×

NMB BANK
NIC ASIA

सर ! मेरो पीसीआर रिपोर्ट पोजेटिभ आयो ।’ उसले आत्तिएको भावमा एकै श्वासमा भन्यो ।

Muktinath Bank

तपाईंलाई कसरी पोजेटिभ आयो त ? उसले थर्थराउँदै भन्यो – '५ दिन पहिले न्युरोड हुँदै असन गएको थिएँ । ग्रहदशा लागेकाले होला त्यस दिन मास्क नाकमुनि लगाएको थिएँ । कसले सार्‍यो थाहै भएन ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उसले सुस्केरा हाल्दै थप्यो– 'सर ! ६ महिना घरभित्र बसेको अर्थ नै भएन ।'


Advertisment
Nabil box
Kumari

‘तपाईंजस्तो मान्छेले मास्क लगाउँदा नाक र मुख त छोप्नु पर्थ्यो नि ! यस्तै लापरबाहीले त कोरोना फैलिरहेको छ ।’

Vianet communication

‘सर ! मैले होलबडी चेक नगरेको धेरै भयो । भित्रभित्रै अरू रोग पो छन् कि ? ... उमेर पनि ४० कट्यो ..सर ! मलाई केही हुँदैन नि ?’ ऊ साँच्चिकै आत्तिएको थियो ।

उसलाई चिकित्सकले होम आइसोलेसनमा बस्न भनेकाले ऊ घरमै बस्यो । बेलाबेलामा मित्रताको हिसाबले हामीले एक अर्कालाई फोन गर्थ्यौं । उसलाई उच्च ज्वरो आउने, सुख्खा खोकी लाग्ने, घाँटी चिलाउने, श्वास फेर्न गाह्रो हुने तथा स्वाद र गन्ध थाहा नपाउनेजस्ता लक्षण देखिन थाले । चिकित्सकको सल्लाहबमोजिम उसले ज्वरो आउँदा पारासिटामोल, खोकीका लागि एन्टिहिस्टामिन ट्याब्लेट तथा झोलिलो खाना खाइरहेको थियो । ज्वरो कहिले १०१ आउँथ्यो, कहिले १०४ पुग्थ्यो । उच्च ज्वरो आउने, पखाला लाग्ने, एकदम थकाइ लाग्ने एवं खाना खाना नसक्ने भएपछि एम्बुलेन्स बोलाएर ऊ अस्पताल गयो ।

मित्रताको नाताले उसँग मेरो कुराकानी हुँदै थियो । ‘सर ! मलाइ श्वास फेर्न गाह्रो भएको छ । आँखाले धमिलो मात्र देख्छु, कान डम्म भएको छ, जिब्रो र नाकले केही थाहा पाएका छैनन्, अक्सिजनको लेभल ६० मा झर्‍यो । अहिले पटकपटक अक्सिजन र तापक्रम नाप्ने काम भएको छ । एक्सरे गरेपछि डाक्टरले निमोनिया भएको छ भनेर अक्सिजन सपोर्ट दिनुभएको छ ।

अक्सिजनको मात्रा बढाउन डाक्टरले घोप्टो परेर सुत्न भन्नुभएको छ । आधा घन्टा घोप्टो परेर सुत्न नसक्ने म दिनभर घोप्टो परेर सुत्दा हैरान भएको छु । खै ! बाँच्न मुस्किल देखेको छु । केटाकेटी तथा बूढीले दु:ख पाउने भए । उसले स्वाँस्वाँ गर्दै मलिन स्वरमा भनेको थियो ।

‘चिन्ता नमान्नु मित्र, तपाईंलाई निको हुन्छ । आत्मबल कोरोनाको सबैभन्दा ठूलो औषधि हो ।’ मैले उसलाई अनेक गम्भीर बिरामीका उदाहरण दिएर आत्मबलको दियोमा तेल थप्ने प्रयास गरिरहेको थिएँ ।

