जनकपुरधाम, १३ चैत — सरकारलाई दिएको समर्थन फिर्ता लिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अहिले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन बिथोल्ने भन्दै आन्दोलनको तयारीमा जुटेको छ ।
संविधान संशोधनविना मधेसमा निर्वाचन सम्भव छैन भन्दै मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मोर्चाले तराई/मधेसका विभिन्न गाउँमा गाउँपालिका, नगरपालिकामा तालाबन्दी गरी बोर्ड तथा लेटर प्याडहरू जलाउने काम गरिरहेका छन् ।
सप्तरीको राजविराजमा गत फागुन २४ गते भएको घटनापछि आक्रोशित मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर नेताहरू मधेस झरेका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव राज्यले मधेसी जनतासँग युद्धको घोषणा गरेकाले मधेसी जनता पनि हतियार उठाउन तयार रहेकोसम्मका उत्तेजक अभिव्यक्ति दिँदै हिँडेका छन् ।
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि काठमाडौं छोडेर मधेस झरेका छन् । जनकपुरमै डेरा जमाएर बसेका ठाकुर निर्णायक आन्दोलनको तयारी गरिरहेको उनका निकटस्थहरू बताउँछन् ।
राज्यलाई असहयोग र अवज्ञा गर्ने गरी आन्दोलनको नेतृत्व लिन ठाकुर जनकपुर र धनुषाको महेन्द्रनगरमा बस्ने चर्चा चलेको छ । उनका लागि डेराको खोजी पनि गरिएको छ ।
जनकपुरका तमलोपाका केन्द्रीय सहप्रवक्ता कृष्णा सिंहका अनुसार ठाकुर यसपटक बढी नै एग्रेसिभ (आक्रामक) देखिएका छन् । निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको मधेसमा अब कुनै आवश्यकता छैन भन्दै तिनीहरूलाई धपाउन र कार्यालय घेराउ गर्न आफू नै लाठी लिएर जान तयार रहेको भन्दै कार्यकर्ताहरूलाई कडा निर्देशन दिइरहेको उनका सहयोगीहरूले लोकान्तरलाई बताए ।
महन्थ ठाकुर तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष हुन् । तर अहिले उनी एउटा पार्टीको नेता भन्दा पनि मधेसकै सर्वमान्य नेताको रूपमा स्थापित भएका छन् । आन्दोलन आह्वान गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निर्णय नै गरेर उनलाई आन्दोलनको सर्वोच्च कमाण्डरको रूपमा घोषणा नगरेपनि उनलाई अघोषित रूपमा मोर्चाले सर्वोच्च कमाण्डरकै रूपमा मानिरहेको सहजै बुझ्न सकिन्छ ।
सरकारसँग कुनै वार्ता र संवाद गर्नका लागि कूटनीतिक निकायहरूले पहिले ठाकुरलाई नै रोज्ने गर्दछन् । त्यसो त संसदीय सिटको आँकडाले ठाकुरभन्दा उपेन्द्र यादव शक्तिशाली छन् । संसदमा तमलोपाभन्दा बढी सिट संघीय समाजवादी फोरमको छ ।
तर विगतको राजनीतिक अनुभव, उँचाइ र उनको त्याग तथा बेदाग छविका कारण पनि ठाकुरलाई अहिले मधेसमा सर्वमान्य नेताको रूपमा लिने गरिएको छ ।
मधेसी मोर्चा आबद्ध भएको संघीय गठबन्धनका उपेन्द्र संयोजक नै हुन् । तर मोर्चामा आबद्ध घटक दलका अध्यक्षहरू पनि ठाकुरलाई राजनीतिक करीयरको रूपमा र उनको अनुभवको आधारमा पनि वरिष्ठ नेताको रूपमा आदर र सम्मान गर्ने गर्छन् ।
