स्पेनको लकडाउन अनुभूति : जीवजन्तुको विनाश नै कोभिड संकटको मूल कारक !

सन् २०१९ सेप्टेम्बर २७ मा स्पेनको बार्सिलोना शहर हुँदै लेइदा शहरसम्म पुग्दा बाटोमा देखिने समुन्द्रीतट, सुन्दर बस्ती, खेतीपातीका हरिया फाँटहरू र मेडिटेरेनियन वनजंगलले मेरो मन कति प्रफुल्ल थियो भन्ने व्यक्त गर्न शब्दले साथ दिँदैन होला ।

विश्वविद्यालयको पढाइसँगै लेइदा शहरको झिलिमिली, पबबारको चर्को आवाज, भीडभाड, समुन्द्रीबिच, पिरेनिज पहाड र मेडिटेरेनियन फरेस्टको घुमफिरले दिनचर्या बितेको पत्तो थिएन । हर्ष र उल्लासको सिमै थिएन ।


Advertisement

नयाँ वर्ष २०२० सँगसँगै कोभिड १९ को ज्वालामुखी चिनियाँ वुहान शहरमा विस्फोट भयो रे भन्ने हल्ला युरोपमा पैmलियो तर पनि युरोप आप्mनै मस्तीमा थियो । अकस्मात् चलचित्रको पर्दामा देखिने दृश्यझैं सूक्ष्म जीवाणुको आक्रमण एकाएक इरान–इटालीमा भयो । आफू नमरी स्वर्ग देखिँदैन भनेझैं स्पेनीहरूले अझै नटेरी फूटबल आयोजना, ८ मार्चको महिला दिवसको जुलुस जस्ता कार्यक्रम गर्दै थिए ।

एकाएक अस्ट्रेलियामा फैलिएको डढेलोरुपी कोभिड स्पेनमा पनि दन्कियो । दिनरात उस्तै लाग्ने यहाँका चलायमान शहर एकाएक ठप्प भए ।


Advertisement

सडकपेटी, चौर र समुन्द्रीबिचमा वियरको चुस्कीमा साथीसँग अँगालो मार्दै रमाउने जीवनशैली छिनभरमा फुटेको सिसाझैं चकनाचुर भयो । खुला आकाशमा उड्ने पन्छी पिँजडाको चरीझै खुम्चियो । यही पिँजडाको परिवेशमा बसेर म यस आलेखमा स्पेनको लेइदा शहरको घर नम्बर १३० बाट आपूmले देखेका र सोचेका केही कोभिड अनुभूतिहरू कोरेको छु ।

हालसम्म युरोपेली मुलुकमध्ये कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित देश स्पेन हो । यो आलेख तयार गर्दासम्म स्पेनको लकडाउन (बन्दाबन्दी) ४३ औं दिन पुगेको छ । अझै कति लम्बिन्छ कुनै निश्चितता छैन । २ लाखभन्दा बढी संक्रमित भएकोमा २० हजारभन्दा बढी मानिसहरू मृत्यलोक पुगेको समाचार छ । मार्च महिनादेखि नै सूक्ष्म जीवाणुसँगको घमासान युद्ध चलिरहेकै छ ।

युरोपका अधिकांश राष्ट्रमा कोभिडले स्पेनमा जस्तै आक्रान्त पारिरहेको छ । युद्धस्तरमा नै स्पेनभर कोभिडसँग राज्यले पूर्णरुपमा शक्ति, स्रोत र साधन उपयोग गरेर जुधिरहेको छ ।

अहिले शहरका ठूल्ठूला पर्यटकीय होटल औषधालयमा परिणत भएका छन् । सार्वजनिक तथा निजी क्षेत्रका स्वास्थ्य संस्थाले राज्यको चरम संघर्षलाई सघाइरहेका छन् । बन्दाबन्दीको नियम कडा रुपमा लागू छ । बेकामले बरालिनेलाई चर्को फाइनदेखि जेलसम्म सजायको घोषणा गरिएको छ । अत्यावश्यक सेवाबाहेक अन्य कार्यमा बन्देज नै लगाइएको छ ।