मनमनै कल्पना गर्थें-  फलफूल, जुस तथा सुप बोकेर उसलाई भेट्न जान पाए ऊ कति खुशी हुन्थ्यो होला । रातभर उसकै क्याबिनमासँगै बस्न पाए सुख दु:खका कुरा गर्न पाइन्थ्यो, कस्तो रोग आयो यो ? अस्पतालमा गएर भेट्न नमिल्ने, उसको कपाल मुसार्न नपाइने तथा उसका औंला सुम्सुम्याउन नमिल्ने ।

अर्को दिनदेखि उसको फोन आउन छोड्यो । मलाई हरपल उसको याद आइरह्यो । के भयो होला ? ठीक होला कि नहोला ? मनमा आशाका किरण धुमिल देखिन थाले । उसको घरमा फोन गर्दा सबैजना सुँक्कसुँक्क गरिरहेका हुन्थे । भाउजु र बाबुलाई पनि कोरोना पोजेटिभ देखिएछ, छोरीलाई नेगेटिभ देखिएछ । उसका अन्य नातेदार र केही साथीको पनि पोजेटिभ रिपोर्ट आयो रे ! दुरीको हिसाबले मेरो घर स्वयम्भु, उसको भक्तपुर, त्यसैले लकडाउन यता हाम्रो भेट भएको थिएन ।

ऊ भर्ना भएको अस्पतालमा मैले चिनेका डाक्टर थिए । त्यसैले उसको अवस्था बुझ्न मलाई सहज भयो । अक्सिजन चलाउँदा पनि उसको शरीरमा अक्सिजनको मात्रा बढेको थिएन । क्यानुला अर्थात् नलीमार्फत अक्सिजन दिँदा पनि राम्रो नभएपछि उसलाई अक्सिजन मास्कको प्रयोग गरिएको थियो । यति गर्दा पनि उसको फोक्सो आरनको खलाँतीजस्तो स्याँस्याँ गरिरहेको थियो । दुवै फोक्सो कोभिड निमोनियाले ग्रस्त थिए ।

डाक्टरले भनेका थिए– उसलाई प्राणघातक एक्युट रेस्प्रेरेटोरी डिस्ट्रेस् सिन्ड्रोम देखिएको छ । फोक्सोले राम्रोसँग अक्सिजन पम्प गर्न नसकेर मुटु, मिर्गौला, कलेजो, मस्तिष्क लगायतका अंग फेलियर हुन्छन् कि भन्ने डर थियो । अस्पतालको आईसीयूभित्र उसलाई बचाउन डाक्टर तथा नर्सले अहोरात्र प्रयास गरिरहेका थिए ।

अक्सिजनको मात्रा ९० भन्दा बढी पुर्‍याउनका लागि उसलाई तीव्र गतिको अक्सिजन दिइएको थियो । एन्टिभाइरल औषधि रेमडेसेभिर चलाइएको थियो । प्लाज्मा थेरापी पनि दिइएको थियो । यी उपचारको कारण उसलाई फाइदा हुने डाक्टरले आशा गरेका थिए । तर सोचेजति फाइदा भएको थिएन ।

उसलाई बचाउनका लागि लाइफ सेभिङ ड्रग डेक्सोना, रगत पातलो हुने औषधि, स्लाइनमार्फत् भिटामिन तथा द्वितीय संक्रमणका लागि एन्टिबायोटिक चलाइएको थियो ।

आईसीयूमा पुर्‍याएदेखि उसलाई अधिकांश समय घोप्टो पारेर सुताइएको थियो । घोप्टो पारेर सुताउँदा अक्सिजनको लेभलमा राम्रो सुधार हुँदोरहेछ । कोभिड निमोनिया हुँदा फोक्सोको पछाडिको भागलाई असर गरेको हुन्छ।

घोप्टो आसनमा सुत्दा रक्तसञ्चार अगाडितर्फ धेरै हुन्छ, जसले गर्दा अक्सिजनको लेभलमा सुधार आउँछ – डा. शर्माले एक श्वासमा बताएका थिए । फोक्सोको संक्रमण तथा निमोनियामा घोप्टो पारेर सुताउने अन्तर्राष्ट्रिय अभ्यास रहेछ । मनमनै भनें– मैले पनि घोप्टो परेर सुत्ने अभ्यास गर्नुपर्ला । कोभिड हुँदा सजिलो हुन्छ । यस्तो बेला मनमा नकारात्मक भावना सल्बलाउँदा रहेछन् ।