ठाकुरको विद्रोहको यात्रा२०६२/०६३ मा जनआन्दोलन सम्पन्न भएपछि संसद् पुनःस्थापना भयो । पुनःस्थापित प्रतिनिधिसभामा १० वर्ष सशस्त्र युद्ध गरेको तत्कालीन विद्रोही नेकपा माओवादी पहिलोपटक अन्तरिम संसदमा प्रवेश गरेको थियो ।
जनयुद्धकालमा संघीयता, स्वायत्तता, पहिचान र गणतन्त्र नै प्रमुख नारा दिएर विद्रोह गरेको माओवादी सम्मिलित नेपाली कांग्रेस, नेकपा एमाले र सद्भावनासहितको अन्तरिम संसदबाट अन्तरिम संविधान जारी हुँदा संघीयता समावेश गरिएको थिएन ।
यसको परिणामस्वरूप मधेसमा जनविद्रोह भयो । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र मधेसका नयाँ मसिहाका रूपमा उदाए ।
मधेसमा विद्रोह चलिरहेको समयमा महन्थ ठाकुर कांग्रेसको तर्फबाट अन्तरिम सरकारमा सहभागी थिए । नेपाली कांग्रेसका कोषाध्यक्ष पदमा आसीन ठाकुर विज्ञान तथा वातावरण मन्त्रीका हैसियतमा सरकारी वार्ता टोलीका सदस्य थिए ।
गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री रहेको सरकारका शान्ति तथा पुनर्निर्माण मन्त्री रामचन्द्र पौडेलले २०६४ भदौ २३ गते फोरमका अध्यक्ष उपेन्द्र यादवसँग २२ बुँदे सहमति गरेका थिए । उपेन्द्र यादव त्यही प्रथम आन्दोलनको बलमा मधेसका मसिहाका रूपमा उदाएका थिए ।
सहमति भएपनि आखिर दोस्रो आन्दोलन किन भयो ? अचानक ठाकुरले नेपाली कांग्रेसबाट किन विद्राह गरे ? कांग्रेसको पदाधिकारी रहेकै बेला उनले किन पार्टी परित्याग गरे त ?
कांग्रेसबाट ठाकुरको विद्रोहका कारण
जनआन्दोलन सम्पन्न भएलगत्तै ठाकुर मधेस दौडाहामा निस्केका थिए । उनी मधेसका केही जिल्लाहरूमा भ्रमण गरी जनताका बीच पुगे । त्यतिखेर उनलाई मधेसी जनताको मूडको बारेमा राम्ररी थाहा भयो । तत्कालीन सरकारका प्रधानमन्त्री कोइरालालाई भेटेर ठाकुरले मधेसको तत्कालको मूडको बारेमा राम्ररी अवगत गराएका थिए ।
उनले भनेका थिए, ‘मधेसका लागि तत्काल केही न केही गर्नुपर्छ । जनताको मूड बदलिएको छ । वर्षौंदेखि मधेसी जनताका दबिएका आवाजहरू मुखरित भइरहेका छन् । नागरिकता, रोजगारी आदि विषयहरूमा मधेसी जनताले अब खुलेर कुरा गर्न थालिसकेका छन् । त्यसैले मधेसको विषयमा केही न केही सोच्नैपर्ने हुन्छ ।’
त्यसबेला विद्रोही माओवादीसँग शान्ति सम्झौतामा हस्ताक्षर भएपनि कार्यान्वयन भइसकेको थिएन । अनि कोइरालाले ठाकुरलाई यसरी आश्वासन दिएका थिए, ‘जसरी माओवादीको आन्दोलन ‘बियोन्ड ह्यान्ड’, ‘ल एन्ड अर्डर’को समस्या भन्दा पछि गएर विद्रोहको रूप लियो त्यसैगरी मधेसको अहिलेको समस्या पनि ‘बियोन्ड ह्यान्ड’ जान दिनु भएन । म केही न केही तत्कालै गर्छु ।’
तर उनको संकेत थोरबहुत माओवादीबाट विद्रोह गरी सशस्त्र आन्दोलन चलाइरहेका ‘स्प्लिन्ट ग्रुपहरू’ तर्पm थियो । अर्थात् भूमिगत भई विद्रोह गरिरहेका जयकृष्ण गोइत, ज्वाला सिंह लगायतका समूहहरूतर्फ थियो ।
पार्टीभित्र संघर्ष
