कान छाम्ने कि कागका पछाडि दौडिने ?

बैशाख २१, २०७६

नेपालीमा एउटा उखान छ– ‘कागले कान लग्यो भनेर कागको पछि लाग्नुभन्दा आफ्नै कान छाम्नु बुद्धिमानी हुन्छ ।’ पुर्खाले पहिले बनाएका उखान हो यो तर उखानमै सीमित नभई हालको हाम्रो अवस्थाको प्रतिनिधित्व गरेको छ यसले । अहिले पनि हामी कान छाम्न छाडेर कागको पछि लाग्दै आएका छौंं । 

हेर्नुस् त, तपाईंका कान लान बसेका काग कति छन् ? राजनीतिक काग पनि छन्, गैरराजनीतिक काग पनि छन् । कांग्रेसी काग पनि छन् । कम्युनिस्ट काग पनि छन् । राजावादी काग पनि छन् । राजाविरोधी काग पनि छन् । त्यसभित्रका समूह तथा उपसमूहका काग पनि त्यत्तिकै छन् ।


ADVERTISEMENT

यिनमा धर्मसम्प्रदायवादी काग झनै धेरै छन् । हिन्दूवादी काग, अहिन्दूवादी काग, वैष्णव काग, शैव काग, शाक्त काग, द्वैतवादी काग, अद्वैतवादी काग, विशिष्टाद्वैतवादी काग, द्वैताद्वैतवादी काग, शुद्धाद्वैतवादी काग । बौद्धवादी काग, इस्लामवादी काग, इसाईवादी काग । तिनका पनि विभिन्न समूहका काग । ओ हो कति हो कति काग, कागैकाग । कान लाने काग, कान लान बसेका काग, जसका हामी पछि लाग्दै आएका छौं तर कान भने पाउन सकेका छैनौं । 

जबसम्म आफ्नै कान छाम्ने प्रयास गर्दैनौं, तबसम्म पाउन सक्ने पनि छैनौं । हामी पछि कुदिरहन्छौ, उनीहरू कुदाइरहन्छन् । कान भने पाउँदैनौं किनकि उनीहरूसित हाम्रो कान नै छैन । जुन छ उनीहरूकै छ, उनीहरूलाई नै चाहिन्छ, हामीलाई दिन सक्दैनन् । हाम्रो आफ्नो कान हामीसँगै छ । तपाईंको कान तपाईंसितै छ । मेरो कान मैसित छ । 

प्रकृतिले हामीलाई आफूलाई चाहिने कान दिएर पठाएको छ, जलाई कसैले लान सक्दैन । हामीसँगै आएको छ, हामीसँगै जान्छ । मात्र हामीले आफ्नो कान छाम्नुपर्छ, उसको आवाज सुन्न सक्नुपर्छ । उसले सधैं ‘म तिमीसँगै छु, तिम्रो हुँ, मलाई छाम, आवाज सुन’ भन्दै आएको छ । उसले खान हुने नहुने, सुन्न हुने नहुने, बोल्न हुने नहुने, हेर्न र छुन हुने नहुने, गर्न हुने नहुने र खानुपर्ने, सुन्नुपर्ने, बोल्नुपर्ने, छुुनुपर्ने र गर्नुपर्ने सबै भन्दै आएको छ । आवश्यकता छ उसको आवाज सुन्ने र मनन गर्ने । अझै पनि त्यति बिग्रेको छैन । ‘जब जागा तब सबेरा’ । त्यति मात्र गर्न सक्ने हो भने कसैले पनि कान लान सक्दैन, त्यस्तो हिम्मतै गर्न सक्दैन । 

हाम्रो गन्तव्य निकै टाढा छ । अनन्त यात्राका यात्री हौं हामी । अनन्तकालदेखि यसैमा लाग्दै आएका छौं तर गन्तव्य भेटाउन सकेका छैनौं । उसलाई भेटाउने शक्ति पनि छ, यस निम्ति चाहिने साधन प्रकृतिले दिएर पठाएको छ । तैपनि पाउन सकेका छैनौं किनकि कानको खोजीमै छौं हामी । आफ्नो कान अरूले लग्यो भन्ने भ्रम छ हामीमा । त्यसैको पछि लाग्दै आएका छौं, कान छाम्नतिर ध्यानै दिएका छैनौं । उसको आवाज सुनेका छैनौं । हो, गडबडी यहीँ छ । 

तपाईं शक्तिशाली खेलाडी हो, गोल आफैं गर्न सक्नुहुन्छ । अरूको सहयोग चाहिन्न, कसैको वैशाखी चाहिन्न । तपाईंलाई चाहिने तपाईंसितै छ । तपाईसँगै आएको छ, तपाईंकै साथमा छ । आकाश पनि तपाईसँगै छ । जमीन पनि तपाईंसँगै छ । कानले त्यसको संकेत गरेको पनि छ, तर कागको पछि लाग्दैमा फुर्सद छैन हामीलाई । कागले कान लग्यो भनेका छौंं, त्यसकै पछि लागेका छौं । यस्तो चाला रहेसम्म यस्तै हुन्छ । दुःख प्रशस्तै पाइन्छ तर खोजेको चीज पाइँदैन । 

