२० असार २०८३, शनिबार
प्रदेशमा राजनीतिक संकट

कोशी प्रदेशसभाको विशेष अधिवेशन शुरू, मुख्यमन्त्री कार्कीलाई हटाउन संकल्प प्रस्ताव पेश

बैशाख ६, २०८१
विराटनगर
कोशी प्रदेशसभाको विशेष अधिवेशन शुरू, मुख्यमन्त्री कार्कीलाई हटाउन संकल्प प्रस्ताव पेश
मुख्यमन्त्री केदार कार्की ।

नेपाली कांग्रेसबाट निर्वाचित भएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हटाउने प्रयोजनका लागि नेकपा (एमाले) र माओवादी केन्द्रले संकल्प प्रस्ताव पेश गरेका छन् । समावेदनमार्फत बोलाइएको प्रदे सभा बैठकमा बिहीवार कार्कीलाई मुख्यमन्त्रीबाट हटाउन संकल्प प्रस्ताव पेश गरिएको हो । 

प्रस्तावमा मुख्यमन्त्रीले कि विश्वासको मत लिनुपर्ने कि भने राजीनामा दिनुपर्ने उल्लेख छ । 

प्रदेशसभा अधिवेशनको शुरूमै एमालेका रेवतीरमण भण्डारीले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री कार्कीलाई राजीनामा गर्न सभाले निर्देशन दिनुपर्ने बताए । संसदीय सर्वोच्चताको सिद्धान्तका आधारमा यो विशेष अधिवेशन बोलाउन माग गरिएको र मख्यमन्त्रीलाई प्रदेशसभाले विशेष प्रकारको निर्देशन दिनुपर्ने उनको तर्क छ ।

अल्पमतमा परेका मुख्यमन्त्रीले शासन गर्न नमिल्ने भन्दै उनले राजीनामा माग गरे । ‘हामीले समर्थन फिर्ता गरेपछि संवैधानिक र कानूनी रुपमा अल्पमतमा पर्नुभयो । अल्पमतमा परेपछि शासन गर्ने अधिकार अन्त हुन्छ । राजनीतिमा पनि दिन्न, विश्वासको मत पनि लिन्न पाउनु हुन्न,’ भण्डारीले भने ।

 

संकल्प प्रस्तावको समर्थन गर्दै नेकपा (माओवादी केन्द्र)का गणेशप्रसाद उप्रेतीले फेरिएको परिस्थितिलाई आत्मसात गर्न आग्रह गरे । ‘राजनीतिक परिस्थिति फेरिएको अवस्थामा यो संकल्प प्रस्तावको सँगसँगै मार्गप्रशस्त गरेर राजनीतिक उचाइ प्राप्त गर्नुहुनेछ भन्ने विश्वास छ,’ उप्रेतीले भने । प्रस्ताव पेश गरेर बैठक शुक्रवारसम्मका लागि स्थगित भएको छ । 

अल्पमतमा परेका कार्कीलाई पदमुक्त गर्न आवश्यक रहेको भन्दै एमाले र माओवादीको मागअनुसार प्रदेश प्रमुख परशुराम खापुङले बिहीवारका लागि प्रदेशसभाको अधिवेशन बोलाएका थिए । 

प्रदेशसभाका एकचौथाइ सदस्यले बहुमत सदस्यले समावेदन गरेपछि प्रदेश प्रमुखले अधिवेशन बोलाउनु पर्ने संविधानको धारा १८३ को उपधारा ३ को व्यवस्थाअनुसार अधिवेशन बोलाइएको हो । 

संविधानको धारा १६८ को उपधारा ५ अनुसार कार्की असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री कार्की र उनको दल नेपाली कांग्रेसले संविधानको धारा १६८ को सबै प्रक्रिया पूरा भइसकेपछि पुनः पछाडि फर्किन नमिल्ने बताउँदै आएका छन् । कार्की एमालेमा ३९ र कांग्रेसका ८ सांसदको हस्ताक्षरबाट मुख्यमन्त्री नियुक्त भएका थिए । 

शरूमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई पछि माओवादी केन्द्रले समेत समर्थन गरेको थियो । एमाले र माओवादीका ५२ सांसदले चैत्र २६ गते कार्कीलाई दिएको विश्वासको मत फिर्ता लिएको बताएका थिए । 

केन्द्रमा फेरिएको समीकरणअनुसार एमाले र माओवादी मुख्यमन्त्री हटाउने कसरतमा लागेपछि कोशी प्रदेशमा राजनीतिक संकट गहिरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्