मधेसी जनताको आवाज उठाउने सवालमा ठाकुर मधेस आन्दोलनमा मात्र नउठाई पार्टीभित्र लामो समयदेखि उठाउँदै आएको बताउँछन् । २०४६ सालको जनआन्दोलनपश्चात् झापामा सम्पन्न नेपाली कांग्रेसको महाधिवेशनमा पनि खुल्ला छलफलको क्रममा मधेसको विषयलाई लिएर प्रस्ताव गरेको उनी सम्झन्छन् ।
त्यतिखेर सुरक्षा निकायमा मधेसीहरूको प्रतिनिधित्व नहुनु, सेनामा मधेसी नहुनु, निजामती सेवामा मधेसी नहुनु लगायतका कुराहरू उनले उठाएका थिए ।
सरकारी सेवा होस् वा सुरक्षा निकाय वा अन्य निकाय त्यसमा मधेसी समुदायको अत्यन्तै न्यून उपस्थिति रहेकोले सरकारले त्यसमा ध्यान दिनेछ भनेर तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले आश्वस्त पनि पारेका थिए । तर उनको बोली कहिल्यै पनि व्यवहारमा परिणत हुन सकेन ।
त्यसैगरी प्रायः जसो मन्त्रिपरिषद्को बैठकहरूमा वा पार्टीको कार्यसमितिको बैठकहरूमा यी कुराहरू आफूले जोडदार रूपले उठाउने गरेको ठाकुर अहिले पनि सम्झन्छन्, ‘खासगरी त्यसबेलाका मुस्लिम नेता सेख इदरिसले आवाज उठाई मतिर हेर्ने गर्थे । तर सन्तोषजनक परिणाम कहिल्यै आउन सकेन । सधैं के भनिन्थ्यो भने अब जुन सेनाको भर्ती हुन्छ त्यसमा मधेसीलाई लिइन्छ । तर दुर्भाग्य त्यस्तो कुरा अहिलेसम्म हुनसकेको छैन ।’
उनले कांग्रेस परित्याग गरेर मधेस झर्दा थिए कांग्रेसभित्रकै थुप्रै मधेसी नेताहरूले विद्रोह गर्ने ठाकुरलाई आश्वासन दिएका थिए । तर केही नेताहरू मात्र विद्रोह गरेर उनीसँगै आएका थिए ।
उनी भन्छन्, ‘हामी विद्रोह गरी जाँदैछौं भन्ने कुरा सबै मधेसी नेताहरूलाई थाहा थियो तर जाने वा नजाने हरेक नेताको आफ्नो स्वतन्त्रता हुन्छ । केही आए, केही आएनन् ।’
उनको विचारमा वषौंदेखि एउटा पार्टीमा जीवन बिताइसकेपछि विद्रोह गर्नु सामान्य कुरा पक्कै होइन । त्यसमा पनि राष्ट्रिय पार्टी परित्याग गर्ने कुरा मान्छेले सोच्नै सक्दैनन् ।
जतिबेला ठाकुरले पार्टीबाट विद्रोह गरेका थिए, त्यतिबेला पार्टीका तत्कालीन प्रधानमन्त्री एवं पार्टी सभापति कोइरालाले भनेका थिए, ‘नेपाली कांग्रेस भनेको महासागर हो । एक दुई थोपा वा एक दुई गाग्री पानी हराउँदैमा महासागरलाई केही असर पर्दैन’ ।
कांग्रेसभित्रका मधेसी नेताहरूले भन्ने गर्थे, ‘सरकारमा गिरिजाबाबुले ठाकुरजीलाई प्रोटोकलको हिसाबले मन्त्रालय नदिई ‘पावरलेस इन्फेरियर’ मन्त्रालय विज्ञान तथा प्रविधि मन्त्रालय दिएर ‘ह्युमिलिएट’ गरेका कारण उनले विद्रोह गरेका हुन् । एकातर्फ कांग्रेसका नेताहरूले त्यसो भनिरहेका थिए भने मधेसमा जनताले पनि उनलाई विश्वास गर्न सकिरहेका थिएनन् ।
