
काठमाडौं, १८ माघ– काठमाडौंको महाराजगञ्जमा रहेको कान्ति बाल अस्पतालमा वार्षीक ३ सय २० जना क्यान्सर भएका नयाँ बालबालिकाहरु उपचारको लागि आउने गरेका छन् ।
क्यान्सरहरुमा पनि धेरैजस्तो रक्त क्यान्सरका बिरामी बढी आउने गरेको अस्पतालका बाल क्यान्सर तथा रक्तरोग विषेशज्ञ डा. प्रकाश निधि तिवारीले लोकान्तरलाई बताए । रक्त क्यान्सर विभिन्न प्रकारका हुने उनले बताए ।
‘बालबालिकामा एक्युट ल्युकेमिया र एक्युट लिम्फोब्ल्यास्टिक ल्युकेमिया रक्त क्यान्सर हुन्छ । एक्युट ल्युकेमिया क्यान्सर ए.एल.एल, ए.एम.एल. सि.एम.एल गरी तीन किसिमका हुन्छन् ।’ डा. तिवारीले लोकान्तरसँग भने, ‘रगतमा हुने तीन प्रकारका रक्त कोषहरुमध्ये सेतो रक्तकोषहरु वयस्क हुन नसक्दा अनियन्त्रित रुपमा संख्या बढ्न गई एक्युट लिम्फोब्ल्यास्टिक ल्युकेमिया क्यान्सर हुन्छ । सेतो रक्तकोषहरु अन्यिन्त्रित रुपमा हुर्केर शरीरमा फैलन थालेपछि यसको लक्षणहरु देखिन थाल्छ ।’
शरीरमा रहेको हड्डीभित्रको मासीले रगतमा हुने रातो, सेतो रक्त कोष र प्लेटलेट बनाउने गर्छ । शरीरमा सेतो रक्तकोष अनियन्त्रित रुपमा फैलदा हडडीमा रहेको मासीलाई असर पर्ने उनको भनाइ छ । जसको कारण मासीले सहज रुपमा यी तीन प्रकारका रक्तकोषहरु निर्माण गर्न सक्दैन ।
रातो,सेतो रक्तकोष र प्लेटलेटको निर्माण नभएको यसरी थाहा पाउँन सकिन्छ
रक्तकोषको निर्माण प्रक्रिया रोकिँदा शरीरमा रातो रक्तकोषको अभाव भई शरीर सेतो हुँदै जान्छ ।
प्लेटलेटको अभावमा शरीरको विभिन्न भागबाट रगत बग्न थाल्छ ।
छालामा राताराता छिट्टाहरु आउँछ ।
निला डामहरु देखिन्छ । नाकबाट रगत बग्ने समस्या हुन्छ ।
खकारमा रगत देखिन्छ ।
शरिररको भित्रि अंग ( फोक्सो,मृगौला) मा पनि रगत बग्ने हुन्छ ।
स्वास्थ्य वयस्क सेतो रक्तकोषको अभावमा रोगहरुसँग लड्ने क्षमतामा कमी आउँछ । जसको कारण विभिन्न खालको रोगका संक्रमक रोगहरु लाग्छ ।
घाँटी, छातीभित्र, कलेजो सुन्निन सक्छ ।
टाउँको दुख्ने, वान्ता हुने काम्ने, वहोस हने समस्या देखिन्छ ।
सरीरमा यस्तो लक्षणहरु देखिएमा शरिरमा सेतो रक्तकोषको अनावश्यक वृद्धि भएको हुनसक्छन् । सेतो रक्तकोषको अनावश्यक बढ्दै गएमा रक्तक्यान्सर हुने डा. तिवारीले बताए ।
रक्त क्यान्सरका लक्षणहरु यस्ता हुन्छन्
दुई साता वा दुईसाता भन्दा बढी निरन्तर ज्वरो आउने, आलश्य हुने र खान मन नलाग्ने हुनसक्छ ।
शरीर सेतो भएर जानु वा रक्तअल्पता हुनु ।
छोटो समयको अन्तरालमा रुघाखोकी, निमोनिया, झाडापखला तथा अन्य रोगको संक्रमण बढ्दै जानु ।
शरीरका विभिन्न भागहरुमा राता टिकाहरु आउनु, नीला डामहरु देखिनु ।
नाक,खकार, दिसा, पिसावमा रगत आउँनु ।
आँखा, मुख, घाँटी खुन्निनु ।
हातखुट्टाका जोर्नीहरु दुख्नु ।
सास फेर्न गाह्रो हुनु ।
कमजोर महसुस हुनु ।
यस्ता लक्षणहरु देखिएमा रक्त क्यान्सर भएको हुनसक्ने भएकाले बालबालिकामा यस्ता लक्षणहरु देखिएमा समयमै स्वास्थ्य उपचार गराउँनुर्ने डा. तिवारीको भनाइ छ ।
‘नियमित र समयमै उपचार गराउँन सके बालबालिकामा हुने रक्तक्यान्सर निको हुने सम्भावना ८० प्रतिशत रहन्छ । ए.एल.एल क्यान्सरको उपचार केमोथेरापी र कहिलेकाही रेडियो थेरापीबाट पनि गरिन्छ । ’ डा. तिवारीले भने, ‘ एक्युट लिम्फोप्लास्टिक ल्युकोमिया क्यान्सर लागेका बालबालिकाको क्यान्सर निको हुने सम्भावना बढि हुन्छ ।’
यसरी गरिन्छ रक्त क्यान्सरको उपचार
रक्त क्यान्सर भएका बालबालिकालाई औषधि वा विभिन्न रसायनिक पदार्थहरु मुख, नसा, ढाड वा अन्य माध्यमबाट शरीरमा दिई उपचार गरिन्छ । यसलाई किमोथेरापी भनिन्छ ।
ए.एल.एल क्यान्सरका विरामीलाई केमोथेरापी एकपटकमा ५ देखि ६ पटक सम्म दिइन्छ ।
रक्त क्यान्सरको उपचार बालिकालाई १ सय ४ हप्ता र बालकलाई १ सय ६५ हप्ता सम्म गरिन्छ ।
ए.एल.एल क्यान्सरको उपचार गर्दा नियमित रुपमा बाल क्यान्सर विशेषज्ञको निगरानीमा उपचार गर्नुपर्ने हुन्छ ।
रक्त क्यान्सर भएका बालबालिकाहरुमा किमोथेरापी गराउँदा रोग प्रतिरोधात्मक क्षमतामा कमी आई उनीहरु कमजोर हुन सक्छन् । यस्तो अवस्थामा बालबालिकालाई पोसिलो खाना र स्वास्थ्य सरसफाईमा विषेश ध्यान दिनुपर्ने डा. तिवारीले बताए ।