कोभिडका कारण वर्षभर पर्यटकले भरिभराउ हुने मेड्रिड र बार्सिलोना जस्ता आर्थिक हबका शहरहरू अहिले कोरोनाको इपिसेन्टर बनिरहेका छन् । दैनिक रुपमा अधिकांश मृत मानव शरीर यिनै इपिसेन्टरमा भेटिन्छन् । हजारौं

दर्शकले हेर्ने फुटबलका खेल मैदान, डिस्को, बार, पब, होटल रेस्टुरा, पार्क, चोक र सडकहरू उजाड छन् । सबैको मनस्थितिमा ‘उडायो सपना सबै हुरीले’ भन्ने अवस्था सिर्जना भइरहेको छ ।

कोभिडपूर्व र कोभिडपछिको मेरो मनस्थिति र दिनचर्या पनि पूर्णिमा र औंशीको रात जस्तै फेरिएको छ । पहिलेका रमाइलापल सम्झँदै कोभिड नियन्त्रण कहिले होला भन्ने आशाका त्यान्द्राहरू मथिङ्गलमा हरपल घुमिरहन्छन् ।

बन्दाबन्दीमै मेरो दैनिकी पनि लेखपढ, यूट्युब, फोनकल र साथीभाइसँग गफगाफमा बितिरहेको छ । २–३ हप्तामा खाद्यान्न लिन जानेबाहेक घरबाहिर निस्कने परिस्थिति छैन । खाद्य स्टोरले पनि सामान किन्नभित्र पस्दा हातमा पञ्जा दिने र स्यानिटाइजर लगाउन लगाई सामाजिक दूरी कायम गराउँछ । यहाँको एउटा सुखद पक्ष के छ भने यो महामारीमा कसैले पनि खाद्यान्नको अभाव झेल्नुपरेको छैन ।

बजारमा कालोबजारीको मार कसैले भोग्नु परेको छैन । खाद्यान्नको लोडले भरिएका गाडीहरू चिल्ला सडकमा गुडिरहेका देखिन्छन् । खेतीपातीका काम अहिले पनि निरन्तर चलिरहेका छन् भन्ने सुनिन्छ । अहिलेसम्म त सरकारले खाद्य सुरक्षाको राम्रो प्रबन्ध मिलाएकै छ । तैपनि विश्वव्यापी रुपमा आउन सक्ने खाद्य संकटको चुनौती यहाँ पनि कस्तो आउने हो पूर्व अनुमान गर्न गाह्रो छ । 

युरोप र अमेरिकाका अन्य मुलुकमा झै स्पेनमा पनि अहिले सामान्य स्वास्थ्य सामग्रीको चरम अभाव छ । मास्क, पञ्जा र स्यानिटाइजर समेत यहाँका फार्मेसीमा सहज रुपमा पाइँदैनन् । कोभिडअघि र कोभिडपछि मानवीय आवश्यकता र सोचाइमा परिवर्तन आउँदैछ । सायद म मात्रै होइन, यहाँका स्पेनियाहरू पनि अहिले महंगो भौतिक वस्तु होइन, सामान्य मास्क र पञ्जाको महत्त्व बुझ्दै होलान् ।

स्वतन्त्रता, मानवता र मनोरञ्जन नै मानवका लागि आवश्यकीय आवश्यकता हो भन्ने स्पेनियाहरू अहिले रोग र भोकलाई नै पहिलो प्राथमिकता दिँदै होलान् । पहिले मेस्सी, बार्सा र फूटबलको नशामा झुम्ने स्पेनियाहरू अहिले मानवलाई बचाउने चिकित्सकको महत्त्व र भूमिका बुझ्दै छन् । स्वास्थ्यकर्मीलाई भगवान् र स्वास्थ्य शिक्षालाई ज्ञान भन्दैछन् । सायद विश्वले अबको समय चिकित्सा क्षेत्रमा लगानी थप्दै जाला ।

