२९ जेठ २०८३, शुक्रबार

हेर्दा चिल्लो तर जोखिमयुक्त कलंकी-कोटेश्वर सडक, हस्तान्तरण नहुँदै लियो १७ जनाको ज्यान

चीनले सोमवार नेपाल सरकारलाई हस्तान्तरण गर्ने
माघ १३, २०७५
हेर्दा चिल्लो तर जोखिमयुक्त कलंकी-कोटेश्वर सडक, हस्तान्तरण नहुँदै लियो १७ जनाको ज्यान

काठमाडौं – चीन सरकारले अनुदानमा बनाइदिएको कोटेश्वर–कंलकी सडक खण्ड सोमवार नेपाल सरकारलाई हस्तान्तरण गरिने भएको छ । यसअघि २०७३ सालमा हस्तान्तरण हुनुपर्ने उक्त सडक खण्ड भूकम्प र नाकाबन्दीले काममा भएको ढिलाइका कारण सोमवार हस्तान्तरण हुने भएको हो ।

सडक विभागका प्रवक्ता मुक्ति गौतमले सोमवार बिहान ९ बजे गोदावरीमा विशेष कार्यक्रमका बीच चीनले नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

सडक विभागका अनुसार करीब १० किलोमिटर लम्बाई रहेको उक्त सडक खण्ड निर्माणका लागि २०६९ साल पुसमा सम्झौता भएको थियो । सो सम्झौता अनुसार २०७३ माघमा चीनले उक्त सडक खण्ड निर्माणको काम सम्पन्न गरेर नेपाललाई हस्तारन्तरण गर्नुपर्ने थियो ।

सडक विभागले चिनियाँ कम्पनीले सम्झौता अनुसार नै सडक निर्माणको काम गत डिसेम्बरमा नै सकेको जानकारी दिएको छ । सम्झौता अनुसार सो सडक खण्डमा तीनवटा आकाशेपुल समेत चिनियाँ कम्पनीले नै निर्माण गरिदिएको सडक विभागको दाबी छ ।

हाइवेका नाममा गुणस्तरहीन

हेर्दै चिल्लो देखिने उक्त सडक खण्डलाई हाइवे भनिएको छ, तर हाइवेमा हुनुपर्ने गुण कुनै पनि नभएको सरोकारवालाहरूले गुनासो गर्ने गरेका छन् । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गत शुक्रवार संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिमा उक्त सडकखण्ड गुणस्तरहीन भएको जिकिर गरे । कोटेश्वरदेखि कलंकीसम्मको सडक खण्डलाई हाइवे भनिएपनि त्यसमा हाइवेमा हुनुपर्ने गुण कुनै पनि नभएको महर्जनको जिकिर थियो ।

‘भन्नलाई हाइवे भनिएको छ,’ महर्जनले भने, ‘त्यहाँ न साइकल लेन छ, न त जेब्रा क्रस छ ।’

जाम समेत नहटेका कारण उक्त सडकलाई हाइवे भनिरहनु पर्ने नदेखिएको मेयर महर्जनको भनाइ थियो । ‘हाइवे भन्या छ, एक घण्टासम्म जाम हुन्छ,’ उनले भने, ‘यस विषयमा मैले चिनियाँ राजदूतसँग कुरा गर्दा उनले तपाईंको सरकारसँग भएको सहमति अनुसार नै बनाएको भन्ने जवाफ दिए ।’ 

नेपाल सरकारसँग भएको सम्झौताबाहेक अन्य कुनै पनि पूर्वाधार आफूहरूले राख्न नसक्ने चिनियाँ राजदूतले जवाफ दिएको मेयर महर्जनको दाबी थियो ।

हेर्दा चिल्लो, तर ज्यानमारा !

कोटेश्वरदेखि कलंकीसम्मको उक्त सडक खण्ड हेर्दा चिल्लो देखिन्छ । निकै चिल्ला देखिने उक्त खण्ड नेपाल सरकारलाई हस्तान्तरण नहुँदै १७ जनाको ज्यान गइसकेको छ ।

जेब्रा क्रसिङ, पुल लगायतका पूर्वाधार नभएका कारण उक्त क्षेत्रमा दुर्घटना बढी हुने गरेको हो । गत शुक्रवार संसदीय समितिमा बोल्दै महर्जनले समेत हस्तान्तरण नहुँदै १७ जनाको ज्यान गइसकेको तथ्याङ्क पेश गरेका थिए ।

‘बाँकी पूर्वाधार नेपाल आफैंले थप्छ’

सरकारले कोटेश्वर– कलंकी सडक खण्डमा हाइवेमा हुनुपर्ने सबै पूर्वाधार नभएकाले बाँकी पूर्वाधार नेपालले आफैं थप्ने जानकारी दिएको छ । सडक विभागका प्रवक्ता गौतमले उक्त सडक खण्डमा रहेका छेउका ट्र्याक समेत यसअघि नेपाल सरकारले आफैंले बनाएको भन्दै बाँकी रहेको पूर्वाधार समेत नेपाल आफैंले नै बनाउने बताए । 

‘चीन सरकारले सम्झौता अनुसार नै सडक बनाएको छ,’ उनले भने, ‘केही पूर्वाधार नभएको साँचो कुरो हो । ती पूर्वाधार बनाउने काम तत्काल अघि बढाउछौं ।’

त्यहाँ जेब्रा क्रसिङ, ओभर हेड ब्रीज लगायतका पूर्वाधार थप्नु पर्ने आवश्यकता देखिएकाले ती पूर्वाधार नेपाल आफैँले थप्ने उनको भनाई थियो । ‘अरू छवटा ओभर हेड बनिराखेको छ,’ उनले भने, ‘हामी अध्ययन गर्दै पूर्वाधार थप्दै गर्छौं ।’

त्यस्तै चीन सरकारले हस्तान्तरण नगरीक नै सो सडक खण्डमा दुर्घटनामा परेर १७ जनाको ज्यान गएको कुरा साँचो भएको भन्दै त्यसका बारेमा समेत अध्ययन गरी सुरक्षा सतर्कता अपनाइने गौतमले बताए ।

salt training

कमेन्ट गर्नुहोस्