प्रधानमन्त्रीज्यू, मास्क लगाएको मान्छे हेर्न कलंकी र बौद्ध जानुहोस् !

बैशाख २९, २०७६

वातावरण सम्बन्धी काम गरिरहेका संस्थाका विभिन्न अन्तर्राष्ट्रिय आँकडाहरूले काठमाडौंलाई सबैभन्दा धेरै प्रदूषण हुने शहररूको सूचीमा राखेको भनेर बेलाबखत समाचार आइरहन्छन् । र यो कुनै आश्चर्यको विषय पनि हैन ।

काठमाडौं लगायत देशका कैयौं शहरहरू खुला नाक लिएर हिँड्नै नसकिने किसिमले प्रदूषित भएका छन् । फोहोरकै कारण अस्पतालमा बिरामीको चाप बढिरहेकै छ । डाक्टरहरूका अनुसार, दूषित हावापानीका कारण बिरामी हुनेको संख्या अत्यधिक छ । सामान्य भन्दा सामान्य कुरालाई व्यवस्थापन गरे ती रोगहरू नलाग्ने उनीहरूको तर्क छ ।


ADVERTISEMENT

पहिलो तर्क, डाक्टरहरूले बिहानको समयमा काठमाडौंमा मर्निङवाक नगर्न सुझाव दिएका छन् । अर्थात् उनीहरूका अनुसार, काठमाडौंको हावामा धूलोको मात्रा धेरै छ । र जमीनमा पनि प्रदूषण अत्यधिक छ । बिहान वा घाम झुल्किने समयमा बाहिर हिँड्दा धूलोधूवाँका कणहरू प्रत्यक्ष रूपमा मानिसको शरीरमा प्रवेश गर्ने उनीहरूको भनाइ छ । र यो डाक्टरले भनिरहनुपर्ने विषय पनि हैन, कम्तीमा काठमाडौंको हकमा ।

हरेक बिहान महानगरपालिकाका कर्मचारीहरूले प्लास्टिक जलाइरहेका हुन्छन् सडकको किनारमा । फोहोर त कुहिने र नकुहिने हुन्छ भन्छन् तर महानगरका कर्मचारीहरूलाई कसले तालिम दिएको होला ? चाउचाउको कागज आगोले जलाइरहेका हुन्छन् ।

दोस्रो, डाक्टरहरू नै के भन्छन् भने काठमाडौंमा खुला रूपमा पैदल यात्रा गर्दा मास्क अनिवार्य लगाउनुपर्छ । बिहान र दिउँसोको समयमा झन् लगाउनुपर्छ । मास्क व्यापारीहरू पनि दिनमा हजारौं रुपैयाँको मास्क बेच्ने गरेको सुनाउँछन् । तर यो नौलो कुरा रहेन । मास्क लगाउने कुरा स्वास्थ्यप्रति सचेत रहने कुरा न भयो, जोसुकैले जुनसुकै समयमा लगाउन सक्ने भयो प्रदूषणबाट जोगिन । तर शहर सफाइका लागि भनेर सरकारमार्फत महानगरपालिकाले बर्सेनि करोडौं रूपैयाँ खर्च हुन्छ । सरसफाइ गर्ने सयौं हजारौं कर्मचारीहरू छन् । ब्रूमर पनि किनिएको छ भनिन्छ । तर तिनले के काम गर्छन् ? दिनभरि सुतेर तलब त थाप्दैनन् ?

प्रदूषणले मानिसहरू आन्दोलन गर्नुपर्ने अवस्थामा पुगिसके । कलंकी र बौद्धमा त आन्दोलन नै भयो । सडक निर्माणको बहानामा बाटो भत्काउने र वर्षौंसम्म अलपत्र पारेर ठेकेदार हराउने प्रचलन त नयाँ हैन । तर काठमाडौं देशको मुटु भनौं वा प्रमुख शहर हो । राजधानी हो । विदेशीहरूको चाप हुने स्थानमा कुनै ठेकेदार बाटो भत्काएर अनि धूलोमैलो बनाएर अनि कामै ठप्प पारेर कसरी एकाएक गुमनाम हुनसक्छ ? के राज्यको नाकैअगाडि ठेकेदारहरू यो स्तरको गैरजिम्मेवार बन्न सक्छन् ? राज्यको वातावरण नीति कहाँ छ ? राज्यको अनुगमन संयन्त्र कहाँ छ ? यस देशमा नियम कानूनको पहरेदार कहाँ छन् ? 

