२९ जेठ २०८३, शुक्रबार

आकाशवाणी हुँदै इन्टरनेटसम्म टेलिकमको यात्राः मोबाइलमा लाग्थ्यो इनकमिङ चार्ज ६ रुपैयाँ

माघ २५, २०८०
काठमाडौं
आकाशवाणी हुँदै इन्टरनेटसम्म टेलिकमको यात्राः मोबाइलमा लाग्थ्यो इनकमिङ चार्ज ६ रुपैयाँ

दूरसञ्चार सेवाको क्षेत्रमा वर्षौंदेखिको इतिहास बोकेको मोहन आकाशवाणीको नामले नेपालमा आधारभूत टेलिफोनमार्फत दूरसञ्चार सेवा सुचारू गर्दै हेडअफिस, कार्यालय, विभाग र संस्थान हुँदै हाल नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले भर्खरै २० औं वार्षिकोत्सव मनाएको छ ।

'राष्ट्रको सञ्चार' भन्ने मूल नारासहित नेपाल टेलिकम अहिले नेपालीको मानसपटलमा अवस्थित छ । नेपाल टेलिकमले दाबी गरेअनुसार हाल नेपालमा विद्यमान दूरसञ्चार सेवाप्रदायकहरूमध्ये नेपाल टेलिकम मात्र त्यस्तो सेवाप्रदायक हो जसले विश्वमा प्रचलित विविध प्रकारका प्रविधिमार्फत सेवामुखी भई सुलभ सेवा देशभरका कुनाकाप्पामा उपलब्ध गराउँदै आएको छ ।

प्रत्येक नेपालीको आवश्यकता र चाहनालाई मध्यनजर गरी दूरसञ्चार सेवामा विकास भएको प्रविधिलाई आत्मसात् गर्दै देशको समग्र विकासमा महत्वपूर्ण योगदान पुऱ्याउँदै आएको टेलिकम दाबी गर्छ ।

२० औं वार्षिकोत्सव मनाउने क्रममा गत माघ २२ गते विमोचन गरिएको स्मारिकामा एक लेख लेख्दै सहायक व्यापार अधिकृत वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय अरविन्द लाल कर्ण भन्छन्, 'राष्ट्रको सूचना प्रविधिको क्षेत्रमा विकासको फड्को मारेको अनुभूति गराउने यस कम्पनीले आफ्नो शतकभन्दा बढीको गौरवमय इतिहास पुराना प्रविधिहरूलाई विस्थापित गर्दै दूरसञ्चार क्षेत्रमा विकसित राष्ट्रहरू झै अत्याधुनिक सेवासुविधाहरू उपलब्ध गराउन सफल भएको छ ।'

अहिले नेपाल टेलिकमले voice  सेवा GSM, CDMA, PSTN  तथा डाटा सेबा 2G, 3G, 4G/LTE, FITH, EVDO, WIMax, ADSL  अन्तर्गत विभिन्न सेवाहरू सञ्चालनमा छन् । 'आफ्नो स्थापनाकालदेखि विभिन्न अभियान, परिकल्पना तथा उद्देश्य लिई अघि बढेको यस संस्थाले आज एउटा प्रगतिशील संस्थाको रूपमा ग्राहकवर्गको हित तथा सेवामा समर्पित रही नेपालभरि भरपर्दो, सस्तो र सर्वसुलभ दूरसञ्चार सेवाहरू उपलब्ध गराएको छ,' कर्णको दाबी छ ।

सहायक लेखा अधिकृत अच्युत कुमार ओझा भन्छन्, 'नेपाल टेलिकमले आधुनिक दूरसञ्चार सेवाको विकास, बिस्तार र सुपथ मूल्यमा गुणस्तरीय सेवा दिएको छ भने राष्ट्रिय पूँजी निर्माण र सर्वसाधारणमा लगानीका अवसर पनि ल्याएको छ ।'

टेलिकमले रोजगारीको अवसरसँगै सरकारको राजश्वमा योगदान दिएको छ भने ग्रामिण क्षेत्रमा दूरसञ्चार विकाससँगै संस्थागत सामाजिक उत्तरदायीत्व पनि टेलिकमले लिएको उनको दाबी छ ।

नेपाल दूरसञ्चार संस्थानका पूर्व महाप्रबन्धक चेतप्रसाद भट्टराई आफ्नो कार्यकालमा मोबाइल सेवा शुरुवात गर्न ठूलो संघर्ष गरेको स्मरण गर्छन् ।

'२०५६ सालमा शुरू गरिएको मोबाइल सेवामा एक लाइन मोबाइल लिन सेटसहित ४९ हजार ५ सय रुपैयाँ तिर्नुपर्थ्यो । त्यतिबेला फोन गरेको आउटगोइङ १० रुपैयाँ प्रतिमिनेट र इनकमिङ चार्ज ६ रुपैयाँ प्रतिमिनेट थियो,' भट्टराईले स्मारिकामा लेखेका छन् ।   

उनका विसं २०२२ देखि आकाशवाणीलाई माइक्रो वेभ प्रणालीले विस्थापन गर्ने प्रोजेक्ट शुरू भइसकेको थियो तर प्रविधिको कमीले योजना कार्यान्वयन भएको थिएन । त्यतिबेला क्रसबार भन्ने एनालग एक्सचेन्ज थियो । त्यस्तै सीबी एक्सचेन्ज थियो, यताबाट उठाएपछि अपरेटरकोमा बत्ती बल्थ्यो र अपरेटरले उता जोडिदिएपछि दोहोरो संवाद हुन्थ्यो ।

उनी भन्छन्, 'प्राय सबै जिल्लामा आकाशवाणी थियो, टेलिफोन काठमाडौँ बाहिर विरातानागारा, वीरगंज जस्ता केही ठूलो सहरमा मात्र थियो ।'

