चीनमा किशोरहरूले राति १० बजेपछि भिडियो गेम खेल्न नपाउने

काठमाडौं – चीनले १८ वर्षभन्दा मुनिका किशोरहरूलाई अन्लाइन भिडियो गेम खेल्न प्रतिबन्ध लगाएको छ । भिडियो गेमको लत छुटाउनका लागि चीनले यो कलम चालेको हो । 

आधिकारिक सरकारी निर्देशन सबै अन्लाइन गेमहरूका हकमा लागू गरिनेछ । विशेषगरी यसले संसारको सबभन्दा ठूलो गेमिङ कम्पनी टेनसेन्टलाई असर गर्नेछ । 


Advertisement

नयाँ नियमअन्तर्गत १८ वर्षमुनिका किशोरहरूले राति १० बजेदेखि बिहान ८ बजेसम्म अन्लाइन भिडियो गेम खेल्न पाउने छैनन् । सोमवारदेखि शुक्रवारसम्म उनीहरूले ९० मिनट मात्र खेल्न पाउनेछन् भने सप्ताहान्त र सार्वजनिक बिदाका बेलामा उनीहरूले तीन घन्टासम्म खेल्न पाउनेछन् । 

निर्देशिकामा किशोरहरूले अन्लाइन गेमिङ अकाउन्टमा ट्रान्सफर गर्न सक्ने रकम पनि तोकिएको छ । आठदेखि १६ वर्षसम्मका गेमरहरूले प्रतिमहिना २०० युआन मात्र खर्च गर्न पाउँछन् भने १६ देखि १८ वर्षसम्मकाले ४०० युआन अधिकतम रकम खर्च गर्न पाउँछन् । 

चीन संसारकै सबभन्दा ठूलो गेमिङ मार्केट हो र वैश्विक रेभेन्युको एक चौथाइ चीनबाटै आउने बजार अनुसन्धान कम्पनी न्युजूले जनायो । 

सीएनएनबाट
 

कमेन्ट गर्नुहोस्