आन्दोलनमा घुसपैठ गराउन गिरिजाबाबुले आफ्नो एजेण्ट बनाएर मधेसमा छिराएको भन्ने आरोप समेत जनताले लगाईरहेका थिए । ‘मैले कहिल्यै पनि कुनै पदको लागि आकांक्षा व्यक्त गरेको थिइनँ । पार्टीले जे अवसर दियो, मैले सहर्ष स्वीकार गर्दै गएँ । कहिल्यै मैले माग पनि गरेको थिइनँ । जहाँसम्म पदको कुरा हो, त्यो त अहिले पनि तपाईंहरू सुन्नुहुन्छ कि कहिल्यै राष्ट्रपति त कहिल्यै उपराष्ट्रपति । यतिमात्र होइन प्रधानमन्त्रीसम्ममा पनि मेरो नाउँको चर्चा गर्ने गर्छन्,’ ठाकुर भन्छन्, ‘तर, तपार्इंले कहिल्यै मलाई ती पदहरूप्रति लोभ देखाएको देख्नुभएको छ ? ती पदहरू त अब मलाई गाली जस्तो लाग्छन् ।’
उनको विद्रोहलाई लिएर मधेसका कांग्रेसी नेताहरूले अनौपचारिक कुराकानीहरूमा खिल्ली उडाइरहेको पाइन्छ । कांग्रेसभित्रै रहेको भए रामवरण यादवलाई नभई उनलाई नै गिरिजाबाबुले राष्ट्रपति बनाउँथे । पार्टीभित्रै रहेको भए उनी प्रधानमन्त्रीसम्मका दाबेदार हुन्थे ।
तर विद्रोह गरिसकेपछि उनको हैसियत राष्ट्रिय नेताबाट क्षेत्रीय नेताको रूपमा मात्र गिरावट भएको छैन, संविधानसभाको दुई पटकको निर्वाचनमा समेत उनी पराजित भइसकेका छन् ।
उनले विद्रोह गरेर आफ्नो राजनीतिक करीयरलाई नै गुमाइसकेको भनेर कांग्रेसका मधेसी नेताहरूले कुरा काट्ने गर्छन् । त्यसो हुँदा साँच्चै उनलाई पश्चात्ताप भइरहेको छ वा गौरव भन्ने प्रश्नमा ठाकुर भन्छन्, ‘जतिबेला मैले मधेसको एजेण्डाका लागि विद्रोह गरें, पार्टीका साथीहरू मात्र होइन, विभिन्न देशका डिप्लोम्याटहरूले पनि तपाईंको बाटो पतनतिर जान्छ भनेर भनेकै थिए । मैले पनि त्यो कुरालाई बुझेर नै विद्रोह गरेको हुँ । पश्चात्तापको कुरै छैन । मेरो जीवन नै संघर्षमा बितेको छ । अहिले पनि संघर्ष गरिरहेकै छु र अन्तिम साससम्म पनि मधेसी जनताका लागि संघर्ष गरि नै रहनेछु । यसको अर्थ यो होइन कि म अरू मानिसहरूको भलो चाहँदिन । सबैको भलाइ होस् र मधेसीलाई सम्मानका साथ बाँच्न पाउने अवसर मिलोस् भन्ने मेरो चाहना हो ।’
विद्रोह गरेलगत्तै उनले आफ्नो अगुवाइमा तराई मधेश लोकतान्त्रिक पार्टी गठन गरी फोरम नेपाल र सद्भावना पार्टी सम्मिलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा गठन गरे । सरकारसँग भएको २२ बुँदे सम्झौतालाई कार्यान्वयन गराउनका निम्ति उक्त मोर्चाले दोस्रोपटक मधेस आन्दोलन गरेको थियो ।
२०६४ साल फागुन १६ गते प्रधानमन्त्री कोइरालाले आन्दोलनरत पक्षसँग आठ बुँदे सम्झौता गरी संविधानसभाको निर्वाचन गराएका थिए । कोइरालाका उत्तराधिकारी सुशील कोइरालाको नेतृत्वको सरकारले संविधानसभाबाट संविधान जारी समेत ग–यो । तर विगतमा गरिएका ती आठ बुँदे र २२ बुँदे सम्झौतालाई संविधानमा सम्बोधन नगरिएको भन्दै मधेसी मोर्चा फेरि विगत डेढ वर्षदेखि आन्दोलित छ ।
त्यो आन्दोलन र अहिलेको आन्दोलनमा के भिन्नता छ ? ठाकुर भन्छन्, ‘विगतका आन्दोलनहरूको भन्दा जनताको राजनीतिक चेतनाको स्तर धेरै अगाडि बढिसकेको छ । गाउँगाउँमा यहाँसम्म कि बच्चा बच्चामा जय मधेसको भावना विकसित भएको छ ।’
‘मधेस’ देशको लाइफलाइन महन्थ धेरै पहिलेदेखि एउटा कुरा भन्दै आएका छन् । पानी उत्तरबाट दक्षिणतिर बग्ने गरेको भएपनि जीवनमार्ग दक्षिणबाट उत्तरतर्फ जाने गर्दछ । त्यो जीवनमार्गलाई धेरै बढी तन्काइयो भने भाँचिन पनि सक्छ ।
