पुस २० गते महानगरीय प्रहरी प्रभाग नागढुंगाले स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँ बरामद गरेको थियो । त्यसक्रममा २ जना पक्राउ परेका थिए ।
प्रहरीले सोही घटनामा संलग्न भएको अभियोगमा अन्य २ जनालाई कपिलवस्तुबाट पक्राउ गरेको छ ।
केही दिनअगाडि कपिलवस्तुका सचिन अग्रवाल र पाटन सुनचाँदी पसलमा काम गर्ने निरुद्धिन अन्सारीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए ।
‘१ करोड ४७ लाख रुपैयाँ फलोअप गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्,’ एसएसपी सिंहले भने ।
पक्राउ परेका उनीहरूको साथबाट थप ४९ लाख रुपैयाँ बरामद भएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रवक्ता सुशीलप्रसाद आचार्यले बताए ।
‘अनुसन्धानका क्रममा थप व्यक्तिको संलग्नता देखिएपछि कपिलवस्तु प्रहरीको समन्वयमा थप २ जना पैसासहित पक्राउ परेका छन्,’ प्रवक्ता आचार्यले लोकान्तरसँग भने ।
यसभन्दा अगाडि पक्राउ परेका २ जनाको बयानको आधारमा अनुसन्धान गर्दै जाँदा थप व्यक्ति पक्राउ परेका हुन् भने अरू पनि संलग्न भएको देखिएकाले उनीहरूको खोजी भइरहेको विभागले जनाएको छ ।
पक्राउ परेकाहरूको बयानका आधारमा उनीहरूले त्यो पैसा नेपालमा सुन तस्करी गर्नका लागि प्रयोग गर्ने गरी ल्याएको हुनसक्ने तथ्य खुलेको अनुसन्धानमा खटिएका एक अधिकारीले लोकान्तरलाई बताए ।
‘उनीहरूले त्यो पैसा सुन तस्करीमा प्रयोग गर्न खोजेको देखिन्छ । के कसरी प्रयोग गर्दै थिए ? यसमा को–को र कस्ता व्यक्तिले परिचालन गरिरहेका छन् भन्ने विषयमा अनुसन्धान भइरहको छ,’ ती अधिकारीले भने ।
काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी सिंहका अनुसार पछि पक्राउ परेका अग्रवाल र अन्सारी हुण्डी तथा सुन कारोवारमा संलग्न भएको पाइएको छ ।
पक्राउ परेका २ जना कपिलवस्तुस्थित भारतीय सीमा नाकामा वारपार व्यापार गर्ने र तस्करीमा समेत संलग्न हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको उनले बताए ।
प्रहरी गत पुस २० गते चन्द्रागिरी नगरपालिका–२ मा रहेको उपत्यका छिर्ने मुख्य नाका नागढुङ्गामा चेक जाँच गर्ने क्रममा कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको प्रदेश ३ –०१–०२३ च २२५९ नम्बरको ह्युन्डाइ क्रेटा कारको डिक्कीमा स्पेयर टायरमुनि ३ वटा कालो झोलामा राखेको अवस्थामा १ करोड ४७ लाख फेला पारेको थियो ।
कपिलवस्तु वाणगंगा नगरपालिका–४ का २२ वर्षीय चालक संगम थारुको साथबाट थप ८६ हजार रुपैयाँ बरामद गरेको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब निरीक्षक (डीएसपपी) प्रमेस विष्टका अनुसार उनीहरूले भारतीय रुपैयाँलाई नेपाल र भारतको सीमा नाकामा केहीदिन लगाएर साटेपछि नेपाल भित्र्याएको देखिएको बताएका थिए ।
उनीहरूले भारतीय रुपैयाँलाई ३/४ लाखका दरले स्थानीय व्यापारीसँग साट्ने र नेपालमा ल्याएर एक ठाउँमा जम्मा गर्ने गरेको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार उनीहरूलाई त्यो पैसा साट्नका लागि मात्र करीब १ हप्ता लागेको थियो ।
नेपाल राष्ट्र बैंकले दिनमा ५ हजार भारतीय रुपैयाँभन्दा धेरै पैसा साट्न अनुमति दिँदैन त्यसै कारणले गर्दा पनि उनीहरूले स्थानीय व्यापारीसँग साटेको देखिएको छ । तर अहिलेसम्म पनि अनुसन्धानमै रहेका तथ्य प्रमाणित भइसकेको भने छैन ।
पैसा लिएर आउने चालक संगम थारू र भारतको गोरखपुर घण्टाघर बताउने ३० वर्षीय अमितकुमार गुप्ता यसभन्दा अगाडि कुनै अपराधमा संलग्न भए/नभएको अनुसन्धान भइरहेको विभागले जनाएको छ ।
नेपाल र भारतमा सुनको मूल्य फरक हुँदा तस्करी बढ्ने गर्छ ।
नेपालबाट भारततर्फ तस्करी हुँदा किलोमा नै तस्करी हुने र तोलामा २ रुपैयाँ मात्र मूल्य फरक हुँदा पनि धेरै फरक पर्ने गर्छ ।
नेपालमा समय–समयमा सुन तस्करीको घटना बाहिरिन्छन् ।
कात्तिक १ गते प्रहरीले वीरगञ्ज महानगरपालिका ५, रेशमकोठीस्थित गणेश अपार्टमेन्टबाट २३ किलोभन्दा बढी सुन बरामद गरेको थियो ।
त्यस क्रममा प्रहरीले १ केजीका १३ वटा बिस्कुट, मझौला बिस्कुट ४६ थान ९८ केजी ५७६ ग्राम र साना बिस्कुट १०० ग्रामका १० थान –एक केजी बरामद गरेको थियो ।
सुनका गरगहना ६८१ ग्रामसहित त्यसको कुल तौल २३ किलो थियो ।
त्यो भन्दा अगाडि साउन १४ गते उपत्यका प्रहरीकै संलग्नतामा १५ किलो सुन फेला परेको थियो तर पछि परीक्षण गर्दा १ किलो मात्रै सुन भएको पुष्टि भएको थियो ।
गगन अर्याल
लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।