
पुस २३ गते राष्ट्रिय सभा सदस्यमा मनोनयन दर्ता गराएपछि कृष्णप्रसाद सिटौलालाई तपाईं राष्ट्रिय सभाको अध्यक्ष बन्नेगरी गठबन्धनमा सहमति भएको हो ? भनेर सञ्चारकर्मीले सोधेका थिए । दुईपटक प्रश्न गर्दा पनि उनले ठोस जवाफ दिएनन् । बरु पछि नै थाहा पाइहाल्नुहुन्छ नि भनेर टारे ।
मनोनयन दर्ता गराउँदै गर्दा सिटौलाको अनुहार मलिन थियो । मनोनयन दर्ता गराएपछि उनी कांग्रेस कोशी प्रदेश समितिको कार्यालयमा पुगेका थिए । त्यसपछि सिटौलाले कांग्रेसकै संस्थापनइतर समूहका नेतासहित गठबन्धनका नेताहरूलाई बोलाएर छलफल गरेका थिए ।
कांग्रेस नेता शेखर कोइराला र महामन्त्री विश्वप्रकाश शर्मालाई सिटौलाले नै बोलाएर गठबन्धनका नेताहरू एकजुट भएको सन्देश दिन लगाएको कांग्रेसका नेताहरू बताउँछन् ।
उक्त छलफलमा माओवादी र नेकपा एसका नेताहरू पनि सहभागी थिए ।
‘कांग्रेसका दुवै नेता (शेखर र विश्वप्रकाश)ले शान्ति प्रक्रियामा सिटौलाले पुर्याएको योगदानबारे चर्चा गरेर जिताउन अपिल गरेपछि उहाँ (सिटौला) अहिले जिल्ला दौडाहामा हुनुहुन्छ,’ कांग्रेसका एक नेताले भने, ‘उहाँलाई अन्तर्घातको डर अझै पनि छ ।’
छलफलमा माओवादीबाट प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो सहभागी भएका थिए । शेखर र विश्वप्रकाश बोलेपछि आङ्बोलाई बोल्न आग्रह गरियो ।
‘आङ्बोले नबोल्ने भनेपछि शेखरले नै बोल्नुहोस् भन्नुभयो,’ बैठकमा सहभागी गठबन्धनका एक नेताले भने, ‘जवाफमा इन्द्रजीले तपाईंले जहाँ मत हाल्नु भन्नुभएको छ, त्यहाँ हालेकै छु त डाक्टरसाब भनेर डायलग दिनुभयो । त्यसपछि हलमा हाँसो फैलियो ।’

गठबन्धनले आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउने निर्णय गरे पनि शेखरले एमालेसँग मिलेर केदार कार्कीलाई मुख्यमन्त्री बनाएकोमा माओवादीभित्र असन्तुष्टि छ । उनले त्यही असन्तुष्टि छलफलका क्रममा व्यक्त गरेका थिए । तर, सिटौलाको हकमा माओवादीको असन्तुष्टि देखिन्न ।
सिटौलालाई अन्य दलभन्दा कांग्रेसकै संस्थापनइतर पक्षसँग डर रहेको नेताहरू बताउँछन् ।
‘अहिले नै केही भन्न सकिने अवस्था छैन,’ सिटौला पक्षका एक नेताले भने, ‘मुख्यमन्त्री (केदार कार्की) को सचिवालयले कार्कीलाई मुख्यमन्त्री बन्न नदिन सिटौलाले भूमिका खेलेको आरोप लगाउँदै मिडियाबाजी गरिरहेको सूचना पाएका छौं ।’
कोशीमा राष्ट्रिय सभाको चुनाव पछाडि सरकारको आयु के हुने भनेर छलफल हुने ती नेताले बताए ।
कोशीमा यसअघि सिटौला पक्षका उद्धव थापा मुख्यमन्त्री थिए ।
थापालाई शेखर पक्षका केदार कार्कीले विस्थापन गरेका छन् । ‘उद्धव हुँदैन भने मुख्यमन्त्री माओवादीलाई दिनुपर्छ’ भनेर सिटौलाले भूमिका खेलेको केदार कार्कीका निकटस्थहरूको गुनासो छ ।
