आन्तरिक उडान बढ्ने, वायुसेवा कम्पनीमा उत्साह

प्रतिकात्मक तस्वीर

कोभिड–१९ महामारीबीच स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर असोज ५ गतेदेखि सञ्चालनमा आएको मुलुकको आन्तरिक उडानमा ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको छ ।

महामारीबाट सुरक्षित रहन स्वास्थ्य प्रोटोकल पालना गरी आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले सेवा सञ्चालन गरिरहेका हुन् । नजिकिएको दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै हवाई कम्पनीले उडान संख्या पनि थप्दैछन् ।


Advertisement

उडानको पहिलो हप्ता उत्साहवद्र्धक रहेको कम्पनीले उल्लेख गरेका छन् । तुलनात्मक रुपमा हवाई सेवा महामारीबाट सुरक्षित र चाँडो हुने भएकाले पनि यात्रुको आकर्षण बढेको हो । सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । शुरूआती चरणमा हप्तादिनसम्म सामान्य अवस्थाको उडानको तुलनामा १५ प्रतिशत मात्रै उडान गर्न पाउने गरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको थियो ।

आगामी अक्टोबर १ तारिखदेखि आन्तरिक उडान संख्या बढाउने प्राधिकरणले तयारी गरेको छ । भदौ १६ गतेदेखि सञ्चालनमा आएको मुलुकको अन्तर्राष्ट्रिय उडान संख्या थप गर्ने निर्णय यसअघि नै भइसकेको छ ।


Advertisement

आन्तरिक उडान सञ्चालन गरिरहेका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्रीएयरलाइन्स लगायत उडान अकुपेन्सी उत्साहवद्र्धक छ । हप्तादिनको अवधिमा ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको कम्पनीले उल्लेख गरेका छन् । चाडपर्वलाई लक्षित गर्दै हवाई कम्पनीले उडान संख्या बढाउन प्राधिकरणसमक्ष उडान अनुमतिका लागि निवेदन दिएका छन् । प्राधिकरणले पनि हवाई व्यवसायीको मागबमोजिम उडान संख्या बढाउने निष्कर्षमा पुगेको छ ।

प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले आन्तरिक उडानको संख्या बढाउने प्राधिकरणले निर्णय गरिसकेको जानकारी दिए । 

कमेन्ट गर्नुहोस्