रोगसँगको लडाइँका निम्ति प्रतिरोधात्मक क्षमता बढाउन खानपिन र सामाजिक व्यवहारमा पनि परिवर्तन आउला । स्पेनियाहरू हरेक सुविधाका लागि गगनचुम्बी भवनमा बस्ने, डान्सबार र रेस्टुरेन्टमा रमाउने अनि आत्मियता प्रकट गर्न ओठ, अँगालो र हात मिलाउने गर्छन् । सायद यिनीहरू पनि अब छरिएर बस्ने, धोती फेरेर खाना खाने अनि २ मिटर टाढैबाट नमस्कार गर्नेे पूर्वीय परम्पराको सिको गर्नेछन् । 

मेरो यहाँको दिनचर्या आफ्नो अध्ययनका साथै केही नयाँ पुस्तकको अध्ययन र विद्युतीय सञ्जालमै बित्दछ । यहाँ सबै सुविधा भएर पनि जाबो भाइरसले देशलाई नै अनिश्चितकालीन बन्दी बनाइरहेको छ । मेरो अवस्थाको त के वर्णन गर्नु ! उता  ‘कर्णालीब्लुज’को कथाको नशामा सुदूर तराईको मटेरा गाउँ र कटासे हुँदै कालिकोटसम्म पुग्दछु ।

वास्तविक नेपाली जीवन शैली र जीवन भोगाइका पीडाले मेरो मन च्वास्स छुन्छ । भौतिक दूरी टाढा भएपनि अनलाइनका अखबारे पानाहरू छिनछिनमा पल्टाउँछु । संसार कोभिड महामारीसँग लडिरहेको छ । सुविधासम्पन्न राष्ट्रका मन्त्रीहरू जनताको पीडा र अभावलाई सहन नसकेर आत्महत्या गरे भन्ने सुनिन्छ ।

सत्ता र प्रतिपक्ष, गरीब र धनीबीच कुनै भेदभाव छैन तर विडम्बनाको कुरा मेरो देशमा ‘नेताहरू भोटको राजनीति गरे, संविधानलाई बन्दक बनाए, सत्ता परिवर्तन हुने भयो, पार्टी फुट्ने र गाँसिने भए, राहत सामग्री वितरणमा धाँधली भयो, स्वास्थ्य सामग्री खरिदमा कमिसन खाइयो, व्यापारमा कालोबजारी भयो’ जस्ता नकारात्मक खबरबाहेक केही सुन्न र पढ्न पाइँदैन ।

विद्युतीय सञ्जालमा जेजस्ता अफवाहहरू सुन्नमा आएपनि सही समयमा सरकारको बन्दाबन्दी कार्यक्रमले नेपालीहरू अनाहकमा दुष्ट भाइरसको शिकार बन्नु परेको छैन । सरकारको दूरदर्शी र साहसी कदमलाई साधुवाद भन्नैपर्छ ।

युरोप र अमेरिकी सरकारको स्वास्थ्य प्रबन्धका तुलनामा नेपाल सरकारले गरेको स्वास्थ्य प्रबन्धलाई  प्रशंसा गर्नैपर्छ । विश्व स्वास्थ्य संगठनले पनि नेपालको स्वास्थ्य कदमलाई स्वागत योग्य काम भनेकै छ । अझै सरकारले देशमा कोभिडको टेस्ट, टेस्ट र रिटेस्ट गर्नुपर्ने धेरै काम बाँकी नै छन् । पीसीआर टेस्ट बढाउँदै जानुपर्ने अवस्था छ । विदेशमा रहेका लाखौं युवा जनशक्तिलाई स्वदेशमा व्यवस्थापन गर्ने काम बाँकी नै छ ।

