३१ गते फिर्ता गरिदियो । काठमाडौंकै कीर्तिपुर नगरपालिकामा क्षयरोग तथा कुष्ठरोग निरीक्षक पदमा दरबन्दी रहेको भ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...