गीतामा कृष्णले व्याख्या गरेका कर्मका तीन भेद र सकाम कर्म

कमल रिजाल
कमल रिजाल

लोकान्तरका नियमित स्तम्भकार कमल रिजाल धार्मिक संस्कार र समसामयिक विषयमा कलम चलाउँछन् ।

कर्मका तीन भेद हुन्छन् भनेका छन्, गीतामा कृष्णले । जसमा कर्म, अकर्म र विकर्म पर्छन् । यीमध्ये विहित काम अर्थात् तोकिएको कामलाई कर्म, निस्काम कामलाई अर्थात् कर्म गरेर पनि नगरेको जस्तो अवस्थामा पुग्नुलाई अकर्म र गर्नै नहुने कामलाई विकर्म भनेका छन्, उनले । यस अनुसार भन्नुपर्दा कर्म भनेको देश, काल, परिस्थितिअनुसार तत्काल तोकिएका काम हुन् भने कर्म गरेर पनि उसको रागले नछुनु अकर्म र तत्काल नतोकिएको काम जति विकर्म रहेछन् भनेर बुझ्नुपर्ने हुन्छ । यिनमा विकर्म त यसैपनि निसिद्ध काम हो गर्न हुँदैन । अकर्म पनि सितिमिति सम्भव हुने कुरा होइन । थाहा छैन कृष्णले किन त्यस्तो कुरा गरे । शायद उनी र अर्जुन वा उनीहरू जस्तैलाई लक्षित गरेर भनिएको हुनुपर्छ । होइन भने संसारमा कसैबाट पनि यो सम्भव हुँदैन, हुनै सक्दैन ।  

प्रकृति आफैं सकाम कर्मको निर्देश गरिरहेको छ । वेद स्वयं यस्तै कर्मको उद्घोष गरिरहेको छ । ईशोपनिषद्मा भनिएको छ– मानिसले कर्म गरेर नै सय वर्षसम्म बाँच्ने प्रयास गर्नुपर्छ । यो भनेको के हो ? सकाम कर्म नै हो । कामना विना न कर्म पूरा हुन्छन् न उसले दीर्घ जीवन दिनै सक्छ । कर्म क्षेत्रबाट न वेद विमुख हुन सकेको छ न प्रकृति नै अछुत रहन सकेको छ । प्रकृतिमा कुनचाहिँ कर्म निस्काम भएका छन् र ? समग्र प्राणी सकाम कर्म गरिरहेका छन् । अन्यथा प्रकृतिको नियम नै अवरुद्ध हुन पुग्छ । लौ मानौं एकछिनलाई कसैले सकाम कर्म गरें भन्यो रे ! कल्पना गरौं के उसले साँच्चै त्यस्तो गर्न सकेको होला र ? मरिकाटे होइन, किनकि त्यस्तो कार्म गरें वा गर्छु भन्दा भन्दै त्यसैभित्र कामनाको महल खडा भइसकेको हुन्छ ।  


Advertisement

अतः कसैले आफूले निस्काम कर्म गरेको कुरा गर्छ भने ठाने हुन्छ उसले कि अभिनय गरिरहेको छ कि जानाजान झूट बोलिरहेको छ । यस्तो कुरा फोस्रो आदर्शबाहेक केही होइन, हुनै सक्दैन । साँच्चै निस्काम कर्म सम्भव हुन्थ्यो भने संसारमा बालुवा चुट्ने र पानी कुट्ने मानिस पनि भेटिनुपर्ने हो तर त्यस्तो कतै भेटिएको छैन । किन थाहा छ ? किनकि कामनाविनाका काम कसैले पनि गर्दैनन्, गरेका हुँदैनन् । त्यसैले कर्म भनेको विहित कर्म मात्र हुन्, जो तत्कालका लागि कसैलाई कुनै माध्यममार्फत् तोकिएका हुन्छन् । यस आलेखमा यसैसम्बन्धी चर्चा गर्ने जमर्को गरिएको छ ।  

संसारमा कोही पनि प्राणी एकैछिन पनि कर्म नगरी बस्दैन, बस्न सक्दैन । प्राणी चाहे सजीव होस् चाहे निर्जीव सबै केही न केही गरिरहेका हुन्छन् । केही न केही खोजिरहेका हुन्छन् । यही नै कामना विनाको कर्म हुँदैनन् भन्ने बलियो प्रमाण हो । एउटा अम्बाको बोटलाई नै लिऊँ न । के ऊ केही पनि नगरी बसेको होला ? बस्न सकेको होला ? अहँ छैन । रातदिन केही न केही गरिरहेको हुन्छ । त्यो पनि पूर्ण होशमा, होश पुर्‍याएर, सङ्गति मिलाएर । उसलाई जमिनमा जरा गाडेर उभिनु पनि छ । बोट जति माथि जान्छ त्यति नै जरालाई विस्तार गर्नु पनि छ ।


