संक्रमित युवतीसँगै एउटै जहाजमा आएका सोलुका ४ जना फेला परे, ३ को आजै परीक्षण गरिने

मिडियाबाट थाहा पाएपछि खोजी गरेका हौँ - मेयर शेर्पा

गत चैत्र ४ गते कतार हुँदै आएकी एक १९ वर्षीय युवतीमा कोरोनाको संक्रमण पुष्टि भएपछि, उनीसंगै यात्रा गरेका सोलुखुम्बुका चारैजना प्रशासनको सम्पर्कमा आएका छन् ।

फ्रान्सबाट कतार हुँदै आएकी ती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि सोही फ्लाइटमा सवार सोलुखुम्बुका चारै जना प्रशासनको सम्पर्कमा आएको सोलुदुधकुण्ड नगरपालिकाको मेयर नाम्गेल जाङबु शेर्पाले जानकारी दिएका छन् ।


Advertisement

‘चारैजनालाई अहिलेसम्म संक्रमणको कुनै पनि लक्षण देखिएको छैन,’ मेयर शेर्पाले लोकान्तरसँग भने, ‘चार जना मध्ये ३ जना काठमाडौंमै रहेको हामीले थाहा पायौं, एकजना सोलुमै आइसक्नुभएको रहेछ । उहाँलाई फ्यामिलीसहित सेल्फ क्वारेन्टाइनमा बस्न हामीले लगाएका छौं ।’

मेयर शेर्पाले काठमाडौँमा रहेका तीनै जनालाई आज नमुना परिक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग महाशाखा पठाउन लागिएको जानकारी दिए ।


Advertisement

‘एकजना बौद्ध, अर्को जोरपाटी र अर्को चण्डोलमा रहेको बुझिएको छ । हामीले हिजो राति नै सबैको कन्ट्याक्ट पत्ता लगाएर खोजी गरेका थियौं,’ मेयर शेर्पाले भने ।

मेयर शेर्पाले सोलुका ४ जना सोही फ्लाइटबाट आएको भन्ने जानकारी मिडियामार्फत् थाहा पाएको बताए ।

‘हामीलाई आजसम्म कुनै अफिसियल च्यानलमार्फत जानकारी आएन,’ शेर्पाले दुखेसो पोखे, ‘मिडियामार्फत् थाहा पाएपछि हामीले अध्यागमनमा सम्पर्क गरेर उनीहरूको डिटेल लिएका हौँ । गृह या अन्य उच्च निकायबाट हामीलाई कुनै किसिमको निर्देशन भएन । जे गरिरहेका छौं, त्यो स्वतः स्फूर्त हो ।’

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्