२२ जेठ २०८३, शुक्रबार
असफल बन्दै सत्ता जोगाउने अन्तिम अस्त्र

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई राप्रपाले विश्वासको मत नदिने, नाउपा विवादले सरकार ढल्ने निश्चित

विश्वासको मतअघि नै राजीनामा दिने तयारीमा मुख्यमन्त्री
चैत २१, २०८०
धनगढी
सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई राप्रपाले विश्वासको मत नदिने, नाउपा विवादले सरकार ढल्ने निश्चित

सत्ता जोगाउने दौडधुपमा रहेका सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको अन्तिम अस्त्र पनि असफल देखिएको छ । अल्पमतमा परेको एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्थाअनुसार शाहले बिहीवार (यही चैत २२ गते) बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । 

‘मुख्यमन्त्रीले यही चैत २२ गते बिहीवार दिउँसो ३ बजे बस्ने बैठकमा विश्वासको मत लिनुहुने भएको छ । पत्र आएपश्चात् हामीले आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेका छौँ,’ प्रदेशसभा सचिव देवबहादुर बोगटीले भने ।

null 

मुख्यमन्त्री शाहलाई बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक हुन्छ । सुदूरपश्चिम प्रदेशसभामा रहेका मुख्यमन्त्रीको दल नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक र एक स्वतन्त्र सदस्यको समर्थन जुटाएर विश्वासको मत पुर्याउने रणनीतिमा मुख्यमन्त्री रहेका छन् ।

शाह सरकार ढल्ने निश्चित 

त्यसो त मुख्यमन्त्री शाहले सरकार टिकाउनकै लागि प्रदेशसभामा सात सदस्य रहेको नाउपाका पाँच जनालाई मन्त्री बनाएका थिए । यस्तोमा पनि उनले नाउपाबाट विश्वासको मत नपाउने भएका हुन् । नाउपाका २ जना प्रदेशसभा सदस्यले मत नदिने बताइसकेका छन् । योसँगै शाह सरकार ढल्ने निश्चित भएको हो । 

‘हामी केन्द्रीय अध्यक्षको निर्णयविपरीत जाँदैनौँ । उहाँको निर्णयअनुसार नै हामी अगाडि बढ्छौँ । वर्तमान सरकारलाई हाम्रो समर्थन छैन । केही साथीहरू निर्णयविपरीत मन्त्री खान गएका छन् । अहिलेका मुख्यमन्त्रीलाई विश्वासको मत दिन्न,’ नाउपाका एक प्रदेश सभा सदस्यले भने ।

यसैबीच नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेकी छिन् । समानुपातिक सांसद रहेकी गिरीलाई पदमुक्त गरेको पत्र प्रदेशसभामा पठाएको बताइएको छ । 

पार्टीको निर्णयविपरीत सरकारमा सामेल भएकी गिरीले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नै नदिएपछि उनलाई कारबाही गरिएको हो ।

नाउपा अध्यक्ष श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेकी छिन् । महत्वपूर्ण विषयमा ह्वीप लगाउने अधिकार केन्द्रीय अध्यक्षलाई नै भएकाले मुख्यमन्त्री शाहको विपक्षमा मतदान गर्न निर्देशन दिइएको ह्वीप पत्रमा उल्लेख छ ।

null

नाउपाका सबै सांसदले विश्वासको मत दिएको खण्डमा पनि शाह सरकार सुरक्षित भने छैन । कांग्रेसका १८ र नाउपाका सात सांसद जोड्दा २५ मात्रै हुन्छ । सरकार जोगाउनका लागि उनलाई २७ जना सांसदको साथ आवश्यकता छ । प्रदेशसभामा एक सिट रहेको राप्रपाले मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ । राप्रपाबाट खेमादेवी विष्ट प्रदेशसभा सदस्य छिन् । ‘हाम्रो पार्टीले सरकारमा सामेल पनि नहुने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ । त्यहीअनुसार म अगाडि बढ्छु । बिहीवार विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री शाहले अहिलेसम्म मसँग समन्वय पनि गर्नुभएको छैन । अहिलको अवस्थासम्म हामी विश्वासको मत नदिने पक्षमै छौँ । भोलि पार्टीले कुनै अर्को निर्णय नगरेको खण्डमा यो सरकार ढल्ने निश्चित छ,’ उनले भनिन् ।

यदि नाउपा र राप्रपा तयार भएको खण्डमा पनि प्रदेशसभामा स्वतन्त्र सांसद रहेका डा तारा जोशीको साथ अत्यावश्यक छ । उनको साथ विना प्रदेशसभामा बहुमत पुग्दैन । यस्तो सरकार ढल्छ । नाउपा र राप्रपा तयार भएको खण्डमा भने आफू बाधक नबन्ने स्वतन्त्र सांसद जोशी बताउँछन् । ‘मेरो एक भोटका कारण सरकार ढल्न दिन्नँ । त्यसका लागि सबैजना तयार हुनुपर्यो,’ उनले भने ।

के छ विश्वासको मत लिने आधार ?

null 

केन्द्रमा फेरिएको समीकरणसँगै मुख्यमन्त्री शाहले फागुन २२ गते प्रदेश सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीलाई पदमुक्त गरेका थिए । त्यसको भोलिपल्ट माओवादी केन्द्र संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए । त्यसको केही दिनमै नेकपा (एकीकृत समाजवादी)को तर्फबाट सरकारमा सहभागी आर्थिक मामिलामन्त्रीलाई शाहले पद मुक्त गरेपछि सो दलले पनि समर्थन फिर्ता लिएको थियो ।

संवैधानिक व्यवस्थाअनुसार एक महिनाभन्दा बढी समय अल्पमतको सरकार सञ्चालन गर्न पाइँदैन । त्यही व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गरेका हुन् । तर विश्वासको मत पाउने आधार नदेखिएपछि उनी राजीनामाको तयारीमा रहेको उनीनिकट स्रोतको दाबी छ । 

‘मुख्यमन्त्री शाहले अन्तिम समयसम्म पनि नाउपा, राप्रपा र स्वतन्त्र सांसदलाई मिलाउने प्रयास गर्नुभयो  ।तर सफल हुन सक्नुभएन । २३ गते ३ बजे विश्वासको मत लिन समय तोकिएको छ । उहाँ अझै पनि सबैलाई मिलाउने प्रयासमा हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘सम्भव भए सरकार जोगिन्छ । त्यो सम्भव नभए विश्वासको मत लिनुअघि नै उहाँले राजीनामा दिनुहुन्छ ।’


 

salt training

कमेन्ट गर्नुहोस्