यो समय सत्ता र प्रतिपक्ष, धनी र गरीब, नाफा र घाटाको लेखाजोखा गर्ने बेला होइन । अहिलै सरकारको आलोचना र प्रशंसा गर्ने बेला आइसकेको छैन । अझै सत्ता र प्रतिपक्ष कसैले पनि सूक्ष्म जीवाणुशास्त्री र चिकित्सकको महत्त्व र गाम्भीर्यतालाई बुझेको जस्तो देखिँदैन । सरकारद्वारा विप्रेषणको विकल्पमा स्वनिर्भर नयाँ अर्थनीति अझै आए जस्तो पनि मलाई लाग्दैन । सरकार विरोधीबाट पनि कोभिड प्रतिरोधी सुझाव र सल्लाहभन्दा पनि सत्ता अभावको आक्रोश मात्र गुञ्जिएको महसूस हुन्छ ।

हरेक समस्यासँग सम्भावना पनि लुकेको हुन्छ । कोभिडले मानिसलाई बन्दी बनाएपनि अन्य प्राणीहरूले मानवीय बन्धनबाट मुक्ति पाएका छन् । विश्वभर नै वायु प्रदूषणमा कमी आएको छ । वातावरणीय विषाक्तता कम भएको छ । प्रकृति आफैंमा बोक्सी र आफैं धामी पनि हो । प्रकृतिमा रमाएका जीवजन्तुको विनाश नै अहिले कोभिड संकटको मूल कारक तत्व हो । मानिसको भूमिका प्रकृतिमा केवल क्षणिक व्यवस्थापकको रुपमा मात्रै हो ।

सही व्यवस्थापन गर्न सके प्रकृति वरदान हो, नत्र यही नै मानव जातिको अन्त्यका लागि अभिषाप पनि । मानव जातिले प्रकृतिको अत्याधिक दोहन गर्नाले अन्ततः आफूलाई नै यसरी चुनौती दिन्छ भनेर न सोच्यो, न त सम्झियो ।

मानव केवल प्रविधिको विकास, प्रकृतिको दोहन, अन्तरिक्षको खोज, बम–बारुदको निर्माण र युद्धको तयारीमा तल्लिन भयो । हिजोसम्म दम्भले भरिएको मानवीय स्वभावले आज प्रकृतिलाई नै महान् सम्झन थालेको छ । प्रकृतिको शरणमा पर्न बाध्य बनाएको छ । कोभिडले नै मानवलाई दम्भ र अहंकार त्यागेर नयाँ सोचाइ र मार्गमा लाग्न सिकाउँदैछ ।

विज्ञान र प्रविधिमा धेरै आशातित उपलब्धि हासिल गर्न नसकेपनि नेपाललाई प्रकृति, संस्कृति र पशुपतिनाथले साथ दिएकै छन् । राजनीतिले साथ नदिएपनि धन्य छ साथ दिने प्रकृति, संस्कृति र पशुपतिलाई । आखिर रोग र भोकको नियन्त्रण गरे मात्र राज्यको भूमिका देखिँदो रहेछ । बाँकी अन्य आवश्यकता त क्रमशः आउँदै र पूर्ति हुँदै जानेछन् ।

यो महामारीले गाउँघर, वनपाखा र उकाली–ओराली एकपटक सम्झायो । नेपालीपन र संस्कृतिको महत्त्व सिकायो । आशा गरौं बिग्रेको राजनीति सुध्रिनेछ, कोभिड नियन्त्रणमा आउनेछ अनि स्वदेशमै शिक्षा, स्वास्थ्य र स्वरोजगारमा नेपाल आत्मनिर्भर हुनेछ । आगामी दिनमा हामी सबै नेपालीले स्वदेशमै कला, संस्कृति र प्रकृतिको जगेर्ना गर्न पाइयोस् ।  जय मातृभूमि !  

(डिभिजन वन कार्यालय बाग्लुङका सहायक वन अधिकृत थापा हाल स्पेनमा वन तथा प्राकृतिक स्रोत व्यवस्थापन विषयमा अध्ययनरत छन् ।)

प्रकाश थापा
प्रकाश थापा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्