२३ असार २०८३, मंगलबार

युनिभर्सल मेडिकल कलेजमा विद्यार्थीको आन्दोलन– पठनपाठन र उपचार ठप्प

प्रिन्सिपललाई भगाएको आरोप, विद्यार्थीहरूलाई आवाशीय चिकित्सकको पनि साथ
असोज २९, २०८०
काठमाडौं
युनिभर्सल मेडिकल कलेजमा विद्यार्थीको आन्दोलन– पठनपाठन र उपचार ठप्प

युनिभर्सल कलेज अफ मेडिकल साइन्स (यूसीएमएस) एन्ड टिचिङ हस्पिटल भैरहवामा विद्यार्थीको आन्दोलनले पठनपाठन र उपचार सेवा ठप्प भएको छ । 

कलेज प्रशासनले आन्दोलनरत विद्यार्थीका माग सम्बोधन गर्नुको साटो प्रहरी प्रशासन लगाएर हस्तक्षेप गरेपछि आन्दोलन झनै चर्किएको छ । 

असुरक्षित र मानसिकरूपमा विक्षिप्त भएको भन्दै कलेजका आवासीय चिकित्सकहरूले कुनै पनि उपचार सेवामा सहभागी नहुने जनाएका छन् । 

एमबीबीएस र बीडीएस अध्ययनरत तथा इन्टर्न डाक्टरहरू समेत करीब ६०० विद्यार्थीको आन्दोलनमा आवासीय चिकित्सकले समेत समर्थन जनाएका हुन् ।

आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच वार्ता भइरहेको समयमा माग सम्बोधन नगरी प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकलाई भगाएर लागिएको र विद्यार्थीमाथि बल प्रयोग गरी केही विद्यार्थीलाई घाइते बनाएको विद्यार्थीको आरोप छ ।

null

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले समस्या समाधानका लागि प्रारम्भिक छलफल भएको बताउँदै निर्णायक वार्ता गर्ने तयारी भइरहेको जानकारी दिए । प्रजिअ अर्यालले आफूले समस्या समाधानका लागि सर्वदलीय, सर्वपक्षीय बैठक राखेर गरेको निर्णयानुसार प्रिन्सिपल पाठकलाई ‘बन्धक’ अवस्थाबाट मुक्त गरेको बताए । आवासीय चिकित्सकहरूले विद्यार्थीको आन्दोलनमा समर्थन जनाउँदै बिरामीको उपचार नगर्ने घोषणा गरेका छन् । विद्यार्थीहरूले माग पूरा गर्न दबाबस्वरूप रिले अनशन बस्ने बताएका छन् । 

प्रिन्सिपलमा नियुक्त भएर आएपछि डा. पाठकले एमबीबीएस तेस्रो, चौथो र पाँचौं वर्ष तथा इन्टर्नशिप गर्ने विद्यार्थीहरूका लागि नयाँ ड्रेस कोड लागू गरेकी थिइन् ।

विद्यार्थीहरूले उक्त ड्रेसकोड मान्य नहुने भन्दै विरोध जनाएका थिए । पाठकले सबै विद्यार्थीहरूका लागि पाइन्ट र सर्टको व्यवस्था गरेकी थिइन् । तर, महिला विद्यार्थीहरूले लामो समयसम्म पाइन्ट र सर्ट लगाएर इन्टर्न गर्न नसकिने भन्दै विरोध जनाएका थिए । त्यसरी विरोध जनाउने अन्तिम वर्षका विद्यार्थीहरूलाई परीक्षामा समेत रोक लगाएको विद्यार्थीहरूको भनाइ छ ।

null

चौथो वर्ष एमबीबीएसमा अध्ययनरत छात्रछात्राहरूलाई मात्र १ वर्षका लागि लागू हुने गरी नयाँ ड्रेसको नियम लागू भएको हो । शुरूमा सामान्यजस्तै देखिएको यो विषयमा पछि गएर विद्यार्थीहरूले पाठकको राजीनामा मागेका छन् ।

प्रिन्सिपलले राजीनामा दिनुपर्ने, नयाँ ड्रेसकोड लागू नगरी पहिलेको जस्तै यथावत राख्नुपर्ने, इन्टर्नशिपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतका माग गर्दै एक सातादेखि विद्यार्थी आन्दोलनरत छन् ।

माग पूरा नभएसम्म कलेज र अस्पतालमा शैक्षिक गतिविधि र उपचार सेवामा सहभागी नहुने विद्यार्थीहरूको अडान छ । विद्यार्थीका जायज माग पूरा गर्न कलेज प्रशासन सकारात्मक रहेको कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए । 

आन्दोलनरत एक विद्यार्थीले प्रिन्सिपलले राजीनामा र इन्टर्नशिपको तलब वृद्धि गर्ने निर्णय पूरा नहुँदासम्म आफूहरूको आन्दोलन जारी रहने बताए । कलेजले आफूहरूको भविश्वमाथि खेलबाड गरेपछि आन्दोलन गर्नुपरेको उनीहरूले बताए । 

salt training

कमेन्ट गर्नुहोस्