दक्षिण एसियामध्ये सबैभन्दा पहिला मोबाइल सेवा बंगलादेशमा शुरू गरिएको उनले स्मरण गर्दै भन्छन्, 'म महाप्रबन्धक भएको बेला विश्व बजारमा मोबाइल फोनको प्रचलन शुरू भयो । दक्षिण एसियाली देशमध्ये बंगलादेशमा मोबाइल प्रविधि निकै चाँडो गरी फैलिँदै थियो । अब नेपालमा पनि मोबाइल सेवाको शुरुवात गर्न ढिला गर्नुहुँदैन भनी मैले सिनियर म्यानेजमेन्टमा कुरा राखें । सबै साथीहरू सकारात्मक देखिनुभयो ।'

उनले ग्लोबल टेन्डर आह्वान गरेपछि मोटोरोला, अल्काटेल र नटेल नामका कम्पनीले चासो देखाएको बताए । तर पछि इजरायली कम्पनी तेलेराडलाई मोबाइल सेवा बिस्तार गर्न दिइयो ।

उनका अनुसार पहिलो चरणमा काठमाडौँमा १० वटा बीटीएस टावर जडान गरियो । २०५६ वैशाख १ गतेदेखि परीक्षण शुरू गरियो । त्यसयता ननस्टप रूपमा नेपाल टेलिकमले अत्याधुनिक प्रविधिका साथ निकै सुपथ मूल्यमा दूरसञ्चार सेवा दिइरहेको छ ।

२०६० सालमा अहिलेको नेपाल टेलिकम भन्ने संस्था खडा गरियो । सोही दिनलाई स्थापना दिवस मानेर टेलिकमले वार्षिकोत्सव मनाइरहेको छ ।

वार्षिकोत्सवमा कसले के भने ?

माघ २२ गते आयोजित २० औं वार्षिकोत्सवमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकास, विस्तार र प्रयोगमा कम्पनीले पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको बताइन् ।

सूचना प्रविधिको आधारभूत पूर्वाधार दूरसञ्चार भएको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्, ‘सरकारको डिजिटल नेपालको अवधारणा कार्यान्वयनका लागि अप्टिकल फाइबर विस्तार गरी सूचना महामार्ग निर्माण, मुलुकका सबै क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच र गुणस्तर वृद्धि गर्नेतर्फ नेपाल टेलिकमका कार्यक्रम लक्षित छन् ।’

नेपाल टेलिकमबाट वितरण भएका सम्पूर्ण सेवालाई नमूना दूरसञ्चार सेवाको रूपमा विकास गर्न यस वर्ष १९ जिल्ला छनोट गरिएको मन्त्री शर्माले जानकारी दिइन् । छनोट भएका जिल्लामा पूर्वाधार विस्तार, सेवाको पहुँच तथा गुणस्तर, मर्मत सम्भार र वितरण प्रभावकारी बनाउने व्यवस्था मिलाइएको उनले बताइन् ।

कार्यक्रममा मन्त्रालयलका सचिव एवं कम्पनीका अध्यक्ष रामकृष्ण सुवेदीले नेपाल टेलिकमले राष्ट्र र जनताका लागि पुर्‍याएको सेवाको सराहनीय रहेको भन्दै प्रतिस्पर्धी युगमा आफ्ना सेवा थप गुणस्तरीय र सुलभ बनाउने चुनौती रहेको बताए । उनले टेलिकमले नाफासँगै सेवालाई पनि थप गुणस्तरीय बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए । आफ्ना सेवाको विस्तारमार्फत सरकारको डिजिटल नेपालको अवधारणामा सहयोग गर्नुपर्ने उनले उल्लेख गरेका थिए ।

नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष नवराज अधिकारीले नेपालको दूरसञ्चार क्षेत्रको विकासमा टेलिकमको उच्च भूमिका रहेको बताए । यस्तै प्रविधिमा छिटोछिटो हुने विकाससँगै देखा परेका चुनौतीको सामना गर्न कम्पनी तयार रहिरहनुपर्नेमा जोड दिए ।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले संस्थाका गतिविधि र भावी कार्यक्रमबारे जानकारी गराइन् । स्थापनाको शुरुआती वर्षमा कम्पनीको ग्राहक आधार करीब ४ लाख २२ हजार रहेकोमा अहिले २ करोड १८ लाखभन्दा बढी रहेको जानकारी उनले दिइन् । ‘मुलुकका अधिकांश भूभागमा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ,’ उनले भनिन्, ‘कम्पनीले मुलुकका ७७ ओटै जिल्लामा ताररहित फोजी/एलटीई प्रविधिमा आधारित मोबाइल र डेटा सेवा तथा ७४ जिल्लामा अप्टिकल फाइबरमा आधारित एफटीटीएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधार निरन्तर बढ्दै गएको छ ।’

कम्पनीले आधारभूत टेलिफोन, ताररहित जीएसएम मोबाइल, अति दुर्गम विकट स्थानमा भीस्याट प्रविधिमा आधारित सेवा, इन्टरनेट/डेटा सेवा तथा अन्य धेरै प्रकारका सेवा उपलब्ध गराउँदै आएको उनले जानकारी दिइन् ।

आगामी दिनमा फोरजी सेवा विस्तार र फाइभजी समेत परीक्षणपश्चात् विस्तार गर्ने कम्पनीको योजना रहेको उनले बताइन् । वार्षिकोत्सवको अवसरमा विभिन्न कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको थियो भने टेलिकम क्षेत्रको विविध विषयलाई समेटेर प्रकाशन गरेको स्मारिका विमोचन गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्