२८ जेठ २०८३, बिहीबार
दुर्गा प्रसाईंले बढाएको 'थ्रेट'

मंसिर ७ को संशय : दुर्गा प्रसाईंको अभियानप्रति कति गम्भीर छन् ठूला दल ?

मंसिर ३, २०८०
काठमाडौं
मंसिर ७ को संशय : दुर्गा प्रसाईंको अभियानप्रति कति गम्भीर छन् ठूला दल ?

गत चुनावबाट बालेन साह, रवि लामिछाने र हर्क साम्पाङहरूको उदयपछि परम्परागत दलसामु देखिएको चुनौती टरेको छैन । यही बेला अर्का एक व्यवसायीले पनि दलहरूसामु चुनौती खडा गर्ने गरी अभियान थालेका छन् ।

२०६४ सालयता देशमा नियमित चुनाव हुँदै आएको छ, तर समयमा चुनाव भए पनि नागरिक अपेक्षालाई पूरा गर्ने गरी दलहरूले सरकारलाई कामकाजी बनाउन सकेका छैनन् । त्यसैले परम्परागत दलविरुद्ध नयाँ शक्तिप्रति नागरिकले गत स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनबाट फरक सन्देश दिएका थिए । 

यस्तै उत्साहको लालसामा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि दलसामु चुनौती खडा गर्ने दाबीसहित अगाडि बढेका छन् । प्रसाईं केही समय अगाडिसम्म मूलधारका दलसँग नजिकको सम्बन्ध बनाएर उनीहरूकै छत्रछायाँमा थिए । तर, माओवादी र एमालेसँग सम्बन्ध बिग्रिएपछि प्रसाईं यतिखेर आफूलाई नयाँ शक्तिको रूपमा स्थापित गर्न कम्मर कसेर लागेका छन् । ७ मंसिरमा प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको नाममा काठमाडौंमा प्रदर्शन गर्न लागेका हुन् ।  

अहिलेसम्म कुनै दल वा अभियानका नाममा सार्वजनिक रूपमा प्रसाईंले अभियानकै रूपमा सक्रियता देखाएका छैनन् । तर, यसपटक राष्ट्र, राष्ट्रियता, धर्मजस्ता विषय उठाएर अभियान थालेपछि भने दलहरूले एक खालको चुनौती नै महसुस गरेका छन् ।  

बैंकको ऋण मिनाहा गर्नुपर्ने, भ्रष्टाचारमुक्त देश बनाउनुपर्ने, नेताले विदेशमा पैसा फिर्ता ल्याउनुपर्ने जस्ता इश्यू उठाएका छन् । प्रसाईंले हिन्दू धर्म र राजतन्त्रको वकालत गरेर पनि नागरिक स्तरको समर्थन बटुल्ने प्रयास गरेका छन् । 

व्यवस्थाविरोधी नारा अगाडि सारेर बदनाम गराउन खोजेपछि दलहरूले चुनौती महसुस गरेका छन् । प्रसाईंले यो अभियान गर्ने भएपछि सबैभन्दा आक्रामक एमाले अध्यक्ष केपी ओली देखिएका छन् । पार्टी जनसंगठन संयन्त्रले शनिबार पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलसमा गरेको विशेष भेलामा बोल्दै अध्यक्ष केपी ओलीले प्रसाईंका मान्छेले काठमाडौं आएर फोहोर मात्र गर्ने बताए ।

‘मंसिर ७ गते कसैकसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरू जोडतोडले लागेका छन् भन्ने सुनेको छु । व्यक्ति वा मानिसहरू काठमाडौंमा उतार्नका लागि उनीहरू लागेका छन्,’ ओलीले भने, ‘ती मानिसहरू आएर काठमाडौंमा केही हुने होइन, तिनले काठमाडौंमा फोहोर मात्रै गर्ने हुन् ।’

प्रसाईंले एकातिर कार्यक्रम गर्दै गर्दा आफूहरू बेथिति, कुशासन, भ्रष्टाचार र तस्करीलाई चुपचाप हेरेर नबस्ने बरु आफूहरूले पनि देखाउने चेतावनी ओलीले दिएका छन् । 

‘७ गते हामी अलिकति थोरै के देखाउन चाहन्छौं भने देशको परिस्थिति अप्ठ्यारो छ । बिग्रँदो छ । त्यसलाई रोक्ने दिशामा नेकपा एमाले अगाडि बढ्छ,’ ओलीले भने, ‘हामी बेथिति, कुशासन, भ्रष्टाचार र तस्करी चुपचाप हेरेर बसिरहन सक्दैनौं ।’

ओलीमात्रै होइन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि पछिल्लो समय हुन थालेका यस्ता अभियानप्रति आफूहरू सचेत रहेको बताएका थिए । 

कांग्रेस नेता प्रदीप पौडेल कुनै व्यक्तिले व्यवस्थाका कारण नभई व्यक्तिका कारण नागरिकमा वितृष्णा बढेको बताउँछन् । 

