२६ जेठ २०८३, मंगलबार

सहकारीबाट झण्डै १३ लाख चोरी, सीसी क्यामराको डिभाइस पनि गायब

फागुन १६, २०८०
विराटनगर
सहकारीबाट झण्डै १३ लाख चोरी, सीसी क्यामराको डिभाइस पनि गायब

मोरङको लेटाङमा रहेको एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाको झण्डै १३ लाख रुपैयाँ चोरी भएको छ । लेटाङ नगरपालिका– २ फडानीमा मुख्य कार्यालयबाट ८ लाख ९० हजार ४ सय ४५ रुपैयाँ र खैरेनीमा रहेको शाखा कार्यालयबाट ३ लाख ९० हजार ५ सय ८५ रुपैयाँ चोरी भएको सहकारीका अध्यक्ष हेरम्भराज भट्टराईले जानकारी दिए । उनका अनुसार मुख्य कार्यालय र शाखा कार्यालयबाट गरेर १२ लाख ८१ हजार ३० रुपैयाँ चोरी भएको छ । 

सहकारीमा चोरी भएको समय खुल्न नसकेको र बुधवार बिहान मात्रै घटनाका बारेमा थाहा भएको अध्यक्ष भट्टराईको भनाइ छ । मुख्य कार्यालयभित्र तीनवटा गेट रहेका छन् ।  ‘एउटा गेटमा ४ वटासम्म ताला लगाइएको थियो,’ उनले भने, ‘सबै गेटको ताला फोडेर लगेको पाइएको छ । ‘सेफलक’ तोडेर रकम लगेको उनले बताए ।  चोरीमा संलग्नले ताला नै लिएर गएको उनको भनाइ छ । 

सहकारी प्रवेश गर्ने मुख्यसहित चारवटा गेटमध्ये मुख्य गेट छाडेर चोरीमा संलग्न व्यक्ति पर्खाल नाघेर सहकारीमा छिरेको उनले बताए । ‘एउटामा ४ वटासम्म ताला लगाएर गेटलाई दह्रो बनाइएको थियो । तर, ती सबै ताला तोडेर चोरी भएको छ । घटना निक्कै शंकास्पद छ । अनुसन्धानका लागि प्रहरीमा निवेदन दिएका छौ,’ उनले भने ।

सहकारीको पछाडि साइरनसहितको ताला भएको गेट पनि थियो । चोरीमा संलग्नले उक्त गेटलाई भने नचलाएको अध्यक्ष भट्टराईको भनाइ छ । 

उनका अनुसार शाखा कार्यालयमा भने ताला तोडेर मूल ढोका तथा चेन गेट फोड्दैभित्र छिरेर चोरी गरेको पाइएको छ । सहकारीमा गत वर्ष पनि चोरीको प्रयास भएको उनले बताए ।  

चोरीमा संलग्नले सीसीटीभी क्यामेराको डिभाइस नै लिएर गएको प्रहरीको भनाइ छ । चोरीमा संलग्नलाई पहिचान गरेर पक्राउ गर्नका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ । 

घटनाको प्रकृति हेर्दा सहकारीका बारेमा सबै जानकारी राख्नेले नै चोरी गरेको हुनसक्ने प्रहरीको अनुमान छ । इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) भीमलाल ओली नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्