डा. शर्माले भनेका थिए– हामीले तपाईंको साथीलाई नेगेटिभ फ्ल्युड ब्यालेन्समा राखेका छौं । फोक्सोको निमोनिया हुँदा एकदम कम पानी खुवाउनु वा स्लाइनबाट दिनुपर्छ ।

धेरै पानी दिँदा फोक्सोमा पानीको मात्रा बढेर अक्सिजन लिने क्षमता घट्दछ । फोक्सो सुख्खा राख्न उहाँले कति पानी खानुभयो, कति पिसाब गर्नुभयो भन्ने हिसाब गरेर करीब आधा लिटर फ्लुड नेगेटिभ ब्यालेन्समा राखेका छौं । उहाँ अस्पतालमा आएदेखि नै घोप्टो पारेर सुताउने तथा नेगेटिभ फ्लुड ब्यालेन्स राख्ने काम गरेका छौं ।

उपचारमा संलग्न मेडिकल टीमको अथक प्रयास अनुभूति गरेपछि ममा चिकित्सक तथा नर्सप्रतिको श्रद्धा सगरमाथा बनेर उचालियो । जीवन विज्ञानका केस्राकेस्रा केलाएर रात दिन उपचारमा खट्ने यी देवीदेवताको फोटोलाई पूजाकोठामा राखेर पुष्प अर्पण गर्ने मन लाग्यो ।

*****

हुन त म त्यति धार्मिक प्रवृतिको मान्छे होइन । ऊ आईसीयूमा गएपछि मेरो आध्यात्मिक आस्था उकालो लागेको थियो । उसलाई निको होस् भनेर मैले भगवानसँग पुकारा गरें । नजिकका मन्दिरमा गएर उसलाई निको भयो भने फूलप्रसाद चढाउने भाकल गरें । उसको शीघ्र स्वास्थ्यलाभका लागि संकटा मन्दिरमा पूजा गर्न बिहान ४ बजे नै पुगेँ । पशुपतिनाथसँग बिन्ती गरें । बाटोमा पर्ने ढुंगा, गाई तथा गोरुलाई ढोग्दै हिँडे ।

*****

मित्रका छोरालाई कोरोना पोजेटिभ देखिएपनि कुनै लक्षण देखिएको थिएन । तर उनकी श्रीमतीलाई श्वास फेर्न गाह्रो भएर त्यही अस्पतालमा ल्याइएको थियो । उनी आइसोलेसन वार्डमा थिइन् भने मित्र आईसीयूमा । मित्रपत्नी अर्थात भाउजूलाई श्वास फेर्न गाह्रो हुने, मुटुको ढुकढुकी बाहिरै सुनिने, घाँटीमा अँठ्याउने, बेलाबेला होश हराउने भइरहेको थियो । डा. शर्माका अनुसार उनको अक्सिजन लेभल ठिकै थियो । अन्य रिपोर्ट पनि नर्मल थिए ।

धेरै दिनदेखि खाना नखाएकोले अत्यन्तै कमजोर थिइन् । स्लाइनमार्फत् पोषण दिएपछि उनको मुख अलि उज्यालो देखिएको थियो । हरेक दिन पटकपटक बर्बराउने, सिरिङ्ग हुने तथा खुइय खुइय सुस्केरा निकाल्ने गर्थिन् । पटकपटक जाँच गर्दा पनि उनका रिपोर्ट ठीक थिए तर उनी ठिक थिइनन् । उनलाई क्यानुला अर्थात् नलीबाट अक्सिजन दिइएको थियो ।

थाहा नपाई एक्कासि अक्सिजनको लेभल धेरै घट्छ कि अर्थात् साइलेन्ट हाइपोक्सिया हुन्छ कि भनेर उनको अक्सिजन लेभल बारम्बार जाँच गरिएको थियो । आफूलाई थाहा नहुने तर एक्कासि अक्सिजन स्याचुरेसन घट्दा मृत्यु हुने सम्भावना बढ्छ – डा. शर्माले भनेका थिए ।

