०३ साउन २०८३, आइतबार

प्रसूति गृहमा पेइङ सेवातर्फ आकर्षण : सेवाग्राहीलाई लाइन बस्नु नपर्ने, डाक्टरलाई अतिरिक्त आम्दानी

असोज १८, २०७५
प्रसूति गृहमा पेइङ सेवातर्फ आकर्षण : सेवाग्राहीलाई लाइन बस्नु नपर्ने, डाक्टरलाई अतिरिक्त आम्दानी
फाइल फोटो

काठमाडौं –भक्तपुरको ठिमीमा बस्दै आएकी काभ्रेकी रेनुका गिरी गर्भवती भएको ८ महिना पुग्यो । गिरी शुरूमा आफ्नो गर्भ जँचाउन धुलिखेल अस्पताल पुग्थिन् । गर्भजाँचका लागि अस्पतालमा जान दिनभरीको समय छुट्याउनु पर्थ्यो ।

गिरीलाई एक आफन्तले थापाथलीमा रहेको प्रसूति तथा स्त्रीरोग अस्पतालमा पेइङ सेवामार्फत् छिट्टै जँचाउन पाइन्छ भन्ने जानकारी दिए । त्यसपछि थापाथली आएकी उनले प्रसूति गृहमा पेइङ सेवामार्फत् समयमै गर्भजाँच गराउन पाएको लोकान्तरलाई बताइन् ।

‘पेइङ सेवाबाट जाँच गराउँदा दिनभरी लाइन बस्नुपरेको छैन । अहिले समेत दुई पटक आएँ,’ बुधवार अस्पतालमा भेटिएकी गिरीले लोकान्तरसँग भनिन्, ‘घरको काम सकेर सेवा शुरू हुने सयममा आउँछु, धेरै कुर्नुपरे आदि घण्टा मात्रै हो । पेइङ सेवाले सजिलो भएको छ ।’ 

काठमाडौंमै बस्दै आएकी झापाकी कौशिला भट्टराई पनि बुधबार पेइङ सेवामार्फत् गर्भजाँच गराउन आएकी थिइन् । पेइङ सेवामा लाइन बस्न नपर्ने भएपछि आफूलाई सहज भएको भट्टराई बताउँछिन् ।

‘पहिलो पटक असारमा आएको थिएँ, त्यतिबेला ४ घण्टा लाइनमा बस्नुपर्‍यो । निकै गाह्रो भयो दिनभरी लाइनमा बस्दा,’ उनले भनिन्, ‘यहाँ ३ बजेपछि पेइङ सेवा हुन्छ भन्ने थाहा पाएर यहीँ आउन थालेको छु । अहिले लाइन बस्नुपर्दैन । सेवा पनि उही डाक्टरले दिने हो । समयको एकदमै बचत हुन्छ ।’

गिरी र भट्टराई जस्तै धेरै महिला लाइन बस्न झन्झटिलो हुने भन्दै प्रसूति गृहमा रहेको पेइङ सेवाबाट स्वास्थ्य जाँच गराउन थालेका छन् । आफ्नो काममा व्यस्त हुनेहरूले पेइङ सेवाबाट आफूले भनेको समय र चाहेको चिकित्सकसँग उपचार सेवा लिन पाउँछन् । समयको बचत हुने भएकाले महिलाहरू अस्पतालको जनरल सेवामाभन्दा पेइङ सेवामा आकर्षित बनेका हुन् ।

अस्पतालले वि.सं. २०७२ साल भाद्र १ गतेदेखि पेइङ सेवा शुरू गरको थियो ।  अस्पतालले पेइङ सेवा बिहान ९ बजेअघि र दिउँसो ३ बजेपछि सञ्चालन गर्ने गरेको छ ।

बिरामीले अस्पतालको पेइङ सेवा लिनका लागि ४ सय ५० रुपैयाँको टिकट लिनुपर्ने हुन्छ । स्वास्थ्य परीक्षणपछि आवश्यक पर्न सक्ने ल्याब, भिडियो एक्सरे, इसीजी सेवामा पनि जनरल ओपीडीको भन्दा केही बढी शुल्क लाग्ने अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले बताए ।

अस्पतालमा पेइङ सेवा बिरामी र डाक्टर दुवैका लागि लाभदायी बनेको छ । अस्पतालले तीन वर्षअघि शुरू गरेको विस्तारित अस्पताल सेवा अर्थात् पेइङ सेवा प्रभावकारी बन्दै गएको अस्पतालका निर्देशक डा. जागेश्वर गौतम बताउँछन् ।

‘हाम्रो अस्पतालको आकर्षक सेवा भनेको पेइङ सेवा हो । बिरामीले न्युनतम शुल्कमा ३ बजेपछि आफूले रोजेको चिकित्ससँग स्वास्थ्य परीक्षण, अप्रेसन गर्न पाउँछन्,’ निर्देशक डा. गौतमले लोकान्तरसँग भने, ‘अन्य सरकारी अस्पतालमा ओपीडी सेवा मात्रै छ, तर हाम्रोमा पेइङ सेवा प्रभावकारी रूपमा चलिरहेको छ ।’

अस्पतालमै पेइङ सेवा शुरू भएपछि प्रसूति गृहका चिकित्सकहरू आफ्नो अतिरिक्त समयमा निजी अस्पताल तथा क्लिनिक जान छाडेर अस्पतालमै आउने बिरामीलाई सेवा दिन थालेका छन् ।

अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्राध्यपक डा. गेहनाथ बरालले अस्पतालमा पेइङ सेवा शुरू भएपछि निजी अस्पतालमा जान छाडेको  बताए । 

‘म पनि पहिला यहाँको ड्युटी सकेर निजी क्लिनिकमा जान्थेँ । यहाँ पेइङ सेवा शुरू भएपछि मैले निजी क्लिनीकमा जान छाडेको छु,’ डा. बरालले भने, ‘निजीमा भन्दा त कम पैसा आउँछ, यहाँ तर टीममा काम गर्दा सहज पनि छ ।’

सरकारी अस्पतालमा पेइङ सेवा हुँदा बिरामीलाई निजी अस्पतालमा महंगोमा उपचार गर्नु नपर्ने र चिकित्सकहरूले पनि आफ्नो फुर्सदको समयमा आफ्नै अस्पतालमा सेवा दिन सक्ने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्