मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
काठमाडाैं | माघ १५, २०८०
पूर्वराजा ज्ञानेन्द्र शाह सार्वजनिकरूपमा हत्तपत्त बोल्दैनन् । बेला मौकामा शब्दशब्द केलाएर वक्तव्य दिन्छन् । कहिलेकाहीँ शब्दको तौल नापजोख गरेर मात्रै उनको बोली फुट्छ ।
तर, शनिबार वीरगन्ज पुगेर भने उनले गम्भीर विषय कोट्याए । उनले अनपेक्षितरूपमा नारायणहिटी दरबार हत्याकाण्ड (२०५८, जेठ १९)बारे मुख खोले । ‘आफ्नो परिवारमाथि घातक प्रहार भएको’ गुनासो पूर्वराजा ज्ञानेन्द्रले गरे । शुरूमा हेरौं उनले के भनेका थिए ।
‘२०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालिलाग्दो र सम्झन पनि मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको थियो । हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए । सत्य सधैं सत्य हुन्छ, असत्यको विजयी कहिल्यै हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शी हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिइरहेको छौं । यो अन्यायपूर्ण मात्र होइन, दुर्भाग्यपूर्ण पनि हो,’ पूर्वराजा शाहले शनिबार वीरगञ्जमा भनेका थिए ।
ज्ञानेन्द्रको बोलीसँगै बालिग बनिसकेको एउटा पुस्ताले लगभग बिर्सिसकेको हत्याकाण्ड झन्डै २३ वर्षपछि फेरि बहसमा आएको छ । १६ औं शताब्दीका त्रासदीपूर्ण घटना बिर्साउने गरी २१औं शताब्दीमा भएको क्रूर हत्याकाण्डको वास्तविकता थाहा पाउन नेपाली जनता अहिले पनि लालायित छन् । जेठ १९ को मध्यरातमा तत्कालीन राजा वीरेन्द्रको परिवारको वंश समाप्त भएको थियो ।
वीरेन्द्रको हत्या राजकुमार दीपेन्द्रले गरेको, अचेत अवस्थाका दीपेन्द्रलाई राजा घोषणा गरिएको, केही दिनमै ज्ञानेन्द्रले राजगद्दी सम्हालेको जस्ता घटना रहस्यमयी थिए, छन् । हत्या भएका राष्ट्र प्रमुखको अन्त्येष्टिमा गरिएको हतारोले पनि त्यो घटनालाई झन् रहस्यमय बनाइदिएको थियो । कुनै पनि देशको राष्ट्रप्रमुखको अन्त्येष्टिमा विश्वका अन्य देशका राष्ट्रप्रमुख, सरकार प्रमुख या सरकारका प्रतिनिधि आउने गरेका छन् । नेपालमै पूर्व प्रधानमन्त्रीको निधनमा भारतीय नेताहरू आएका थिए ।
दरबारको निर्देशनमा कर्मकाण्डका लागि गठन गरिएको छानबिन समितिले एउटा बनावटी रिपोर्ट सार्वजनिक गरेको थियो, जसलाई जनताको अन्तरमनले पत्याएको थिएन, छैन । बरु तत्कालीन अवस्थामा भूमिगत रहेका माओवादी नेता डा. बाबुराम भट्टराईले एक पत्रिकामा लेखेको लेख (नयाँ कोत पर्वलाई मान्यता नदिऔं)का कारण जनताले एउटा धारणा बनाएका थिए । तत्कालीन अवस्थामा बाबुरामको लेख छापिएको पत्रिका हाहाकार भएपछि सय–सय रुपैयाँ तिरेर लेखको फोटोकपी बिक्री भएको थियो ।
पढ्नुहोस्, यो पनि :
दरबार हत्याकाण्डबारे बाबुराम भट्टराईको त्यो बहुचर्चित लेख : ‘नयाँ कोतपर्वलाई मान्यता नदिऔं’
दरबार हत्याकाण्डबारे जान्ने व्यग्रता जनतामा थियो । दरबारबारे लेखिएका किताब नेपालमा सर्वाधिक बिक्रीको सूचीमा परेका छन् । अहिले पनि दरबार हत्याकाण्डको प्रसंगले मानिसलाई तरंगित बनाउँछ ।
देशमा गणतन्त्र स्थापना भएको १५ वर्ष पूरा भइसक्दा पनि पूर्वराजा (राजतन्त्र होइन) वीरेन्द्र र उनको परिवारप्रति सहानुभूति राख्नेहरूको कमी छैन । दरबार हत्याकाण्डको २ दशकपछि पनि मानिसहरूले वीरेन्द्र परिवारका तस्वीर सुरक्षित राखेका छन् । सार्वजनिक यातायातमा समेत राजपरिवारको फोटो टाँसेको भेटिन्छ ।
वीरेन्द्रको शासनकालमा पनि आम जनताको जीवनस्तर खासै सुधारिएको थिएन । त्यही भ्रष्टाचार र बेथितिका विरुद्ध माओवादीले हिंसात्मक आन्दोलन शुरू गरेको थियो । किन्तु, माओवादीलाई भोट हालेका कट्टर गणतन्त्रवादी समेतले पनि पूर्वराजा वीरेन्द्रलाई असल नै भन्छन् । विभिन्न देशका कार्यक्रममा सहभागी भएर देशको प्रतिष्ठा बढाएको जस्ता कुराले आम मानिसहरूलाई छोइराखेको छ ।