*****

अन्य उपायबाट सुधार नभएपछि कृष्णलाई हाइ फ्लो अक्सिजन दिइएको थियो । अक्सिजनको लेभल मेन्टेन गर्न उसलाई ननइन्भासिभ भेन्टिलेटर (फोक्सोमा पाइप जडान गर्नुनपर्ने भेन्टिलेटर) बाट ६० लिटर प्रतिमिनेटको दरले अक्सिजन दिइएको थियो । डा. शर्माका अनुसार घोप्टो पारेर तथा हाइ फ्लो अक्सिजन थेरापी प्रयोग गर्दा प्रतिमिनेट ६० लिटर शतप्रतिशत अक्सिजन दिन सकिन्छ ।

यसको लागि विशेष मेसिनको आवश्यकता हुन्छ । डा. शर्माले बताएका थिए – उसका भाइटल अर्गान अर्थात मस्तिष्क, मुटु, मिर्गौला तथा कलेजोले काम गर्न छाड्दै थिए । सेन्स पनि आउने/जाने भइरहेको थियो । ‘मलाई यो सजाय किन दिनुभएको भगवान ? मलाई मुक्ति दिनुहोस् । म मर्न चाहन्छु, बाँच्न निकै कठिन छ …,’ ऊ बर्बराइरहन्थ्यो ।

मुटुको मांसपेशीमा पानी जमेको थियो । किड्नी तथा कलोजो रिपोर्टमा निकै खराब देखिएका थिए । संक्रमण निकै बढेको थियो ।

घोप्टो पारेर सुताउँदा, एन्टिभाइरल तथा स्टेरोइड औषधि चलाउँदा तथा प्लाज्मा थेरापी गरेपछि भेन्टिलेटरमा राख्नुपर्ने अवस्था न्यून हुन्छ । तर मेरो साथीको केसमा यी उपायबाट पनि अघि बढ्नुपर्ने बाध्यता देखियो। यी तमाम उपचारले पनि ठीक नभएपछि उसलाई भेन्टिलेटरमा राखियो । भेन्टिलेटरमा राख्दा पनि दैनिक १६ देखि १८ घण्टासम्म उसलाई घोप्टो पारेर सुताइएको थियो ।

६ घन्टा उत्तानो पारेको समयमा अक्सिजन तथा ब्लड ग्यासको मात्रा जाँच गरिन्थ्यो । एक हप्तासम्म भेन्टिलेटरमा राख्दा पनि अवस्था सुधार नभएकाले उसलाई उपचार गरिरहेको टीम निराश भयो । मैले पनि ऊ बाँच्छ भन्ने आशा त्यागें । सोंचे– जीवन निकै क्षणभंगुर रहेछ । आँखाले देख्न नसकिने भाइरसले चिकित्सा विज्ञानका तमाम प्रविधिलाई पनि फेल गराउँदो रहेछ ।

मैले मनमनै उसलाई गाली गरें, नाकमुनि मास्क लगाएर त्यो न्युरोड र असनको भीडमा किन काल खोज्न गएको ? मोबाइलको रिङगटोनदेखि टेलिभिजन, पत्रपत्रिका, इन्टरनेट सबैतिर सही तरिकाले मास्क लगाऊ, भौतिक दुरी कायम गर, भीडभाडमा नजाऊ, हात राम्रोसँग धोऊ भनेको भन्यै छ । तिमीले किन लापरवाही गर्‍यौ मित्र ? तिमीले पढेको, जानेको, बुझेको के काम लाग्यो ? गल्ति तिम्रै हो मित्र ! आफूले पनि दु:ख पायौ, हामीलाई पनि जीवनभर दुख्ने शूल रोप्यौ ।

*****

भाउजूको अवस्था बिग्रिरहेको थियो । अक्सिजनको मात्रा र रिपोर्ट ठीक थिए । कोरोना टेस्ट गर्दा उनको नेगेटिभ रिपोर्ट आएको थियो । तर उनलाई ठीक भएको थिएन । रातदिन कृष्ण ! कृष्ण !! भनेर बर्बराउने गर्थिन् । उनलाई गहिरो मानसिक आघात परेको निर्क्यौल गरेपछि मानसिक रोग विशेषज्ञ तथा साइकोथेरापिस्टले उपचार शुरू गरे ।