त्यही कुरालाई उनले वार्ताको क्रममा सुशील कोइराला नेतृत्वको सरकार र खड्ग प्रसाद शर्मा ओलीको नेतृत्वको सरकारलाई प्रस्टसँग बुझाएका थिए । र प्रचण्ड नेतृत्वको अहिलेको सरकारकै समयमा राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वपक्षीय तथा सर्वदलीय बैठकमा पनि राज्यले मधेसी गुमाइसक्यो र पनि परिवर्तन हुँदैन भने मधेस पनि गुमाउनुपर्नेछ भनेर प्रस्ट सन्देश दिइसकेका छन् ।
त्यसैपनि नेपालको नक्सालाई हेरियो भने मधेस धेरै नै नरम भाग हो । ‘राजनीतिक’ र ‘रणनीतिक’ दुवै दृष्टिकोणले अत्यन्तै नरम भागमा पर्दछ मधेस । उक्त भूभागमा केही डिस्टरबेन्स हुन्छ भने पूरै नेपाल त्यसबाट प्रभावित हुन्छ ।
त्यसैले उनी भन्छन्, ‘मैले सरकारलाई बारम्बार यही कुरा भनिरहेको छु कि तपाईंले मधेस नेपालको जीवनमार्ग हो भन्ने कुरा बुझिरहनुभएको छ भने त्यसलाई सम्बोधन किन गरिरहनुभएको छैन ? मधेसमा जे कठिनाइहरू छन्, त्यसको समाधान किन गरिरहनुभएको छैन ?’
सम्बन्ध टुट्न सक्छराजनीतिक दलहरूले मधेस आन्दोलन र मधेसका मुद्दाहरू सम्बोधन भन्दापनि विगतको नाकाबन्दी र राजमार्ग अवरुद्धको कुरा मात्र गरेर समस्या समाधान गर्न नचाहेको उनको गुनासो छ ।
ठाकुर भन्छन्, ‘नाकाबन्दीका दौरान मधेस त डबल नाकाबन्दीमा परेको थियो । जे थोरबहुत मालसामान नेपाल भित्रियो, त्यो सामान सरकारले आफ्नो लागि र काठमाडौंको जनताको लागि मात्र लग्ने गरेका थिए । त्यसमध्ये मधेसमा कुनै सामान दिइरहेका थिएनन् । त्यसैले मधेसका जनता थप मर्कामा परेका थिए ।’
तराईको अवस्था बिग्रँदै गए शान्ति सुरक्षाका लागि सेना परिचालनसम्मका कुरा उठ्ने गर्छन् बेलाबखत । सेना परिचालनको सम्भावनाका विषयमा ठाकुर भन्छन्, ‘नेपाल सरकारले जुन दिन मधेसमा सेना परिचालन गर्नेछ, त्यो दिन हाम्रो परिस्थिति के हुनेछ ? शान्तिपूर्ण र अहिंसक आन्दोलन भइरहेकोमा भोलि परिस्थिति बदलिन सक्छ । देशको रक्षा गर्ने सेनालाई जनताविरुद्ध परिचालन गर्दा मधेसका जनता राज्य र सेनाविरुद्ध पनि विद्रोही बन्न सक्छन् ।”
कुनै हालतमा नझुक्ने
दलहरूसँग वार्ता र संवाद चलिरहेको समयमा राज्यसँग सम्झौता गर्ने वा नगर्ने सवालमा ठाकुर भन्छन्, ‘सम्झौता पनि दुईखाले हुन्छ । एउटा आत्मसर्पण र अर्को सम्मानजनक लक्ष्यप्राप्ति सहितको सम्झौता । तर म सबैलाई के आश्वस्त गर्न चाहन्छु भने मधेसीको शिर झुक्नेगरी सम्झौता हुँदैन किनभने शिर ठाडो भयो भने मात्र हमलावरलाई पनि हेर्न सकिन्छ । शिर झुकाउँदा को आफ्नो मित्र वा को आफ्नो शत्रु हो छुट्ट्याउन सकिन्न ।’
स्वास्थ्य र उमेरले साथ दिएसम्म मधेस र मधेसी जनताकै लागि संघर्ष गरिरहने उनको इच्छा छ । महन्थलाई पछिल्लो समय तराईमा एन्ग्री ‘ओल्ड म्यान’को अवतार भनिँदैछ ।
Advertisment
Advertisment