
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक पटक असफल भए पनि कम्युनिष्ट पार्टीबीच एकताको लागि निरन्तर प्रयास गर्नुपर्ने बताएका छन् । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको वार्षिक सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले ७४ को एकता विविध कारणले बचाउन नसकिए पनि प्रयास गरिरहनुपर्ने बताएका हुन् ।
‘कम्युनिष्टबीच एकता गर्नुपर्छ भन्ने चेतनाको साथ २०७४ सालको चुनावमा हामीले प्रयोग पनि गर्यौं । त्यो एकताको प्रयोग थियो । आम जनताले अनुमोदन पनि गरेका थिए तर, विविध कारणले बचाउन सकिएन । एकपटक असफल भयो भन्दैमा एकताको प्रयास छोड्न हुँदैन। निरन्तर प्रयास गर्नुपर्छ ।’
लोकतन्त्रको सुदृढीकरण, जनताको दैनिकी सुधारको लागि समाजवाद अबको क्रान्तिको बाटो भएको उनले बताए । ‘चुनौतीको सामना, जोखिम उठाउँदै अगाडि बढ्ने कम्युनिष्ट आन्दोलनमा नियम जस्तै हो । जटिलता र चुनौती भए पनि स्वाधीनता र वामपन्थी एकताको लागि जोखिम उठाउनु राम्रो हो ,’ उनले भने, ‘कुनै पनि दलले सहकार्य र एकतामा जान पहल गर्नैपर्छ ।’
समाजवादप्रति कम्युनिष्टहरू एकतावद्ध भए पनि यसलाई कसरी प्राप्त गर्ने भन्नेमा फरक मत भएको पनि उनले बताए ।
कम्युनिष्ट आन्दोलन वैचारिक बहसकै बीचबाट निर्मित हुने उनले बताए । ‘राजनीतिक, आन्दोलन संघर्षकै विचारबाट हुन्छ । वैचारिक बहसको बीचाट आन्दोलन निर्मित हुन्छ,’ प्रचण्डले भने, ‘नरबहादुर कर्माचार्य कम्युनिष्ट आन्दोलन, मजदुर संगठनको नेताको रुपमा पार्टी निर्माणमा संलग्न हुनुभयो । जीवनभर नै आन्दोलनको पक्षमा, वर्गसंघर्ष र सही विचारको पक्षमा उभिनुभयो । उहाँ निष्ठावान र सरल अभिभावक हुनुहुन्थ्यो । पुरानो पिँढीका निष्ठावान नेताकै प्रेरणाले कम्युनिष्टबीच एकता गर्नुपर्छ ।’