बाजुरामा कालाजार, दुई बालक बिरामी भए

बाजुरामा थप दुई बालकमा कालाजारको बिरामी भेटिएको छ। पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिका–३ जैलुका ५४ महिने महेन्द्र बोहरा र जगन्नथा गाउँपालिका–२ आसबाडाका २० महिने बालक विपना नाथ रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा राजुराज जैसीले जानकारी दिए। उत्तरी भेगमा कालाजारका बिरामीका सङ्ख्या चार पुगेको छ। 

उपचारका लागि कोल्टी ल्याइएका महेन्द्र र विपनालाई प्रयोगशाला परीक्षणबाट कालाजार भेटिएको बूढीनन्दा नगरपालिका स्वास्थ्य संयोजक ओमजङ्ग शाहीले बताए। सो क्षेत्रमा केही दिनअघि मात्र जगन्नाथ गाउँपालिका–५ का १७ महिनाका देवेन्द्र बुढामा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जाँच गर्दा कालाजार देखापरेको थियो। कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा यसको उपचार नहुने भएकाले धनगढी, नेपालगञ्ज, सुर्खेत लैजानुपर्ने बाध्यता छ। 
    
कालाजार रोग तराई जिल्लामा मात्र देखापर्ने रोग हो । पछिल्लो समयमा पहाडतिर पनि देखापर्ने थालेको छ । यो रोग भुसिनाको टोकाइबाट हुने र भुसिनाको टोकाइबाट सर्ने रोग हो। यो रोगको लक्षण ज्वरो आउने, तौल घट्ने, कलेजो र फियोमा असर पार्ने तथा अन्य सङ्क्रमण फैलिएर मृत्यु हन सक्ने स्वास्थ्यकर्मीले बताएका छन्।


Advertisement

कोल्टी क्षेत्रमा गतवर्र्ष कालाजारबाट एक बालिकाको मृत्यु भएको थियो । स्वामीकार्तिक गाउँपालिका–५ जेरा बस्ने १३ वर्षीया भाग्य शाहीको उपचारका क्रममा काठमाडौँको कान्ति बाल अस्पतालमा मृत्यु भएको थियो। पूर्वी उत्तरी भेगका थप दुईजना कालाजारका बिरामी भेटिएका थिए । स्वामीकार्तिक गाउँपालिका–५ जेरा बस्ने ११ वर्षीया कञ्चना शाही र सोही गाउँपालिका–२ साप्पाटाकी तीन वर्षीया करिश्मा भण्डारीलाई यो रोग देखापरेको थियो। 


Advertisement

कमेन्ट गर्नुहोस्