दाइको अवस्था राम्रो छ भनेर आशा देखाए । खडेरीले सुकेको फूललाई पानी हाल्दै गएपछि फूल विस्तारै पल्लवित तथा पुष्पित हुँदै गयो । औषधिको असरले गर्दा अधिकांश समय उनलाई निद्रा लागेको थियो । खानामा रुचि फर्किएको थियो । केही दिनपछि  ‘बाबु खै, नानी खै  ?’ भन्दै उनी रोइन् ।  नानी र बाबु  मावलमा बसेका छन् भनेर भिडियो कल गराएपछि उनी मुस्कुराइन्, धेरै दिनको वर्षा रोकिएर ताजा घाम लागेजस्तै ।

*****

डा. शर्मा हरेश नखाने चिकित्सक थिए । क्रिटिकल केयरको विज्ञ भएकोले उनी दिनमा १८ घन्टा काममा खटेका थिए । मानवीय सेवाको उच्च प्रज्ञामा रुपान्तरण भएका थिए । ‘जति पैसा लाग्छ, पैसाको चिन्ता नलिनुहोला । घर बेचौंला तर उहाँलाई जसरी पनि बचाउनुपर्छ’ भनेर आफन्तले अस्पताललाई भनिरहेका थिए । डा. शर्माले मसँग सल्लाह गरे– उहाँलाई सुधार भएको छैन ।

किड्नीको जस्तै फोक्सोको पनि डायलाइसिस गर्न मिल्छ । फोक्सोको साटो त्यो मेसिनले काम गर्छ ।  त्यो मेसिन अर्थात् ECMO (एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजिनेसन) मा राखेको खर्च प्रतिदिन २-३ लाख लाग्छ । बाँच्ने सम्भावना निकै कम हुन्छ । यही नै अन्तिम विकल्प हो । हामीले सल्लाह गरेर एक्मोमा राख्ने निर्णय गर्‍यौं ।

एक्मोमा राखेको ५ दिनसम्म पनि सुधारको लक्षण देखिएन । अब कुनै विकल्प रहेन भन्ने निष्कर्षमा हामी पुग्यौं । डा. शर्माले भन्दै थिए – तपाईंहरूको धेरै खर्च भयो, परिणाम केही आएन ।  त्यो रात मलाई एक मिनेट पनि निद्रा लागेन । आफ्नो साथी जीवन र मृत्युको संघर्षमा मृत्युको पल्लातर्फ फर्किएको बेला भेट्न नपाउँदा अकल्पनीय पीडा भयो ।

अर्को दिन अन्तिमपटक मुख हेर्नका लागि विशेष अनुरोध गरेर म, भाउजू, नानी र बाबु पीपीई लगाएर उसलाई राखेको ठाउँमा गयौं । हृष्टपुष्ट साथी करंग र छाला भएको रहेछ । भाउजू र नानीबाबुले बाबा ! बाबा !! भनेर निकै रोए । मैले पनि मन थाम्न सकिनँ । कृष्ण ! कृष्ण !! भन्दै मैले पनि भक्कानो छोडें । चिकित्सक तथा नर्सहरू पनि हिक्का छोडेर रोए ।

आईसीयूबाट फर्किने बेला मुण्टो घुमाएर कृष्णलाई हेरेँ । उसको मुख चल्यो, आँखामा आँसु देखियो । उसको आँखामा आँसु देखेपछि डाक्टर, नर्स तथा हाम्रो आँखामा झलमल्ल घाम लाग्यो ।

(साहित्यकार डा. रवीन्द्र समीरका मृत्युको आयु लगायत १२ वटा साहित्यिक कृति प्रकाशित छन् ।)

लोकान्तरमा प्रकाशित डा. पाण्डेको नियमित स्तम्भ पढ्न यहाँ क्लिक गर्नुहोस् ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x