
काठमाडौं– ४ पुस २०७३ मा तत्कालीन नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दूर्गा तिवारीको रुपन्देहीकै देवदहमा गोली हानी हत्या भयो । हत्या पछि मनोज पुनले केही सञ्चारमाध्यममा समेत फोन गरी तिवारीको हत्या आफूले गरेको दावी गरे ।
तिवारीको हत्या गर्ने पुनकाे ९ फागुन २०७४ मा प्रहरीसँगको ‘मुठभेड’मा मृत्यु भइसकेको छ । तिनै पुनको आदेशमा तिवारीमाथि गोली प्रहार गर्ने अम्बर बहादुर राना भने आइतवार पक्राउ परेका छन् ।
२३ असोज २०७४ मा काठमाडौंमा हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यष शरद कुमार गौचनमाथि पनि रानाले नै गोली प्रहार गरेका थिए । गौचन हत्यामा संलग्न रानासहित लोप्साङ भनिने सोम तामाङ र रोशन बुढाथोकीलाई पनि महानगरीय अपराध महाशाखाको टोलीले आइतवार पक्राउ गरी सोमवार सार्वजनिक गरेको छ ।
पक्राउ परेका लोप्साङ भनिने सोम तामाङ झापको बिर्तामोड–५ शनिअर्जुनका स्थायी बासिन्दा हुन् भने रोशन बुढाथोकी काठमाडौंको नागार्जुन–४ का स्थायी बासिन्दा हुन् । यस्तै अम्बर बहादुर राना उदयपुर रौता–५ का स्थायी बासिन्दा हुन् ।
आइतवार भारतको सिक्किम र दार्जिलिङको सीमा क्षेत्रबाट पक्राउ परेका उनीहरु भारतका विभिन्न शहरमा लुक्दै छिप्दै आएका थिए । यद्यपि प्रहरीले भने उनीहरुलाई सोमवार झापाको काँकडभिट्टा क्षेत्रबाट पक्राउ गरिएको भनेको छ ।
सेनाका भगौडाको अपराध यात्रा
सोमवार पक्राउ गरी सार्वजनिक गरिएकामध्ये अम्बर बहादुर राना नेपाली सेनाका भगौडा हुन् । उदयपुरको रौता स्थायी घर भएका राना २०७२ मा नेपाली सेनाको कालीध्वज गण इलामबाट भागेका थिए ।
त्यसपछि उनी लोप्साङ लामाको सम्पर्कमा आए । झापाको बिर्तामोड–५ शनिअर्जुन स्थायी घर भएका लोप्साङ काठमाडौंका डान्सबारमा बाउन्सरको रुपमा काम गर्दथे । त्यहीबीचमा लोप्साङले अम्बरलाई काठमाडाैंकाे वाफल क्षेत्रमा टाेले गुन्डाकाे रुपमा सक्रिय समिरमानसिंह बस्नेतसँग भेट गराइदिए ।
समिरमानसँग भेट भएपछि अम्बरको अपराध यात्रा शुरु भयो । उनी ‘काले दाई’ नामको नयाँ पहिचानले चिनिन थाले । सैनिक तालिम प्राप्त गरेका रानाले सानादेखि ठूला घटनामा मूख्य सुटरको भूमिका निभाए ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचन हत्याका मुख्य योजनाकार समिरमानसिंह बस्नेत रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । भारतको दिल्लीबाट पक्राउ परेका समिरमान अहिले मुद्दाको पुर्पक्षका लागि जेलमा छन् ।
गौचन हत्यामा संलग्न समिरमानसहित ६ जना यसअघि नै पक्राउ परिसकेका छन् । प्रहरीले नुवाकोट पञ्चकन्या–५ का राजिव स्याङ्ताङ, पर्सा कालिमाई–१ का शिवजी महतो, भारतको बिहार राज्य बेतिया जिल्लाका मुकेश कुमार पाण्डे, पर्सा ठोरी–५ का सन्तोष गुरुङ र काठमाडौं नागारजुन–४ का प्रकाश बुढाथोकीलाई यसअघि नै पक्राउ गरिसकेको थियो ।

साेमवार सार्वजनिक गरिएकामध्ये गौचनको हत्यामा रानाले नै मुख्य सुटरको भूमिका निभाएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धीरजप्रताप सिंहले बताए । एसएसपी सिंहका अनुसार रुपन्देहीका दूर्गा तिवारीको हत्यामा पनि राना मुख्य सुटर थिए ।
अर्को हत्याको योजना बनाउँदै गर्दा पक्राउ ?
गौचन हत्याका मुख्य अभियुक्त भारतको सिक्किममा लुकेर बसेको सूचनाका आधारमा अपराध महाशाखाले एक हप्तादेखि भारतको दार्जिलिङ र सिक्किम क्षेत्रमा आफ्नो टोली परिचालन गरेको थियो । पश्चिम बंगाल प्रहरी र सिक्किम प्रहरीसँगको अनौपचारिक सहकार्यमा अपराध महाशाखाको टोलीले लोप्साङ, रोशन र अम्बरमाथि निगरानी बढाएको थियो ।
आइतवार विहानै सिक्किमबाट दार्जिलिङ आउँदै गर्दा जोरथांग क्षेत्रबाट तीनैजनालाई पक्राउ गरिएको अपराध महाशाखा स्रोतले लोकान्तरलाई जानकारी दियो ।
अपराध महाशाखाको टोलीले तीनैजनालाई पक्राउ गरी भारतको दार्जिलिङ हुँदै सिलगुरी पुर्यायो । सिलगुरी पुग्दा उनीहरुले प्रहरीसँग काठमाडौंमा अर्को आक्रमणको तयारी भइरहेको ‘सूचना’ दिए ।
आफूहरुकै समूहका केही व्यक्तिले नेपालका ठूलै व्यापारीलाई गोली हान्न सबै तयारी पूरा गरिसकेको उनीहरुले प्रहरीलाई बयान दिए । उनीहरुको ‘बयान’का आधारमा प्रहरीले काठमाडौंमा केही व्यापारीको सुरक्षामा निगरानी पनि बढायो ।
तर काठमाडौं आइपुग्दासम्म उनीहरुको ‘सूचना’ गलत भएको निष्कर्शमा प्रहरी पुगेको छ । तीनैजनालाई सार्वजनिक गर्न सोमवार आयोजित पत्रकार सम्मेलनमा अपराध महाशाखा प्रमुख एसएसपी सिंहले समेत उनीहरुले अर्को आक्रमणको योजना बनाएको बताए ।
तर, महाशाखा स्रोत भने उनीहरुले प्रहरीको ध्यान मोड्न मात्रै आक्रमणको ‘बनावटी सूचना’ दिएको बताउँछ । ‘प्रहरीले आफूहरुको इन्काउन्टर गर्न सक्छ भन्ने डरले उनीहरुले गलत सूचना दिएको बुझिएको छ,’ महाशाखा स्रोत भन्छ, ‘अर्को घटना गर्न लागेको भनेपछि आफूहरुबाट सूचना चुहाउन पनि इन्काउन्टर गरिन्न भने उनीहरुको बुझाइ रहेछ ।’