२७ असार २०८३, शनिबार

राष्ट्रसंघद्वारा रोहिङ्ग्या शरणार्थीका लागि ८५ करोड डलर माग

चैत १, २०८०
काठमाडौं
राष्ट्रसंघद्वारा रोहिङ्ग्या शरणार्थीका लागि ८५ करोड डलर माग

जेनेभा - संयुक्त राष्ट्रसङ्घले बुधबार बङ्गलादेशका शिविरहरूमा रहेका धेरै रोहिङ्ग्या शरणार्थीका लागि सहयोग बढाउन आह्वान गरेको छ । शिविरमा पैसाको अभावले धेरै मानिस पर्याप्त खाना वा अन्य सहयोगबाट वन्चित छन् । 

सङ्कटका लागि आफ्नो वार्षिक प्रतिवेदनमा राष्ट्रसङ्घले बङ्गलादेशमा अधिकांश मुस्लिम रोहिङ्ग्या शरणार्थीहरू र उनीहरूलाई आतिथ्यता प्रदान गर्ने समुदायलाई यस वर्ष अत्यावश्यक सहयोग प्रदान गर्न ८५ करोड २४ लाख डलरका लागि अपिल गरेको छ ।  

बङ्गलादेश अधिकांश राज्यविहीन अल्पसङ्ख्यक रोहिङ्ग्याका करिब १० लाख सदस्यको घर हो । यीमध्ये धेरै मानिस सन् २०१७ मा म्यान्मामा सैन्य कारवाहीपछि भागेका थिए । म्यान्मामा लगातार द्वन्द्व भइरहेको छ । 

राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसीआर) ले बङ्गलादेशमा करिब ९५ प्रतिशत रोहिङ्ग्या परिवार असुरक्षित मानिएको र उनीहरू मानवीय सहयोगमा निर्भर रहेको एक विज्ञप्तिमा जनाएको छ । 'म्यान्मामा द्वन्द्व बढ्दै गएपछि बङ्गलादेशसँग अन्तर्राष्ट्रिय ऐक्यबद्धता र शरणार्थीको सुरक्षा पहिलाभन्दा धेरै नै आवश्यक छ,' विज्ञप्तिमा भनिएको छ । 

गत वर्ष राष्ट्रसङ्घ र उसका सहयोगी मुलुकहरूले रोहिङ्ग्या शरणार्थी सङ्कटमा फसेका मानिसको सहयोगका लागि ८७ करोड ६० लाख डलर प्रदान गर्ने बताएका थिए । यद्यपि अन्त्यमा अनुरोध गरिएको रकमको आधा अर्थात ४४ करोड डलर मात्र प्रदान गरियो । 

धेरै हदसम्म मानवीय सङ्कट अन्तर्राष्ट्रिय चर्चाबाहिर भएकाले युएनएचसीआरले हालैका वर्षहरूमा महत्त्वपूर्ण कोषको कमीले ‘गम्भीर असर’ परेको चेतावनी दिएको छ । धेरै शरणार्थीले आफ्ना आधारभूत आवश्यकता पूरा गर्न सङ्घर्ष गरिरहेको भन्दै युएनएचसीआरले ‘तत्काल दिगो सहयोग आवश्यक रहेको’ बताएको छ । 

सहयोग प्राप्त गर्ने शरणार्थी जनसङ्ख्यामा ७५ प्रतिशतभन्दा धेरै महिला तथा बालबालिका रहेको भन्दै राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीले उनीहरूले ‘दुर्व्यवहार, शोषण र लिङ्गमा आधारित हिंसाको बढ्दो जोखिम’ को सामना गरिरहेको चेतावनी दिएको छ । 

'शिविरहरूमा आधाभन्दा धेरै शरणार्थी १८ वर्षभन्दा कम उमेरका छन्, उनीहरू शिक्षा, सीप निर्माण र जीविकोपार्जनको सीमित अवसरहरूबीच बाँचिरहेका छन्,' विज्ञप्तिमा भनिएको छ । सङ्कटका लागि राष्ट्रसङ्घको नेतृत्वको संयुक्त प्रतिक्रिया योजनाले एक सय १७ साझेदारलाई एक ठाउँमा ल्याएको छ र यसमा करिब आधा बङ्गलादेशी सङ्गठन छन् । 

उक्त योजनाको लक्ष्य रोहिङ्ग्या समुदायका करिब तीन लाख ५० हजार मानिसका साथै कक्स बजार शिविरहरू र भासन चार द्वीपमा रहेका करिब १० लाख रोहिङ्ख्या शरणार्थीलाई सहयोग गर्नु हो । उक्त रकमको प्रयोग खाना, आश्रय, स्वास्थ्य सेवा, पेयजलमा पहुँच, सुरक्षा सेवा, शिक्षा र अन्य सहयोगका लागि गरिने राष्ट्रसङ्घले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्