यहीबीचमा ज्ञानेन्द्रले दिएको अभिव्यक्तिले नयाँ तरंग पैदा भएको छ । पक्ष/विपक्षमा बहसहरू भइरहेका छन् । सबैभन्दा कडा प्रतिक्रिया नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएका छन् । उनी ज्ञानेन्द्रमाथि नै खनिएका छन् । ‘ज्ञानेन्द्र शाह राजा होइनन्, बाहुनले टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै कुशको राजा हुन्,’ ज्ञानेन्द्रको प्रतिकारमा ओलीले भनेका छन् ।
ओलीले दरबार हत्याकाण्ड दीपेन्द्रले नगरेको समेत जिकिर गर्न भ्याए ।
‘दरबारमा राजा वीरेन्द्र र रानी ऐश्वर्यसहितलाई तत्कालीन युवराज दीपेन्द्रले आफैं मरेपछि गोली हाने ? राजा हुन लागेको एउटा मान्छेले त्यसरी आफ्नो परिवार नै सखाप पार्छ, मार्छ ? दरबारभित्र अगाडिबाट उसैले गोली हान्ने, पछाडिबाट पनि उसैले गोली हान्ने? यस्तो पनि कहीं हुन्छ ? अनि एकैजना मान्छेले तीनवटा राइफल र एउटा पेस्तोल बोकेर हिँड्न सक्छ ? यस्ता कुरा पनि पत्याउने ?’ आइतबार आफैंले अभिनय गर्न लागेको चलचित्रको शुभमुहूर्तपछि काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले भने ।
यसअघि पनि ओलीले दरबार हत्यकाण्ड छानबिनको कुरा गरेका थिए– २०७४ जेठ ३ गते ।
बल्खुस्थित एमालेको पुरानो पार्टी कार्यालयमा २४ औं मदन–आश्रित स्मृति दिवसमा ओलीले दासढुंगा र दरबार हत्याकाण्डलाई ठूला शक्तिले गरेको षड्यन्त्रपूर्ण हत्याको संज्ञा दिँदै छानबिन गर्नुपर्ने बताएका थिए । ‘मदन–आश्रित हत्याकाण्ड, दरबार हत्याकाण्डजस्ता ठूला षड्यन्त्रको रहस्य पत्ता लाग्न समय लाग्छ, तर पत्ता लाग्छ,’ ओलीले भनेका थिए ।
अनि यस्तो बेला ज्ञानेन्द्रले दरबार हत्याकाण्डको प्रसंग किन कोट्याए होलान् ? राप्रपा महामन्त्री डा. धवल शमशेर जबरा राजतन्त्रको पक्षमा जनतामा आकर्षण बढेको समयमा पूर्वराजाले दरबार हत्याकाण्डको भ्रम निवारण गर्न खोजेको तर्क गर्छन् ।
‘देशैभर राजाको ग्राफ बढ्यो, हजारौंको संख्यामा सर्वसाधारण उपस्थित भएका छन् । देशको परिस्थिति हेरेर उहाँले त्यो कुरा बोल्नुभएको हुनसक्छ,’ राणाले लोकान्तरसँग भने, ‘राजा जहाँ जान्छन्, हजारौं मानिस भेला हुन्छन्, नेता जहाँ जान्छन्, ढुंगा खाने स्थिति हुन्छ ।’
प्रतिनिधि सभाका सदस्यसमेत रहेका राणा दरबार हत्याकाण्डबारे यसअघि नै सबै कुरा आइसकेकाले अनर्थ कुरा गर्नुको औचित्य नरहेको दाबी गर्छन् । आफूलाई गणतन्त्रवादी भन्ने दलका नेताहरू राजाको माहोल देखेर डराएको उनले बताए ।
‘पूर्व प्रधानमन्त्रीले ज्ञानेन्द्रलाई कुशको राजा भन्नुबाट उनीहरू डराएको प्रस्ट हुन्छ । राजाको पक्षमा मानव सागर आउन थाल्यो, राजा आए भने त यिनीहरू देशै छाडेर भाग्नु पर्न सक्छ भनेर यस्ता अभिव्यक्ति दिएका छन्,’ ओलीको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गर्दै राणाले भने ।
नेपालमा राजतन्त्र आवश्यक रहेको ठान्ने वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने पटक-पटक प्रधानमन्त्री भएर पनि आफ्नै पार्टीका नेता मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको आरोप लगाउँदै ओलीले दरबार हत्याकाण्डबारे टिप्पणी गर्नु 'आपराधिक' रहेको बताउँछन् ।
‘यिनै राजाले प्रतिनिधिसभा पुन:स्थापना गरेको संसदमा उनीहरूले भाँडभैलो गरेको होइन ? प्रतिगमन आधा सच्चियो भनेर राजा मानेर बिन्तिपत्र चढाएको होइन ?,’ उनले भने, ‘अहिले चर्का कुरा गर्ने ? गिरिजाप्रसाद कोइरालाले ग्रान्ड डिजाइन भन्ने गर्थे, दरबार हत्याकाण्डमा अहिलेका नेताको पनि संलग्नता हुनसक्छ ।’