नेताहरूका अनुसार महामन्त्री विश्वप्रकाश शर्मासँग भने पछिल्लो समय सिटौलाले सम्बन्ध सुधारेका छन् ।
मतभार हेर्दा कोशीमा सत्ता गठबन्धन बहुमतमा छ । कोशीमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला र माओवादीबाट चम्पा कार्की उम्मेदवार छन् ।
उम्मेदवारहरूले प्रदेशका १४ वटै जिल्लाका स्थानीय तहका जनप्रतिनिधिसँग भेटघाट गरिरहेका छन् । मोरङ, सुनसरी, झापा, उदयपुर, पाँचथर, इलाम र ताप्लेजुङका मतदातासँग भेटघाट गरिसकेका छन् ।
यस्तै, धनकुटा, तेह्रथुम र संखुवासभाका मतदातासँग पनि हिलेमा मंगलबार भेटेका छन् । बुधबार भोजपुर र खोटाङका मतदाता (जनप्रतिनिधि)सँग छलफल गरेर हलेसीमा बस्ने कार्यक्रम रहेको कांग्रेस कोशीका प्रचार समिति संयोजक बासु कोइरालाले बताए । त्यसपछि ओखलढुंगा र सोलुखुम्बुमा भेटघाट सकेर उम्मेदवारहरू माघ ९ गते विराटनगर आउने कार्यक्रम रहेको कोइरालाले जानकारी दिए ।

यस्तो छ अंकगणित
कोशी प्रदेशमा स्थानीय तहका २७४ (प्रमुख/उपप्रमुख) र प्रदेशका ९३ (सांसद) गरी कूल ३६७ मतदाता छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम गरिएको छ ।
प्रदेश सभाका ९३ सांसदमध्ये एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ जना छन् ।
प्रदेश सभातर्फ एमालेको २१२०, कांग्रेसको १५३७, माओवादीको ६८९, राप्रपाको ३१८, एकीकृत समाजवादीको २१२ र जसपाको ५३ मतभार छ ।
स्थानीय तहका प्रमुख र उपप्रमुखमा प्रदेशमा रहेका १३७ पालिकाका २७४ मध्ये एमालेका ११०, कांग्रेसका ११५, माओवादीका ३१, राप्रपाका ४, एकीकृत समाजवादीका ७, जसपाका ४ र स्वतन्त्र ३ जना छन् । पालिकामा एमालेको २०९०, कांग्रेसको २१८५, माओवादीको ५८९, राप्रपाको ७६, एकीकृत समाजवादीको १३३, जसपाको ७६ र स्वतन्त्रको ५७ मतभार छ ।
प्रदेशमा एमालेको कूल मतभार ४ हजार २१०, नेपाली कांग्रेसको ३ हजार ७२२ र माओवादी केन्द्रको १ हजार २७८ रहेको छ । यस्तै एकीकृत समाजवादीको ३४५, राप्रपाको ३९४, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार रहेको छ । गठबन्धन कायम रहँदा गठबन्धनको पक्षमा ५४८३ मतभार हुनेछ, जुन एमालेको भन्दा १२६४ ले बढी हो ।
स्वतन्त्रमा धरानका मेयर हर्क साम्पाङ, भोजपुरको साल्पासिलिछो गाउँपालिकाका प्रमुख दौलथ कुलुङ र ओखलढुङ्गाको माने भञ्ज्याङ गाउँपालिकाका प्रमुख ज्ञानेन्द्र रुम्दाली रहेका छन् ।
मेयर साम्पाङले कता मतदान गर्छन् भन्ने टुंगो नभए पनि अन्य दुईजनाले कहाँ मतदान गर्छन् भन्ने टुंगो लागिसकेको नेताहरूको भनाइ छ । कुलुङ एमाले र रुम्दाली कांग्रेसका बागी हुन् ।