प्रधानमन्त्री प्रचण्डले गत शुक्रबार तनहुँ पुगेर राजावादीले चलाउन खोजेको अभियानविरुद्ध सबै दल एकजुट हुने समझदारी बनेको बताएका थिए । प्रसाईंले गर्न लागेको अभियानप्रति लक्षित गरी दलहरूसँग संवाद गरेको पनि बताएका थिए । 

‘हिजोका सामन्ती राजाको स्तुतिगान गाउने तथा कहिले भण्डारखाल, कहिले कोतपर्व त कहिले नारायणहिटी काण्ड देखेको होइन ? आज तिनै मान्छे संस्कारको कुरा गर्छन् । लोकतन्त्रवादी र परिवर्तनगामीलाई संस्कारको कुरा गर्ने ? लोकतान्त्रिक प्रणालीविरुद्ध धावा बोल्ने ? हिलो छ्याप्ने र बोल्ने काम गरे सह्य हुँदैन,’ प्रचण्डले भनेका थिए, ‘यसैले परिवर्तनका पक्षधर दललाई सिंहदरबार बोलाएर छाडातन्त्रलाई टुलुटुलु हरेर बस्ने कि लड्ने भन्दा सबै दलका नेताले एक स्वरमा लोकतन्त्र, गणतन्त्र र संघीयताका निम्ति सडकमा जान्छौं भन्नुभयो । अरूले त भने भने प्रमुख प्रतिपक्षी दलका नेता पनि सडकमा जान्छु भन्नुभयो ।’

एमाले सचिव योगेश भट्टराई दुर्गा प्रसाईंसँग डरत्रास भन्दा पनि व्यवस्थाले नागरिकलाई दिन नसकेको डेलिभरीको ध्यानाकर्षण गराउन खोजेको बताउँछन् । 

‘संयोगले एमालेले पार्टीका रूपमा गर्ने र दुर्गा प्रसाईंले व्यक्तिका रूपमा गर्ने कार्यक्रम एकैदिन परेको छ । प्रसाईं संविधान, गणतन्त्र, संघीयता नै फाल्नुपर्छ र राजा ल्याउनुपर्छ भनेर लागेका छन् । नेतालाई जेलमा कोच्ने र बैंकको ऋणबाट उन्मुक्ति पाउनुपर्छ भन्ने उनको माग छ । यसैले उनीसँग हाम्रो प्रतिस्पर्धा होइन र डर पनि होइन’, भट्टराई भन्छन्, ‘नागरिक अपेक्षा पूरा गर्न नसक्दा आक्रोश र वितृष्णा भएको सही हो । जनतालाई आशा जगाउन नसकिएको हो । तर, यसको सबै जवाफ सरकारले दिनुपर्छ । सरकारले नसकेकोले हामीले पनि व्यवस्था ठीक छ, व्यक्ति मात्रै खराब हुन् भन्ने सन्देश दिन ध्यानाकर्षण कार्यक्रम गर्न लागेका हौं ।’ नागरिकका देखिएको असन्तोषको दोष सरकारले लिनुपर्ने उनी बताउँछन् ।  

कांग्रेस नेता प्रदीप पौडेल कुनै व्यक्तिले व्यवस्थाका कारण नभई व्यक्तिका कारण नागरिकमा वितृष्णा बढेको बताउँछन् । 

‘जनतालाई डेलिभरी दिनमा खोट छ । सरकार, दल र नेतृत्वको पदमा हुँदा प्रभावकारी काम गर्न नसकेको सबैले मान्नुपर्छ । यसैले त्रुटि र कमजोरी सरकारको हो भनेर कुनै एक व्यक्तिले कुरा उठाउनु अस्वाभाविक होइन,’ पौडेल भन्छन्, ‘तर, दुर्गा प्रसाईंले व्यवस्थालाई दोष दिएर व्यक्तिलाई देवत्वकरण गरेका छन् । व्यवस्थालाई नै दोष दिनु भने गलत छ ।’

तर, दलहरूले बैठक गरेर एक हुन्छौं भनेर मात्रै उन्मुक्ति नपाउने पौडेलको भनाइ छ ।

‘दलहरू सच्चिनुपर्छ । प्रश्न उठ्न नदिन सरकार, दल र प्रतिनिधिले काम गर्नुपर्छ । तर, सरकार  र दलका कार्यशैलीले प्रश्न उठ्ने ठाउँ दिएको अवश्य हो । कि सच्चाउनुपर्‍यो, कि छाड्नुपर्‍यो, एजेन्डा हुनुपर्‍यो । आर्थिक संकटलाई पार लगाउने एजेन्डा ल्याउनुपर्‍यो । एक राजालाई फालेर नयाँ राजा भए भन्ने प्रश्नलाई तोड्नैपर्ने चुनौती छ,’ पौडेल भन्छन्, ‘कमजोर क्रियाशीलताले प्रश्न जन्मिए । अब ३ महिनाभित्र यति–यति काम गर्छौं भनेर जनतालाई आश्वस्त पार्नुपर्छ । राम्रो काम गरेर डराउनु पर्दैन, नगरे जोसुकै व्यक्तिले पनि सरकार र दललाई तर्साउन सक्छन् ।’

salt training

कमेन्ट गर्नुहोस्