
म्याग्दी, ७ मंसिर - चुनाव प्रचार सकिने अघिल्लो दिन बुधवार म्याग्दी सदरमुकाम बेनी वजारमा वामपन्थी गठबन्धनको चुनावी र्याली आयोजना गरिएको थियो । प्रत्यक्षतर्फका उम्मेदवारविना नै निकालिएको र्यालीमा करीब सय जना कार्यकर्ता उपस्थित थिए ।
र्यालीको पछिल्लो लाइनमा ७१ बर्षीय ध्रुवबहादुर श्रेष्ठ हातमा नेकपा एमालेको चुनाव चिह्न सूर्य अंकित झण्डा लिएर हिँडिरहेका थिए । विगतमा राप्रपा र कांग्रेसको र्यालीमा यसैगरी हिँडेका श्रेष्ठ अहिले भने वामपन्थीको र्यालीमा हिँडिरहेका थिए ।
‘राप्रपाका भीमप्रसाद गौचनलाई हेरियो, कांग्रेसका स्व. नारायणसिंह पुनलाई जिताइयो, कांग्रेस बनेर भोट माग्दै हिँडियो’ ध्रुवकुमार श्रेष्ठले लोकान्तरसँग भने, ‘यसपटक वाम गठबन्धनले देशमा केही गर्छ कि भनेर चुनाव प्रचारमा हिँडेको ।’
विगतमा चुनाव जितेर गएका कोहीपनि सांसदले काम नगरेका कारण आफ्नो मन बदलिएको उनले सुनाए । वेनी बजारमै किराना व्यापार गर्दै आएका श्रेष्ठ भन्छन् –‘उमेरले ७१ बर्ष पुगे पेन्सनको पनि कुरा छ !’
पहिलो चरणमा मंसिर १० गते हुने चुनावका लागि नेपाली कांग्रेसका तर्फवाट खम्वीर गर्जुवा र वामपन्थी गठबन्धनका तर्फबाट नेकपा एमालेका भुपेन्द्र थापा चुनावी मैदानमा छन् । प्रदेशसभातर्फ लोकतान्त्रिक गठबन्धनका तर्फबाट
राप्रपाका भीम गौचन र अमलाल प्रगामी मगर तथा वामपन्थी गठबन्धनबाट माओवादीका विनोद केसी र एमालेका नरदेवी पुन उम्मेदवार छन् ।
बेलायती सेनाबाट अवकाश पाएर राजनीतिमा होमिएका खम्वीर यसपटक आफूले चुनाव जित्नेमा ढुक्क देखिन्छन् । ‘म्याग्दीका जनताको दुःखसुखमा म सधै साथमा छु, यसपटक म्याग्दीका जनताले सेवा गर्ने अवसर दिनुहुन्छ भन्नेमा विश्वस्त छु’ गर्बुजाले लोकान्तरसँग भने ।
२०५६ सालको संसदीय चुनावमा नेपाली कांग्रेसका तर्फबाट नेपाली सेनाको कर्णेलबाट अवकाश पाएका नारायणसिंह पुन विजयी भएका थिए । माओवादीसँगको शान्ति प्रक्रियामा भूमिका खेलेका पुनको केही बर्ष पहिले निधन भइसकेको छ ।
२०६४ सालको संविधानसभा चुनावमा म्याग्दीबाट माओवादीका गोविन्द पौडेल विजयी भएका थिए भने २०७० सालको चुनावमा नेकपा एमालेका नवराज शर्मा विजयी भएका थिए । कांग्रेस उम्मेदवार खर्बुजा यसपटक चुनाव जित्ने पालो आफ्नो भएको दाबी गर्छन् ।
‘२०६४ सालको चुनावमा माओवादीले २४ हजार भोट पाएको थियो, कांग्रेसले ६ हजार पाएको थियो । २०७० मा आइपुग्दा माओवादी ६ हजार मा झ–यो र कांग्रेसले १३ हजार भोट पायो । यसपटक कांग्रेसले २६ हजार भोट ल्याउँछ’ खम्बुजाको दाबी छ । म्याग्दीमा ५२ हजार ५ सय ३८ मतताता छन् ।
वामपन्थी गठबन्धनबाट एमालेका उम्मेदवार थापापनि आफूले चुनाव जित्नेमा ढुक्क नै छन् । ‘२०४८ सालदेखि नै यो क्षेत्र वामपन्थी बाहुल्य रहेको छ, त्यो विरासत यसपटक पनि जोगिन्छ । जिल्लामा ३० बर्षसम्म राजनीति र जनताको सेवा गरेका कारण मैले चुनाव जित्छु’ थापाले लोकान्तरसँग भने ।
गत स्थानीय तहको चुनावमा म्याग्दीका ६ मध्ये ४ तहमा कांग्रेस विजयी भएको थियो । धेरै मतदाता भएको बेनी नगरपालिकामा कांग्रेसका हरिकुमार श्रेष्ठ झिनो मतअन्तरले विजयी भएका थिए । त्यो बेला कांग्रेसलाई माओवादीको समर्थन थियो । एमालेको समर्थनमा राप्रपाका सञ्जु वरुवालले उपमेयर जितेकी थिइन् । राप्रपाको समर्थन रहेका एमाले उम्मेदवार ३४ मतले पराजित भए ।
‘म्याग्दी वामपन्थी विरासत भएको क्षेत्र भएको र अहिले वामपन्थी गठबन्धनले उठाएका मुद्दाले जनतामा विश्वास पैदा भएकोले मेरो जित सुनिश्चित छ’ थापाले भने ।

मतदाता अन्योलमा
पाखापानीका ६६ बर्षीय गोरे पुन राजनीतिक दलका आश्वासनले तिरिमिरी भएको बताउँछन् । ‘सबै दलले विकास गर्छु भनेका छन्, तर विकास भएको छैन’ भारतीय सेनाबाट अवकास पाएका पुन भन्छन् ।
अन्य जिल्लामा जस्तै यहाँका मतदाताहरु पनि नेताहरु चुनावको समयमा मात्र भोट माग्न आउने तर चुनाव जितेपछि काम नगर्ने बताउँछन् । ‘मुक्तिनाथ जाने बाटोको हालत हेर्नुस् न चुनाव जितेर गएकाले के गरे ?’ बेनीमा भेटिएका प्रकाश गौतमले भने ।
सेनामा भन्दा चुनावमा कठिन !
बेलायती सेनामा काम गरेर अवकास पाएका कांग्रेस उम्मेदवार खर्वुजा सेनामा भन्दा चुनाव लड्न कठिन हुने सुनाउँछन् । ‘हुन त म बेलायती सेनामा भएपनि हतियार चलाउनु परेन । तर सेनामा लड्नुभन्दा चुनावमा लड्नु अप्ठेरो छ’ गर्बुजाले लोकान्तरसँग भने, ‘बेलायती सेनामै रहँदा विकसित देश हेरेर नेपालमा गएर विकास गर्ने दिन कहिले आउला भनेर सोचिरहन्थें । जसले मलाई चुनाव लड्न प्रेरित ग–यो ।’
चुनाव जितेमा राज्यको तलव भत्ता नलिने उनले बताए । ‘मेरो एउटै चिन्ता देश विकास गर्नु हो, मैले लोकतन्त्र भएका विकसित देशले गरेको लोभलाग्दो प्रगति देखेको छु । नेपाललाई विकसित गराउन योगदान गर्न सक्छु भनेर राजनीतिमा लागेको हुँ’ उनले भने ।