Advertisement

जमिनको पानी तानेर टुप्पोसम्म पुर्‍याउनु पनि छ । फल्नु छ, फुल्नु छ । गर्भाधान गर्नु छ, जन्माउनु छ, हुर्काउनु छ, के–के हो के–के । कति दुःख छ उसलाई, कति दुःख गरेको छ उसले । न सर्दी, गर्मी, भोक, प्यास भनेको छ, न थकानकै कुरा गरेको छ । किन थाहा छ ? किनकि उसलाई आफू हुनु पनि छ, दुनियाँलाई आफू हुनुको जानकारी दिनु पनि छ । यहाँ कहाँ निस्काम काम भएको छ ? कदाचित् त्यस्तो हुन्थ्यो भने कहीँ न कहीँ संगति नमिल्न सक्थ्यो, बनोट बिग्रन सक्थ्यो । सारा बोट, बिरुवा र वनस्पतिमा यही नियम लागू हुन्छ । चाहे चिलाउनेको बोट होस्, चाहे धँगेराको सबैको अवस्था त्यस्तै हो । 

निर्जीव प्राणीको अवस्था त त्यस्तो छ भने सजीव प्राणीको अवस्था कस्तो होला स्वतः अनुमान गर्न सकिन्छ । सामान्य कुखुराको पोथीलाई नै लिऊँ न । उसले समयमा भाले पनि खोजेकै हुन्छे, अण्डा पार्ने र चल्ला कोरल्ने काम पनि गरेकै हुन्छे । उसले जबसम्म चल्ला आफैँ चारो टिपेर खान सक्ने हुँदैन तबसम्म आफ्नो ज्यानै दिएर भए पनि चल्लाको रक्षा गर्छे । आफैँ चारो टिपेर खान सिकाउँछे, हिँड्न सिकाउँछे, उड्न सिकाउँछे । जब चल्ला आफ्नो काम आफैं गर्न सक्षम हुन्छ, तब उसलाई उसकै संसारमा छाडेर अर्को संसार खडा गर्नतिर लाग्छे । के यहाँ पनि उसले निस्काम कर्म गरेकी छे भन्न मिल्ला ? अहँ मिल्दैन किनकि उसले पनि सकाम कर्म नै गरेकी छे, त्यो पनि पूर्ण होसियारीको साथमा । एकछिन सोचौं त उसले किन त्यस्तो गरेकी होला ? किनकि उसलाई पनि आफू भएको प्रमाणित गर्नु छ । आफू सक्षम रहेको देखाउनु छ, सजीव रहेको बताउनु छ । यही नै त हो उसले प्रकृतिबाट पाएको शिक्षा । 

मानिसको कुरा गर्ने हो भने अवस्था झन् बेग्लै छ । रात, दिन, साँझ, बिहान, यहाँसम्म कि निदाएको बेलासमेत कुदिरहेको छ, केही न केही गरिरहेको हुन्छ । पढाइमा राम्रो नम्बर ल्याउनु छ, राम्रो जागिर खानु छ । स्वदेशमा नभए विदेशमा गएर भए पनि धेरै पैसा कमाउनु छ । शान, मान देखाउनु छ । मोजमस्ती गर्नुछ । सबैको चाहना यस्तैयस्तै हो, बीस, उन्निस भए छुट्टै कुरो । यहाँ कसले कहिले निस्काम कर्म गरेको छ भन्ने ? त्यो त केबल भन्ने कुरा मात्र हो । संसारमा न कसैले निस्काम कर्म गरेका छन् न गर्न सक्छन् । 

हावाको झोक्कामा कामना छ, माटोको सुवासमा कामना छ । नदीको प्रवाहमा कामना छ, समुद्रको छालमा कामना छ । ग्रह, नक्षेत्र तथा ताराको गतिमा कामना छ, सूर्यको किरणमा कामना छ । वायुमा कामना छ, वनस्पतिमा कामना छ, पशुपन्छीमा कामना छ । बालकमा कामना छ । वृद्धमा कामना छ । संसार बनाएको पनि कामनाले नै हो, बढाएको र चलाएको पनि कामनाले नै हो । कामनाविना ढलेको सिन्कोसमेत उठ्दैन भने अरूको के कुरा गर्ने ? त्यसैले कसैले निस्काम कर्मको कुरा गर्ने गरेका छौं भने आऊँ आजैदेखि त्यस्तो फोस्रो आदर्शको कुरा गर्न छाडी सकाम कर्मतिर लागौं र जीवनलाई सार्थक बनाउनतिर लागौं । 

कमल रिजाल
कमल रिजाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्