कम्तीमा राजधानी उपत्यकामा मास्क लगाएर हिँड्ने अवस्थाको सकेसम्म छिटो अन्त्य गरे देशकै इज्जत जोगिने थियो भन्ने हो ।

हालसालै प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले सरकारका नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा अब काठमाडौंमा मास्क लगाएर हिँडेको मान्छे देख्न नपर्ने बताउनुभयो । यो उदेकलाग्दो कुरा भयो । यो प्रधानमन्त्रीज्यूको भाषणका लागि भाषण भयो । लोकवासीहरू हाँस्ने कुरा भयो । उखान टुक्का भन्दा पनि अझै हास्यास्पद कुरा भयो । शायद प्रधानमन्त्रीजी खुला सडकमा नहिँडेको वर्षौं भयो । उनलाई बाहिरी दुनियाँ थाहा नहुने कुरा स्वाभाविक छ । बालुवाटारमा मास्क नलगाएका मानिसहरू हुन सक्छन् । मास्क लगाएका मानिस हेर्न त कलंकी र बौद्ध जानुपर्छ ।

सरकारले काठमाडौं उपत्यकामा व्याप्त धूलो र धूवाँको समस्या नियन्त्रणका लागि छुट्टै इकाइ गठन गरेर काम थालेको थियो । त्यसका निम्ति बजेट पनि विनियोजन गरियो । पूर्वाधारहरू समेत तयार गरियो । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको निर्देशनमा साबिकको वातावरण मन्त्रालयले मन्त्रालयमा शाखाकै रूपमा रहने गरी ‘धूलो नियन्त्रण इकाइ’ गठन गरेको थियो । तर यो इकाइले अहिलेसम्म के काम गरिरहेको छ, कहाँकहाँ काम गरिरहेको छ केही थाहा छैन । हावाको भरमा चटके निर्णयहरू भइरहेका छन् । काठमाडौंलाई धूलोमुक्त गर्ने कुरा पनि वाग्मती सफाइ परियोजना जस्तो भइसक्यो । अर्बौं रूपैयाँ खर्च हुने तर फोहोर जस्ताको त्यस्तै हुने ।

नेपालको संविधानले हरेक नागरिकले स्वच्छ वातावरणमा बाँच्ने पाउने अधिकारको ग्यारेन्टी गरेको छ । तर राजधानीको धूलोका कारण सर्वसाधारणले कष्टपूर्ण जीवन बिताउनुपरेको छ । खासगरी पैदलयात्रीहरू झनै ठूलो मारमा परेका छन् । धूलोको प्रमुख स्रोत सडक आयोजना निर्माणमा भइरहेको ढिलाइ नै हो ।

दोस्रो, असभ्य नागरिकको मनलाग्दी फोहोरी आदत । तेस्रो, हरियाली नहुनु, रुखबिरुवा नहुनु, घरैघर मात्र हुनु । काठमाडौं भित्रिने सवारीसाधनहरू पखालेर मात्र ल्याउने भनेर कैयौं सरकारको निर्णय आयो तर आजका मितिसम्म त्यो पालना हुन सकेन ।

कम्तीमा राजधानी उपत्यकामा मास्क लगाएर हिँड्ने अवस्थाको सकेसम्म छिटो अन्त्य गरे देशकै इज्जत जोगिने थियो भन्ने हो । मास्क लगाउने, नलगाउने कुरा प्रमुख हैन । मुख्य कुरा शहरलाई प्रदूषणमुक्त कसरी गराउने ? प्रश्न यो हो । प्रदूषणबाट देशलाई जोगाउन सके मानिसहरू आफैं निरोगी हुन्छन् । नेपालमा वायु गुणस्तरसम्बन्धी मापदण्ड अनुसार, धूलो पीएम २.५ अर्थात ४० माइक्रोग्राम भन्दा बढी हुनुहुँदैन । तर काठमाडौं उपत्यकामा हिउँदको समयमा यसभन्दा निकै बढी हुन्छ ।