नेउपानेले मदन भण्डारीको हत्याको छानबिन गरेर देखाउन कम्युनिस्ट नेतालाई चुनौती दिए । ‘मदन भण्डारीको हत्यारालाई चिनेका छौं, हत्याराको घर कता फर्केको छ, त्यो पनि मलाई थाहा छ भनेर ओलीले रेडियो नेपालमा अन्तर्वार्ता दिएको मेरो कानमा अझै गुन्जिन्छ, खोइ त छानबिन गरेको ?’ उनले प्रश्न गरे ।
दरबार हत्याकाण्डको छानबिन– प्रचण्डले तीनै कार्यकालमा कुरा गरे,पूरा गरेनन्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि यही मेसोमा दरबार हत्याकाण्डको कुरा ल्याएका छन् । सोमवार बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुने गरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएका हुन् ।
सम्भवतः प्रधानमन्त्री प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको भनाइप्रति लक्षित गर्दै यसो भनेका हुन सक्छन् । प्रचण्ड र उनको पार्टी नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरू शाहको गतिविधिबाट रुष्ट छन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिएको स्पष्ट हुँदाहुँदै पनि यस व्यवस्थाका विरुद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने काम भएको भन्दै यस्तो अधिकार कसैलाई नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले कडा शब्द प्रयोग गरेका थिए ।
प्रधानमन्त्री 'प्रचण्ड'ले २०८० जेठ ४ गते पनि दरबार हत्याकाण्ड छानबिनको कुरा गरेका थिए ।
‘विगतका सबै वीभत्स र भयानक हत्याकाण्डहरूको नयाँ शिराबाट छानबिन हुनुपर्दछ । चाहे त्यो गौरको केस होस्, चाहे त्यो भयानक दरबार हत्याकाण्ड । नेपालको इतिहासकै सबैभन्दा वीभत्स हत्याकाण्डको पनि नयाँ शिराबाट छानबिन हुनुपर्दछ,’ २०८० जेठ ४ गते प्रतिनिधि सभा बैठकमा सांसद प्रभु साहले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले भनेका थिए ।
दोस्रोपटक प्रधानमन्त्री भएको समयमा (२०७३ पुस ९ गते) पनि उनले दाङको घोराही पुगेर उच्चस्तरीय आयोग बनाई दरबार हत्याकाण्ड छानबिन गर्ने बताएका थिए ।
‘मैले पहिलोपटक प्रधानमन्त्री हुने बेला नै दरबार हत्याकाण्डको छानबिन हुनुपर्छ भनेको हुँ, नारायणहिटी सर्वसाधारणका लागि खुला गर्ने क्रममा मैले जुन अभिव्यक्ति दिएको थिएँ, त्यहीअनुसार सरकारले यो हत्याकाण्डको पनि उच्चस्तरीय आयोग बनाएर छानबिन गर्छ,’ प्रचण्डले भनेका थिए ।
त्यसअघि २०६५ फागुन १४ गते नारायणहिटी दरबार संग्रहालयको उद्घाटनका दिन पनि प्रचण्डले दरबार हत्याकाण्ड छानबिनको कुरा गरेका थिए ।
‘स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारको हत्याको छानबिन सरकारले गर्छ,’ गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री प्रचण्डले भनेका थिए ।
त्यो बेला एमालेसहितको गठबन्धनमा यो विषयमा सामान्य कुराकानी भएको थियो । रुक्माङ्गत कटवाल प्रकरणपछि प्रचण्ड सरकार ढल्यो । दरबार हत्याकाण्डको छानबिनको कुरा भाषणमै सीमित रह्यो ।
दरबार हत्याकाण्डको १० दिनपछि भूमिगतकालमा माओवादी अध्यक्ष प्रचण्डले २०५८ जेठ २९ गते विज्ञप्ति प्रकाशित गरेर हत्याकाण्डमा ‘देशी, विदेशी प्रतिक्रियावादी शक्ति’को हात रहेको बताएका थिए ।
नसुल्झिएको र पत्ता नलाग्ने अर्को हत्याकाण्ड
इतिहास बनिसकेको नारायणहिटी दरबार हत्यकाण्डसँगै नेताहरूले उच्चारण गर्न नभुल्ने अर्को हत्याकाण्ड नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र जीवराज आश्रितको हत्याकाण्ड हो । तर, यो हत्यकाण्डको छानबिन हुने सम्भावना अब कमजोर बन्दै गएको छ ।
स्वयं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री तथा मदनपत्नी विद्या भण्डारी राष्ट्रपति रहेको त्यति अनुकूल समयमा समेत यस्तो रहस्यमयी हत्याकाण्डको छानबिन गरिएन । अब फेरि यो हत्याकाण्ड छानबिनको कुरा उठ्दा विश्वास गर्ने ठाउँ देखिन्न ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...