
सञ्जय लोध रूपन्देहीको मायादेवी गाउँपालिकास्थित सुण्डी माविमा कक्षा ९ मा पढ्छन् । गाउँमै कृषि गर्ने सञ्जयको परिवारलाई सामुदायिक विद्यालयमा पढ्ने छोरोको सामान्य पढाइ खर्च जुटाउन पनि समस्या छ ।
पढाइमा लगनशील सञ्जलले विद्यालयमा उत्कृष्ट भएबापत् पुरस्कार स्वरूप भैँसी पाए । आर्थिक अभाव झेलिरहेको परिवारमा सञ्जयले भैँसी पुरस्कार पाएपछि हर्ष थपिएको छ । सञ्जयका बाबा विजय लोध भन्छन्, ‘छोरोले ल्याएको भैँसीको दुध खान्छौं, केही बेच्छौं पनि । जसबाट आउने आम्दानीले छोरालाई पढाउन पनि सजिलो हुन्छ ।’

विद्यालयकै विद्यार्थी मनिषा भैँसी पाउने अभिलाषाले पढ्ने मनोबल पनि बढेको बताउँछिन् । सञ्जय र मनिषाजस्ता धेरै विद्यार्थी विद्यालयमा पढ्छन् । विद्यालयले विद्यार्थीको मनोबल र परिवारको आयस्तर पनि बढाउन विद्यालयले भैँसी उपहार दिन थालेको हो । विद्यालयले भैँसी पुरस्कार दिने भएपछि अभिभावकमा पनि आफ्ना छोराछोरी उत्कृष्ट बनाउने प्रतिस्पर्धा चलेको छ । यो वर्ष विद्यार्थीहरूले दुधालु, ब्याउने र पाडी गरेर १० वटा भैँसी विद्यार्थीले पाएका छन् ।

विद्यालयका प्राधानाध्यापक शतिशचन्द्रमणि त्रिपाठीले विद्यालय र पढाइप्रति लगाव बढाउने उद्देश्यले भैँसी पुरस्कार बाँड्ने कार्यक्रम निकै प्रभावकारी भएको बताए । विद्यालय ४ वर्षदेखि भैँसी वितरण गर्दै आएको छ । ‘तराई मधेशका विद्यार्थीहरू पढाइभन्दा काममा बढी ध्यान दिन्छन् । अभिभावको ध्यान पनि बढी काममै हुन्छ,’ प्रअ त्रिपाठीले भने, ‘यो कार्यक्रमले विद्यार्थी पढाइप्रति ध्यान दिएका छन् ।’
जिल्लाको दक्षिणी क्षेत्रका अधिकांश जनताको जिविको पार्जनको माध्यम कृषि र पशुपंक्षी हो । प्रायः गरिबीको रेखामुनि रहेका परिवारका छोराछोरी पढ्ने विद्यालयमा गरिबीकै कारण धेरैले बीचमै विद्यालय छाड्ने गर्छन् ।
अध्ययनलाई बेवास्ता गरेका विद्यार्थीहरूलाई समेत भैँसी पाउने अभिलाषाले पढ्ने प्रेरणा थपेको उनी बताउँछन् ।

विद्यालयले आयोजना गरेको पुस्तक समीक्षा प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरूलाई भैँसी पुरस्कार दिइएको हो । पाँच वटा कक्षा समूह बनाएर प्रतिस्पर्धा गराइएको प्रतियोगितामा ७३२ जना विद्यार्थी सहभागी थिए । हरेक समूहबाट सात/सातजनालाई पुरस्कार वितरण गरिएको थियो । जसमा प्रत्येक समूहको पहिलो र दोस्रो हुने विद्यार्थीले भैँसी तथा अन्यले नगद पुरस्कार पाएका हुन् ।
हरेक वर्ष पुस्तक समीक्षा प्रतियोगिता आयोजना गर्दै विद्यालयले भैँसी पुरस्कार दिने गर्दै आइरहेको छ । अहिलेसम्म ४० विद्यार्थीले भैँसी लगिसकेका छन् । दक्षिण कोरियाका पर्वतारोही उम् होङ गिल र उनका सहयोगीले पुरस्कारबापत सहयोग रकम विद्यालयलाई उपलब्ध गराउँदै आएका छन् । भैंसी पुरस्कार पाउन कक्षामा उत्कृष्ट भएर मात्र पुग्दैन । लेखन सीप, पठनशैली र सिर्जनात्मक क्षमता बढाउनुपर्छ । सिर्जनात्मक विद्यार्थी छान्न हरेक वर्ष विद्यालयले फरक–फरक प्रतियोगिता गरेर पुरस्कृत गर्ने गरिएको प्रअ त्रिपाठीको भनाइ छ ।

विद्यालयमा १ हजार विद्यार्थी अध्ययनरत छन् । वि.स.२०२० सालमा स्थापित विद्यालय ८ वर्षअघिसम्म अन्य सामुदायिक विद्यालयजस्तै भौतिक पूर्वाधारविहीन थियो । पूर्वाधारविहीन विद्यालयलाई दक्षिण कोरियाका पर्वतारोही उम होङ गिल र उनका सहयोगीले परोपकारी काम थालेपछि विद्यालयको मुहार फेरिएको हो । ५ करोड रूपैयाँभन्दा बढीको लगानीमा २ तले आधुनिक विद्यालय भवन तयार गरिदिएका छन् । भैंसी पुरस्कारको रकम उनीहरूले नै जुटाइदिएका हुन् ।