छाता ओढ्न डाँठ आपैmले समाउनुपर्छ । छातेको सहारा खोज्नु हुन्न । अन्यथा उसले छाता आफूतिरै फर्काउँछ । छाता पनि छ, ओढ्न सक्ने शक्ति पनि छ । किन छातेको सहारा खोज्नुहुन्छ ? मानिलिनुस्, पानी परिरहेको छ, छाता पनि छ तर डाँठ अरूलाई समाउन दिनुभयो भने के हुन्छ ? उसले छाता आफैंतर्फ तान्छ, छाता भएर पनि टाउको भिजाउनुपर्छ तपाईंले । डाँठ अर्काको हातमा भएसम्म छाता अरूले उतै तान्छ, तपाईं भिज्नुहुन्छ, भिजिरहनुभएको छ, भिजिरहनुहुनेछ ।

सबैको रुचि अलग छ, स्वभाव अलग छ । प्रकृतिले सबैलाई रुचि र स्वभाव अलग–अलग दिएर पठाएको छ । तपाईंलाई अलग्गै दिएको छ । मलाई अलग्गै दिएको छ । अरूहरूलाई अलग्गै दिएको छ । कसैको पनि अनुहार मिल्दैन, मिलेको जस्तो लागे पनि केही न केही फरक भएकै हुन्छ । किन थाहा छ ? किनकि सबैको रुचि र स्वभाव अलग हुँदा अनुहारको बनोटमा सहयोग गरेको छ । अरूको रुचिको पछि लाग्ने हो भने उसलाई जे मन परेको छ त्यही खानुपर्ने हुन्छ, जुन तपाईंको रुचि र स्वभाव अनुकूल छैन । उनीहरूले भनेको गर्नुपर्नेछ, उनीहरूको बाटो हिँड्नुपर्नेछ । तपाईंको गन्तव्य अन्तै छ, बाटो अलग्गै छ तर बाटो भने अरूले नै हिँडेको बाटो हिँडिरहनुभएको छ भने भन्नुस् त आफ्नो गन्तव्य कसरी भेटाइएला ?

आफ्नो बाटो आफैं हिँड्नुपर्छ । आफैंले खोज्नुपर्छ । नभेटे बनाउनुपर्छ । अरूको भर पर्न हुँदैन । बाटो पत्ता नलागे सोध्नसम्म सकिन्छ । तर कस्तो छ, आफ्नो हो, होइन, आफूले खोजेको जस्तो छ, छैन, आफूलाई मनपर्ने हो, छैन, आफूअनुकूल छ, छैन आदि कुराको निर्णय आफंैले गर्नुपर्छ । सोधेको भरमा, कसैले भनेको भरमा निर्णय गर्न थालियो भने अलमलमा परिन्छ । अरूलाई सोध्दा सबैले आफूले हिँडेको बाटो नै देखाउने हुन्, आफूलाई थाहा भएको बाटो नै बताउने हुन्, जुन तपाईंको नहुन पनि सक्छ, तपाईं अनुकूल नदेखिन पनि सक्छ । त्यस्तो भयो भने के गर्नुहुन्छ ? भएन फसाद ? अहिलेसम्म भएकै त्यही हो । हामी अरूको भरपर्न थाल्यौं । अरूले आफ्नै बाटो देखाइरहे । फलतः हामीेले कहिल्यै गन्तव्य भेट्टाउन सकेनौं, गन्तव्यमा पुग्न सकेनौं । उनीहरूले घुमाइरहे, हामी घुमिरह्यौं । मानिलिनुस्, बजारमा समान किन्न जानुभएको छ । कुन राम्रो भनेर अरूलाई सोध्ने कि आफूलाई राम्रो लागेको खरीद गर्ने ? आफैंलाई राम्रो लागेको खरीद गर्नुपर्छ होइन र ? अरूलाई सोध्न थालियो, अरूले राम्रो भनेकालाई नै राम्रो ठान्न थालियो भने के हालत हुन्छ । हो, द्विविधा भएमा सोध्नु नराम्रो होइन, सोध्नुपर्छ तर आफूलाई राम्रो लागेको छ छैन, आफूअनुकूल छ छैन, सानो ठूलो पो छ कि निर्णय आफैंले गर्नुपर्छ नि, होइन र ? यही नै आफ्नो कान छाम्ने सूत्र हो । आगे आफ्नै मर्जी !

बैशाख २१, २०७६ मा प्रकाशित

कमल रिजाल

लोकान्तरका नियमित स्तम्भकार कमल रिजाल धार्मिक संस्कार र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस