
काठमाडौं, २९ मंसिर– कन्चनपुरकी एक युवतीको विगत दुई वर्ष अघिदेखि महिनावारी रोकिएको थियो । यौन स्वास्थ्यको विषयमा समाज र परिवारमै पनि खुलेर कुराकानी गर्ने वातावरण थिएन । त्यसैले उनले आफ्नो समस्याको बारेमा परिवारलाई बताउने चाहना भएपनि बताउन सकेकि थिइनन् ।
महिनावारी रोकिने वित्तिकै कुनै पुरुषसँग शारीरिक सम्बन्ध थियो र गर्भवती भएको हो कि भनेर अनुमान गर्ने समाजको प्रवृति छ । समाज र घरपरिवारले नराम्रो सोच्छन् कि भन्ने डर र लाजले उनले आफ्नो परिवारमा समेत आफू महिनावारी नभएको कुरा भनिनन् ।
महिनावारी नभएपनि दुई तीन साताको फरकमा अत्याधिक पेट दुख्ने गरेपछि उनले आफ्नो समस्या लुकाएर बस्न सकिनन् । परिवारमा आमा र दिदीलाई आफ्नो समस्या बताएपछि उनकी दिदीले उनलाई स्वास्थ्य परीक्षण गराउँन काठमाडौंमा ल्याएकी छिन् ।
‘बहिनीको महिनावारी रोकिएको दुई वर्ष भइसकेछ । मैले त केही महिनाअघि मात्रै थाहा पाएको हो । म यतै बस्ने भएर बहिनीलाई कन्चनपुरबाट उपचारको लागि काठमाडौं नै बोलाए ।’ नाम नबताउने सर्तमा उनकी दिदीले लोकान्तरसंग भनिन्,‘अविवाहित युवतीहरु महिनावारी रोकिएको छ भन्ने सुन्यो भने हाम्रो समाजले शंकाको दृष्टिले हेर्छ । त्यहिभएर समस्या भएपनि खुलेर बोल्न सकिन्न । ’
कन्चनपुरकी यी युवती त प्रतिनिधि पात्र मात्रै हुन् । समाज र परिवारमा यौन स्वास्थ्यलाई लाज र डरको रुपमा हेर्ने प्रवृतिले धेरै अविवाहित युवतीहरु समस्या लुकाएर बस्ने गर्छन् ।
पुरुषसँग यौन सम्बन्ध नभएपनि महिनावारी रोकिँदा समाजले गलत दृष्टिले हेर्छ भनेर युवतीहरु आफ्नो रोगलाई आफैमा सिमित राख्छन् । जब रोगले सहन नसक्ने गरी पिरोल्छ तब मात्रै उनीहरु उपचारमा पुग्ने गछन् ।
थापाथलीस्थित प्रसुती गृह तथा स्त्री रोग अस्पतालमा महिनावारी रोकिएको समस्या लिएर आउँने युवातीहरुले खुलेर समस्या नभन्ने गरेको चिकित्सकहरुले बताए । ‘महिनावारीको समस्या भनेपछि हामीले भित्री यौनाङ्गको अवस्था राम्रोसँग हेरेर, पाठेघरमा संक्रमण वा घाउ छ कि भनेर हेर्नुपर्ने हुन्छ । किशोरीहरु ‘प्राइभेट पार्ट’ देखाउन लाज मान्छन् । भित्री अंग नहेरी रोग थाहा हुँदैन । ’ अस्पताकी स्त्री रोग विषेशज्ञ डाक्टर देवी गुरुङले भनिन् ।
‘अस्पतालमा विरामीको चाप धेरै हुन्छ । उनीहरु लाजमानेर वेडमा यतिकै बसिदिन्छन् । खुलेर समस्या नै राख्दैनन् सुरुमा त । हामी यौनाङ्गमा मासु पाएको छ कि छैन भनेर हेरेर, जिउँहरु छामेर, हमोर्न लेबलहरु हेरेर रोगको कारण पत्ता लगाउँछौं ।’
महिनावारी रोकिएको समस्या लिएर धेरै युवतीहरु गाइनोको ओपिडिमा आउँने गरेको डा. गुरुङले बताइन् । ‘गाइनोको ओपिडिमा काम गर्न गाह्रो छ, विरामीहरु धेरै हुन्छन् । युवतीहरु आफ्नो यौनाङ्ग देखाउनै मान्छैनन् । त्यसैले धेरै समस्या हुन्छ । उनले भनिन्,‘ सुरुमा खुलेर समस्या नै भन्दैनन् । उनीहरुसंग कुरा गर्न समय लाग्छ ।’
महिनावारी महिलाहरुको प्राकृतिक प्रकृया हो । प्रजनन क्षमताको विकास हुने क्रममा युवतीहरु १२ देखि १४ वर्षको उमेरमा पहिलो पटक महिनावारी हुन्छन् । सामान्य अवस्थामा स्वास्थ्य जीवनशैली, यौनाङ्गको सरसफाइमा ध्यान नदिदा संक्रमणको कारण महिनावारी रोकिने तथा अनियमितता हुने गर्छ ।
किशोरी अवस्थामा महिनावारी रोकिँदा कसैलाई कुनै लक्षण नदेखिइ रोकिने गरेको डा. गुरुङले बताइन् । उपचारको लागि आउने विरामीहरुले तल्लो पेट दुख्ने, खाना अत्याधिक रुच्ने, मोटाउने समस्या देखिएपछि महिनावारी रोकिएको बताएको डा. गुरुङले सुनाइन् ।
यस्ता कारणले किशोरीहरुमा महिनावारी रोकिन्छ
सरसफाइमा ध्यान नदिनु ।
शरीरमा रोग संग लड्ने क्षमतामा कमी आउँनु ।
यौन रोगको संक्रमण हुनु ।
वंसाणुगत गुण
हर्मोनमा असन्तुलन हुनु ।
पाठेघरमा समस्या हुनु ।
किशोरी अवस्थामा महिनावारी रोकिँदा हर्मोनमा असन्तुलन भइ पुरुषको जस्तै शरीरमा रौंहरु बढ्ने, मोटोपना देखिने र अण्डासय उत्पादन नहुँदा गर्भधारण नहुने समस्या हुने डाक्टर गुरुङले बताइन् ।
नियमित महिनावारी हुनु महिलाको लागि स्वास्थ्यको दृष्टिले राम्रो मानिन्छ । महिनावारीलाई नियमित बनाउन स्वास्थ्यकर खानपान र स्वास्थ्यकर जीवनशैलीले महत्वपूर्ण भूमिका हुन्छ ।
महिनावारी नियमित गराउन यस्तो कुरामा ध्यान दिनुस्
सम्भव भएसम्म अर्गानिक खाना खाने ।
केमीकल राखेको खाना नखाने ।
यौनाङ्गको सरसफाइमा विशेष ध्यान दिने ।
महिनावारी अनियमितता भएमा वा रोकिएरमा समयमै उपचार गराउने ।
अत्याधिक क्याफिन र सुगर पाएको पेय पदार्थ सेवन नगर्ने ।
मोटोपन नियन्त्रण गर्ने ।
सन्दर्भ तस्वीर