
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको ठगी प्रकरणमा पक्राउ परेका तीन जनाको बयान सकिएको छ ।
पक्राउ गरेका सहकारीका अध्यक्ष ओम गुरुङ, सहकारीका पूर्वसचिव दीपेश पुन र सहकारीको भैरहवा व्यवस्थापक दुर्गा चापागाईँको बयान सकिएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराम मरासिनीले लोकान्तरलाई जानकारी दिए ।
दीपेश पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् । उनी सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेता पनि हुन् ।

उनीहरूलाई सरकारी वकिल कार्यालय हुँदै रुपन्देही जिल्ला अदालतमा बयान लिइएको हो । बुधवार सार्वजनिक बिदा भएकोले पक्राउ परेका अन्य तीन जनाको बयान भने बिहीवार लिइने मरासिनीले जानकारी दिए ।
सो प्रकरणमा नीता थापा मगर, दीपक न्यौपाने र रोशनी गुरुङ पनि पक्राउ परेका छन् । ओखलढुङ्गा घर भएका गीतेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाउन सरकारी वकिलले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् । पक्राउ परेका सबैको बयान सकिएपछि थुनछेक बहस हुने अदालतले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलले उक्त मुद्दामा १ अर्ब २ करोड रुपैयाँ माग दाबी लिनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएको थियो ।