१२ साउन २०८३, मंगलबार
सहकारी ठगी प्रकरण

गगन–रवि आमनेसामने !

चैत ११, २०८०
काठमाडौं
गगन–रवि आमनेसामने !

कुनै समय डा. स्वर्णिम वाग्ले आफूनिकट हुँदा नवोदित दल रास्वपाप्रति कांग्रेस महामन्त्री गगन थापा नरम देखिएका थिए । २०७९ को निर्वाचन र त्यसपछि २०८० वैशाखको उपनिर्वाचन नआउँदासम्म पनि गगन रास्वपाप्रति नरम नै थिए । तर, कुनै समय गगन निकटका वाग्ले रास्वपा प्रवेश गर्दै उपनिर्वाचनमा तनहुँ– १ बाट उम्मेदवारी दिएपछि थापा रास्वपा र यसका सभापति रवि लामिछानेविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुन थालेका छन् ।

पछिल्लोपटक २१ फागुनमा सरकारको समीकरण फेरबदलपछि गगन र रवि आमनेसामने नै देखिएका छन् । यस्तो आमनेसमाने बन्नुपर्ने परिस्थितिमा जोडिएको छ, सहकारी ठगी प्रकरण । 

सुप्रिम, सूर्यदर्शन सहकारीसहितबाट अर्बौं रुपैयाँ ठगीको विषयले गगन र रवि आमनेसामने भएका हुन् । ‘नक्कली खाता खोलेर सहकारी पीडितको एक करोड लिने रवि लामिछाने कानूनी दायरामा आउनुपर्छ,’ भन्दै श्रृंखलाबद्ध प्रस्तुति दिएका थापालाई रविले पनि काउन्टर दिएका छन् । गगनले जितेकै काठमाडौं– ४ मा बहस गरौं भन्दै रविले चुनौती दिएका हुन् ।

आफूले ठगी नगरेको भन्दै रविले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाईंहरूले भनेको दिन, स्थान एवं समयमा तपाईंहरू र म सार्वजनिक बहस गरौं । त्यो बहस काठमाडौं–४ मा भए राम्रो । म एक्लै आउँछु, तपाईं आफ्ना विज्ञ, पार्टीका सम्पूर्ण प्रभावशाली नेता र तपाईंले ममाथि लगाएका सारा आरोप पुष्टि गर्ने सम्पूर्ण प्रमाण बोकेर आउनुहोला ।’

null

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी काठमाडौं– ४ मा होइन, सहकारीबाट ठगिएकाको सवालमा चितवन, पोखरा र काठमाडौंमा बहस गर्नुपर्ने बताउँछन् । 

‘दुःखले सर्वसाधारणले जम्मा गरेको पैसा लगेर डुबाउने, टेलिभिजन खोल्ने भनेर गैरकानूनी रूपले अपचलन गरिएको पैसाको हिसाबकिताब खोज्न बहस जहाँ गर्नुपरे पनि हामी सबै तयार छौं,’ गगन निकटका नेता सिवाकोटीले भने, ‘यसैले सहकारी पीडितको पैसा खाएर ठूला कुरा गर्न सुहाउँदैन । सहकारीपीडितसँग सिधा कुरा गर्न उहाँ तयार भए समस्या समाधान हुन्छ ।’ 

आमनेसामनेभन्दा पनि यो गम्भीर ठगीको विषय भएको उनी बताउँछन् । 

गत निर्वाचनमा रविको रास्वपाले काठमाडौंमा अन्य क्षेत्रमा उम्मेदवारी दिएर कायम राखेको थियो । तर, गगन उठेको काठमाडौं– ४ मा भने रास्वपाले अरुण श्रेष्ठलाई फिर्ता गराएको थियो । यसपछि धेरैले थापाको भित्री समझदारी रविसँग भएको दाबी गरेका थिए । थापाले आफू तराई झरेर आफ्नो ठाउँमा डा. स्वर्णिमलाई उठाउने तयारी गरेका थिए । तर, देउवाले स्वर्णिमलाई टिकट दिएनन् । यसैले थापासँग निकट सम्बन्ध भएका वाग्ले रास्वपातिर लागेर रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली भएको तनहुँ– १ बाट उपनिर्वाचन जिते । त्यससपछि भने गगन रास्वपा र रविप्रति थप आक्रामक भइरहेका छन् । 

गगनले रवि सहकारी प्रकरणमा जोडिएको विषय गम्भीर ठगी भएको बताउँदै आएका छन् । 

‘सय जनाले नक्कली खाता खोलेर १ अर्ब ३५ करोड अपचलन गरेको रिपोर्ट छानबिन प्रतिवेदनको ७८ औं पृष्ठमा उल्लेख छ । यसरी नक्कली खाता खोल्नेमध्ये एक नाम हो, रवि लामिछाने । माननीय रवि लामिछाने गृहमन्त्री हुनुहन्छ । भोलि प्रधानमन्त्री बन्नुहोला, यो अलग विषय हो, शुभकामना छ,’ थापाले ५ चैतमा प्रतिनिधिसभा बैठकमा रविबारे आक्रामक अभिव्यक्ति दिँदै भने, ‘तर रवि लामिछाने सहकारीको सदस्य हुनुहुन्न । एक करोड लिनुभएको छ । हाम्रो कानूनको दफा ५० ले यो गैरकानुनी छ भन्छ ।’