यस किसिमको प्रदूषणका कारण छाला चिलाउने, आँखा चिलाउने, खोकी लाग्ने, हाच्छिउँ आउने, छाती घ्यारघ्यार हुने जस्ता समस्या देखा पर्ने गरेका छन् । दीर्घकालीन असरका रूपमा श्वासप्रश्वास र रक्तनलीमा समस्या आउँछन् । श्वाप्रश्वास अन्तर्गत लामो समयसम्म दमको समस्या हुने, फोक्सोमा क्यान्सर हुने जोखिम बढ्छ । रक्तनलीमा पनि प्रदूषणले धेरै असर गर्छ । जस्तै, रगत जम्ने समस्या, मुटुरोग, हृदयघात, क्यान्सर रोग, मस्तिष्कघात हुने जस्ता समस्या निम्तिन्छ । डाक्टरहरूका अनुसार, राजधानीमा यस्तै लक्षणका बिरामीहरूको संख्या निकै उच्च छ । 

तपाईं पत्याउनुहुन्छ ? प्रधानमन्त्रीलाई पनि टेरेनन् । आजित भएपछि स्थानीयले आन्दोलन गरेका छन् । हेरौं केही हुन्छ कि ? पशुपतिनाथले रक्षा गर्छन् कि ?

अर्को कुरा, मास्क नै धूलोधूवाँको समस्याको समधान हैन । मास्क लगाएर मात्रै सबै प्रदूषण रोक्ने पनि होइन । मास्क लगाउँदा पनि एन ९५ लगायो भने रोक्ने हो, त्यसले पनि हानिकारक ग्यास रोक्न सक्दैन । त्यो सबैको पहुँचमा पनि छैन र २४ घण्टा नै मास्क लगाएर बस्न पनि सम्भव छैन । डाक्टरहरूका अनुसार, अझै कपडाको मास्कले त कुनै काम गर्दैन । मेडिकल मास्क पनि एकपटकको लागि मात्रै हो । त्यसैले सरकारले मास्क लगाएका मान्छे छैनन् हैन कि प्रदूषण कति छ, छैन त्यसतर्फ ध्यान दिन जरूरी छ । १० माइक्रोनभन्दा कम साइज अथवा २.५ माइग्रोनभन्दा सानो साइजले धेरै असर गरेको हुन्छ । ग्यासहरूमा सल्फर डाइअक्साइड र नाइट्रस अक्साइडले अझै धेरै असर गर्छ भन्ने कुरा मास्कका वकालत गर्नेहरूलाई जानकारी हुनुपर्छ ।

राजधानी काठमाडौंका भित्री सडकहरूको अवस्था र प्रदूषणको त कुरै नगरौं, मुख्य मानिएका चुच्चेपाटी–साँखु सडक विस्तार गर्न शुरू गरेको एक दशक भइसक्यो होला तर आजको मितिसम्म त्यो सडक पूरा हुने र हिउँदयाममा धूलो, वर्षायाममा हिलोको नियतिबाट जोगिने सम्भावना कमै देखिन्छ । चुच्चेपाटी–साँखु सडकखण्ड विस्तार गर्न उपत्यका सडक विस्तार आयोजनाले २०७२ असोजमा युनाइटेड बिल्डर्स–बज्रगुरु–बिरुवा जेभीलाई ठेक्का दिएको थियो । सडक विस्तार आयोजनाको चर्चा शुरू भयो तर काम भएन। 

बौद्धदेखि जोरपाटीसम्मको दुई किमि सडक युनाइटेड बिल्डर्स कम्पनीले पाए पनि साइड क्लीयर नगरेको भन्दै दुई वर्षदेखि कम्पनीले काम गरेको छैन । किन गरेको छैन थाहा पनि छैन । बाटो नबनेको भन्दै सरकारको तीव्र आलोचना भएपछि प्रधानमन्त्री कार्यालयले समेत यथाशक्य चाँडो पिच गर्न निर्देशन दिएको थियो । तर ती ठेकेदारहरूले टेरेनन् । तपाईं पत्याउनुहुन्छ ? प्रधानमन्त्रीलाई पनि टेरेनन् । आजित भएपछि स्थानीयले आन्दोलन गरेका छन् । हेरौं केही हुन्छ कि ? पशुपतिनाथले रक्षा गर्छन् कि ?

पढ्नुहोस्, यो पनि:

‘प्रधानमन्त्रीज्यू ! धूलो र मास्क हेर्न सडकमा आउनुस्, सिंहदरबारबाट देखिँदैन’ [भिडियोसहित]

बैशाख २९, २०७६ मा प्रकाशित

दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस