यस्तो छ नख्खु जेलमा आलमको दिनचर्या

आफैँले बनाउन लगाएको बम विस्फोटमा घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा हाल्ने अफ्ताब आलमलाई ललितपुरको नख्खु जेलमा राखिएको छ । शनिबार बिहान नख्खु ल्याइएका आलमलाई सिआरसी (कम्युनिटी रिह्याबिटेसन सेन्टर) ब्लकमा राखिएको छ । यो ब्लकमा लागुऔषध दुर्व्यसनी र हत्या अभियोगका थुनुवा राखिन्छ । 

नख्खु कारागार स्रोतका अनुसार शनिबार बिदाको दिन परेकाले उनलाई लागुऔषध दुर्व्यसनीका थुनुवासँगै राखिएको छ । पुर्पक्षका लागि जेल पठाउन रौतहट जिल्ला अदालतले आदेश दिएपछि शुक्रबार राति गौरबाट हिँडाइएका आलमलाई शनिबार बिहान ४ बजे नख्खु पुर्‍याइएको थियो । शनिबार उनले सिआरसी ब्लकमै आराम गरेका थिए । उनी दिउँसो एकछिन कारागारभित्रै टहलिएका थिए । केहीबेर आफन्तसँग पनि भेटघाट गरेको कारागार स्रोतले बतायो । मधुमेहका रोगी आलमलाई परिवारले कारागारमै औषधि लगिदिएका थिए । 


Advertisement

प्रहरीको अनुसन्धान मात्र होइन, मिडिया र खासगरी नयाँ पत्रिकाको समाचारप्रति आलमले असन्तोष व्यक्त गरेका छन् । रौतहट अदालतबाट जेल हिँड्नुअघि एसपी भूपेन्द्र खत्रीलाई आलमले भनेका थिए, ‘नयाँ पत्रिकाले जे–जे भन्यो, तपाईंहरूले त्यही–त्यही मान्नुभयो, ठीकै छ ।’ एसपी खत्रीको जवाफ थियो, ‘मिडियाले आफ्नो सूचनाका आधारमा लेख्छ, हामीले आफ्नो अनुसन्धानका आधारमा मुद्दा चलाएका हौँ ।’


Advertisement

उता, राजपुर बम विस्फोटमा घाइते भएर जिउँदै इँटाभट्टामा जलाइएका ओसी अख्तरकी आमा रुक्साना खातुनको हत्या पनि अफ्ताव आलमले नै गरेको प्रारम्भिक निष्कर्ष प्रहरीको छ । रुक्साना हत्या घटनाको प्रहरीले पुनः अनुसन्धानसमेत गर्ने भएको छ । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्