गगन यत्तिमै रोकिएनन्, गोर्खा मिडिया खोल्दा जिबी राईसँग मिलेर सहकारीमा सर्वसाधारणले जम्मा गरेको अर्बौं रुपैयाँ घोटाला भएको भन्दै गगनले रविलाई छाडे उस्तै प्रकृतिका सयौंलाई छाड्नुपर्ने तर्कसंगत प्रश्न उठाए । 

‘रविको स्पष्टीकरण सुनें । लगिएको छैन भनिएको छ । एक सुक्का पनि लिन पाइँदैन । सुप्रिमबाट एक करोड लगिएको छ । एक करोड लगिएको तमसुक कम्पनी रजिष्ट्रारको कार्यालयमा छ । प्रमाणको रूपमा आएको तमसुक गैरकानूनी छ,’ थापाले थपे, ‘यसरी करोड हो भैहाल्यो, ठूलो मान्छे हो, यसलाई छाड्दिऊँ भन्ने हो भने करोड होइन, अरब होइन, खरब रुपैयाँ छोड्नुपर्छ । सयजना मानिसकै रिपोर्ट पढें । यदि यस्तै मान्ने हो भने सयजना मानिसले एक अर्ब लगेको प्रकृति ठ्याक्कै यही हो ।’

लोकप्रिय र शक्तिशाली जो भए पनि घण्टी र रुख भनेर छाड्न नहुने उनले बताए । 

‘शरणार्थी प्रकरणको विषयमा खुट्टा नकमाऊ भनेर रोस्ट्रमबाट बोलेको हुँ । सुन तस्करी छानबिनका लागि आयोग बनाउने कुरामा साथ दिएको हुँ । अख्तियारले अनुसन्धन गरेको मन्त्रीलाई घर पठाऊ भनेको थिएँ’, थापाले सोमबारको संसद् बैठकमा भने, ‘सत्तापक्षबाट कसैले भन्नुहुनेछ, टेरामक्स, एनसेल, सहकारी, सुनकाण्डमा एक जनाले पनि उन्मुक्ति नपाओस्, रुखको छहारीमुनि बसेको होस् कि घाम ताप्ने या घण्टी बजाउने होस् ।’

null

गगनले संसदमा आफ्नै आँखा अगाडि उछित्तो काडेपछि रविले सोही दिन संसद्बाट बाहिरिँदै कांग्रेसले चार वर्ष सदन अवरुद्ध गरे पनि सरकार चलाएर देखाइदिने चेतावनी दिए ।

त्यसपछि शनिबार रविले अन्त नबोल्न, सिधै बहसमा बोलाउन माग गरेका हुन् । 

‘मेरो यो प्रस्तावको जवाफमा तपाईंहरूले कहीँ कतै, केही लेख्न, बोल्न पर्दैन । दायाँ–बायाँ केही कुरा नगर्नु होला । बस्, तपाईं मलाई यत्ति मात्र भन्नुस्, म कहिले कहाँ तपाईंका आरोपहरूको जवाफ दिन आऊँ ?’ रविले लेखेका छन् ।

गोर्खा मिडिया खोल्दा सूर्य दर्शन सुप्रिमसहितका सहकारीबाट ५० औं करोड गोर्खा मिडियाको नाममा ठगी गरिएको भन्दै अनुसन्धानका लागि कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ । 

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले हजारौं नागरिक ठगिएको विषयलाई रवि लामिछानेले अनावश्यक रूपमा राजनीतिक रङ दिएको बताउँछन् । 

‘गगनजीले नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँण, सुनकाकाण्ड, एनसेलदेखि विभिन्न अभियोगमा छानबिनमा तानिएका आफ्नै मन्त्रीलाई पनि अनुन्धान गर भनेर सत्तापक्षमा हुँदा र विपक्षमा हुँदा पनि एकनासले उठाउनुभएको छ,’ वाग्लेले लोकान्तरसँग भने, ‘तर आर्थिक अपचलनलाई राजनीतकि रंग दिएर गगनसँग रवि आरोप प्रत्यारोपमा उत्रिँदैछन् । मुख्य इस्युलाई डाइभर्ट गर्न, आफ्नो कमजोरीलाई लुकाउन नेता विशेषविरुद्ध केन्द्रित हुनुभएको छ । सुशासन र स्वार्थ बाझिने विषय आफूले उठाउँदा सही अरूले उठाउँदा राजनीतिक ढाल बनाउनु अनैतिक हो ।’ 

रवि निर्दोष भए संसदीय समिति बनाएर क्लिनचिट लिन लाग्नुपर्ने वाग्लेले बताए ।

‘रविका बारेमा अख्यिारप्राप्त निकायले अनुसन्धान गर्नुपर्छ । यो राजनीतिक बहसको विषय होइन, अनुसन्धनको विषय हो,’ उनले भने, ‘यो विषयलाई अरू सत्तारुढ पार्टीले पनि गम्भीरतापूर्वक लिनुपर्छ ।’ 

सीआईबीले सहकारी प्रकरणमा आफ्नो मन्त्रीमाथि छानबिन गर्नै नसक्ने उनी बताउँछन् । 

‘सहकारी प्रकरणमा नाम मुछिएपछि गृहमन्त्री रविलाई सीआईबीले छानबिन गर्न सक्दैन । यसका लागि संसदीय समिति छानबिन समिति गठन गर्नु स्वाभाविक हो,’ वाग्लेले भने, ‘प्रश्न उठेपछि संसदीय समिति रामशरण महत र जनार्दन शर्माको पालामा बनेको थियो ।’

salt training

कमेन्ट गर्नुहोस्