२६ जेठ २०८३, मंगलबार

'नमुछे आमा...' देखि 'उनको प्रीति पहिले हो कि...' सम्म– कस्तो हुँदैछ नारायण रायमाझीको सांगीतिक साँझ ?​

भदौ १३, २०८०
काठमाडौं
'नमुछे आमा...' देखि 'उनको प्रीति पहिले हो कि...' सम्म– कस्तो हुँदैछ नारायण रायमाझीको सांगीतिक साँझ ?​

नमुछे आमा दहीमा टीका, नछरे जमरा,
दैवले पर्दा उठायो आमा, आउँदिनँ फर्केर ।।

तपाईंले यो गीत आफ्नो जीवनकालमा कतिपटक सुन्नुभयो ? वर्षौं पहिलेदेखि अहिलेसम्म आउँदा पक्कै पनि गनिसाध्ये नहोला । 

धेरैले भन्नुहुन्छ, ‘यो त मैले बाल्यकालदेखि सुन्दै आएको गीत हो । हरेक समय उस्तै मन पराइने यो गीत दशैंका बेला अझै धेरै चर्चामा आउँछ । त्यो पनि हरेक वर्ष ।’

उनको प्रीति पैले हो कि, मेरो प्रीति पैले,​
जान्दिनँ म– एकैचोटी के भो कुन्नि कैले ?

यो गीत नसुन्ने पनि शायदै हुनुहुन्छ होला । वर्षौं पुरानो यो गीत अहिलेको पुस्ताको स्वादमा पस्किँदा पनि उत्तिकै लोकप्रिय छ ।

यस्ता कयौं कालजयी गीत नेपाली सांगीतिक उद्योगलाई दिएका सर्जक हुन् नारायण रायमाझी । उनले नेपाली सांगीतिक क्षेत्रमा आफ्नो समय लगानी गरेको लामो समय भयो । उनै स्रोताको मन मस्तिष्कमा बसेका थुप्रै कालजयी सिर्जनाका संगीतकार रायमाझी यही शुक्रवार प्रज्ञा प्रतिष्ठान कमलादीमा प्रत्यक्ष प्रस्तुत हुँदैछन् । 

‘नेपाल टेलिकम नारायण रायमाझी सांगीतिक साँझ– २०८०’ नाम दिएर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले यस कार्यक्रमको आयोजना गरेको हो । 

कलाकारको सम्मान, लोककला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले यस वर्षबाट सांगीतिक साँझ कार्यक्रमको शुरूआत गरिएको दोहोरीगीत प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अनुसार सांगीतिक साँझको तयारी यतिबेला अन्तिम चरणमा पुगेको छ । 

झण्डै चार दशक लामो करिअरमा दर्जनौं अजम्बरी सिर्जना दिएका गायक एवं सफल फिल्म निर्देशक रायमाझीको यो जीवनकै पहिलो एकल सांगीतिक कार्यक्रम हुनेछ । 

उनी केही दिनदेखि दिनरात नभनी सांगीतिक साँझको तयारीमा जुटिरहेका छन् । रायमाझीका अनुसार सांगीतिक साँझमा तीन चरणमा प्रस्तुति रहने छ । एउटा चरणमा गीति नाटक (अपेरा) प्रस्तुत हुनेछ । यसमा रायमाझीका गीतलाई दर्शकले नृत्य र अभिनयमा समेत हेर्न पाउनेछन् । 

थिएटरका कलाकारदेखि नृत्यमा पारंगत कलाकारहरू गीति नाटकमा समावेश हुँदैछन् । काठमाडौं बाहिरबाट समेत कलाकारहरू आएर रिहर्सल गरिरहेका छन् । ४५ देखि ५० मिनेट गीति नाटक प्रस्तुत हुने रायमाझीले जानकारी दिए । 

दोस्रो चरणमा रायमाझीका गीतमा उनलाई अन्य थुप्रै कलाकारहरूले स्वरमा साथ दिनेछन् । 

‘छोटो समयमा धेरै गीतलाई समेट्नका लागि अहिले चर्चामा रहेका कलाकारहरूको मिक्स स्वरमा नयाँ तरिकाको प्रस्तुति रहनेछ,’ रायमाझीले भने, ‘मलाई मन परेका स्वरहरूलाई दोस्रो चरणको प्रस्तुतिमा समावेश गराएको छु ।’

अहिलेका चलेका लोकदोहोरी गायक एवं गायिकाले स्वर यो चरणमा दर्शकले सुन्न र हेर्न पाउनेछन् । तेस्रो चरणमा रायमाझीले लगातार एक दर्जन गीतहरू प्रस्तुत गर्नेछन् । यस चरणमा कतिपय गीतमा अन्य कलाकारहरूको समेत साथ रहनेछ । 

रायमाझीका लोक गीत मात्र होइनन्, आधुनिक एवं फिल्मी गीतहरू समेत निकै हिट छन् । कतिपयले उनलाई सोधिरहेका छन्, ‘लोक गीत तपाईंको एउटा पाटो भयो । आधुनिक गीत पनि तपाईंको उत्तिकै सशक्त छन्, ती गीतहरू सुन्न पाइन्छ कि/पाइँदैन ?’ 

रायमाझी भन्छन्, ‘दोहोरी गीत प्रतिष्ठानले गरेको कार्यक्रम भएको हुनाले मेरो प्राथमिकता लोकगीतमा हुनेछ । यद्यपि, एकाध आधुनिक गीत पनि प्रस्तुत हुनेछन् ।’ 

संगीतकार रायमाझीले यो कार्यक्रम आफ्नो जीवनकै स्वर्णिम पलका रूपमा अविश्मरणीय हुने विश्वास लिएका छन् । एकल साँझ आफ्नो करियरमै पहिलोपटक भएकाले यतिबेला उत्साह र डर दुवै रहेको उनी बताउँछन् । 

‘यति धेरै माया पाएको समयमा सबैले अपेक्षा गरेअनुसार मैले प्रस्तुति गर्न सकुँला कि नसकुँला भन्ने डर एकातर्फ छ,’ रायमाझी भन्छन्, ‘अर्कातर्फ यति ठूलो चर्चा, परिचर्चाका बीचमा आफू प्रस्तुत हुन पाउँदा गौरव पनि लागिरहेको छ ।’ 

सोही सांगीतिक साँझबाट रायमाझीको निर्देशन रहेको दशैंमा प्रदर्शनमा आउने फिल्म ‘परदेशी २’को प्रचारप्रसार पनि शुरू गरिनेछ । फिल्म ‘परदेशी २’ के हो ? कस्तो कथामा बनेको छ ? यसबारे ड्रामामार्फत डेमो प्रस्तुत गरिनेछ । 

फिल्मका तीनवटा गीतको अडियो सोही सांगीतिक साँझमा सार्वजनिक गर्ने तयारी छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको सांगीतिक साँझ दिउँसो १ बजेबाट शुरू हुनेछ । यसमा टिकटको व्यवस्था गरिएको छैन ।

दोहोरीगीत प्रतिष्ठानले सहभागीका लागि पासको व्यवस्था गरेको छ । प्रज्ञा प्रतिष्ठानको हलभित्र भीड भए बाहिर चौरमा स्क्रिनमार्फत समेत कार्यक्रम हेर्ने र सुन्ने व्यवस्था हुने जनाइएको छ । 

रायमाझी दोहोरीगीत प्रतिष्ठानको स्थापनाकालदेखी अहिलेसम्म निरन्तर सल्लाहकार छन् ।

प्रतिष्ठानले अब हरेक वर्ष अग्रज स्रष्टाको एकल साँझ गर्ने जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्