०३ असार २०८३, बुधबार

प्रकृतिको कुचीकार गिद्ध संरक्षणमा समर्पित कृष्ण भुसाल

फागुन २२, २०७७
प्रकृतिको कुचीकार गिद्ध संरक्षणमा समर्पित कृष्ण भुसाल

अर्घाखाँचीका कृष्ण भुसाल (३५) सानैमा गाईवस्तु चराउन जंगलमा जाँदा मरेका जनावरको सिनो खाने गिद्ध देखेर खुब रमाउँथे । सिनोमा लुछाचुँडी गरिरहेका गिद्धको चर्तिकला देख्दा उनको मनं फुरुङ्ग हुन्थ्यो ।

भूमिकास्थान नगरपालिका–३ धारापानी रातामाटाका भुसाल बाल्यकालदेखि नै गिद्धसँग साक्षात्कार गर्थे । सिनो खाइरहेका गिद्ध धपाउँदै कयौ पटक विद्यालय नै नगई बसेको अनुभव उनीसँग छ ।

घरदेखि केही टाढा रहेको घेराभीर पहरामा गिद्धका गुँड छन् र त्यहीँबाट यी गिद्ध सिनो खान जंगल लगायत बस्तीका वरिपरि आएका हुन् भनेर कृष्णलाई हजुरबुवाले भनेको स्मरण ताजै छ ।

कृष्णको उमेर बढदै गयो तर नेपालमा गिद्धको सख्या भने घट्दै गएको आभास हुन थाल्यो । 

विद्यालय तहको अध्ययनपछि पनि उनले उच्च शिक्षाको लागि जीव विज्ञान छाने । २०६३/६४ सालमा पाल्पाको तानसेनमा बसेर विज्ञान संकायमा अध्ययन गर्दैगर्दा पनि उनी त्यहाँ घाम ताप्न आउने गिद्धलाई बडो उत्सुकतापूर्वक अवलोकन गर्थे । एक पटक तानसेनको बतासेडाँडामै करेन्ट लागेर ३ वटा गिद्ध मरेका र १ वटा घाइते भएको थियो । उद्दार गरेको घाइते गिद्ध पनि केही समय पछाडि मर्‍यो ।

यो घटनापछि भुसालको मनमा गिद्धको अवस्था र मर्नुको कारणबारे जिज्ञासा बढ्दै गयो । प्राणीशास्त्र केन्द्रीय विभागबाट स्नातकोत्तर गरेका उनले शोध अध्ययन (पीएचडी) को लागि अर्घाखाँचीमा प्रजनन् गर्ने गिद्धलाई नै रोजे । 

उनले सोध अनुसन्धान गर्दा अनौठो तथ्य फेला पर्‍यो । नेपालमा ९ प्रजातिका हाडफोर, सेतो, डंगर, सानो खैरो, खैरो, हिमाली, राज, सुन र लामो ठुँडे गिद्ध पाइन्छ । त्यसमध्ये ६ प्रजातिले नेपालमै गुँड बनाउने रहेछन् । डंगर, सानो खैरो र सुन गिद्ध रूखमा गुँड बनाउने प्रजाति हुन् भने हिमाली, हाडफोर र सेतो गिद्धले पहरामा गुँड बनाउने गर्छन् ।

त्यहाँ भने एउटै बासस्थानमा गुँड लगायको तथ्य भेटियो । तराईमा मात्र पाइने विश्वकै दुर्लभ डंगर गिद्ध त्यहीँ घेराभीर पहरामा भेटियो ।

आफ्नै गाउँमा पाइने गिद्धको विषयमा शोध अध्ययन गरेपछि उनमा प्रश्न जन्मियो – किन नेपालमा गिद्धको संख्या तीब्र रूपमा घटिरहेको छ ? यसको संरक्षणमा के गर्न सकिन्छ ? यी प्रश्नले उनलाई संरक्षणको काममा लाग्न प्रोत्साहित गर्‍यो । 

जटायु छात्रवृत्ति प्रदान गर्ने नेपाल पन्छी संरक्षण संघका वरिष्ठ पन्छी विद् हेमसागर बराल र आनन्द चौधरी भुसालको शोध अनुसन्धानका लागि सधैं पे्ररणाको स्रोत बने । फलस्वरूप कृष्ण विगत डेढ दशकदेखि नेपालमा गिद्धको अध्ययन, अनुसन्धान र संरक्षणमा क्रियाशील छन् । उनी विद्यावारिधि (पीएचडी) गर्न जुटेका छन् ।

‘गिद्ध संरक्षणको अभियानकै शिलसिलामा ६८ जिल्लामा पुगेको छु,’ भुसाल भन्छन्, ‘गिद्धको विनाश तीब्र दरमा भइरहेको अत्यन्तै दर्दनाक अवस्थामा गिद्ध संरक्षणमा होमिएको हुँ । पछिल्लो समय आएर गिद्धको घट्नेक्रम रोकिएर पुनः बढ्ने दिशामा अगाडि बढेको छ । यसले केही आशाको सञ्चार गरेको छ ।’ 

भुसालले आगामी दिन पनि गिद्ध जस्ता दुर्लभ चराहरूको अध्ययन, अनुसन्धान र संरक्षणमै बिताउने योजना बनाएका छन् । उनले विश्वका विभिन्न ९ वटा देशहरू भ्रमण गरिसकेका छन् ।

उनी गिद्ध संरक्षणमा काम गर्ने संस्था नेपाल पंक्षी संरक्षण संघमा आबद्ध भएर काम गर्दै आएका छन् । ‘अहिले केही समय यसबाट बाहिर रहेर विद्यावारिधितर्फ जोड दिएको छु । यो अध्ययन पूरा गरेपछि फेरि नेपालमा दुर्लभ पंक्षी संरक्षणको कार्यमा निरन्तर जोडिरहने छु,’ उनले भने ।

नेपालमा गाईवस्तुको उपचारमा प्रयोग गरिने ‘डाइक्लोफेनेकर’ औषधि प्रयोग गरिएको सिनो खाएका गिद्धहरू मर्ने गरको तथ्य फेला पर्‍यो । घरमा पालिने गाईवस्तु सुन्निएको र दुखेको निको पार्न ‘डाइक्लोफेनेकर’ प्रयोग गरिन्थ्यो । ‘डाइक्लोफेनेकर’ औषधि खुवाइएको पशुको सिनो खाँदा गिद्धको मिर्गौलामा असर गर्ने र सिनो खाएको ४८ घण्टामा गिद्धको मृत्यु हुने गरेको पुष्टि भयो । 

त्यसपछि सन् २००६ बाट सरकारले ‘डाइक्लोफेनेकर’ औषधि आयातमा पूर्ण नियन्त्रण गर्‍यो । ‘डाइक्लोफेनेकर’ औषधिको सट्टा गिद्ध, अरु चराचुरूङ्गी र वन्यजन्तुमा असर नगर्ने ‘मेलोक्सिक्याम’ औषधिको उत्पादन र बिक्री वितरण शुरू गरिएको छ । 

संरक्षणकर्मीको अध्ययन अनुसन्धानपछि सरकारले पनि लोप हुने अवस्थामा पुगेको गिद्धहरूको संरक्षणमा ध्यान दिएको छ । सन् २००६ मा पहिलो पटक पूर्वी गिद्ध संरक्षण गर्न नवलपरासीको कावासोतीको पिठौलीमा पहिलो जटायु रेस्टुरेन्ट सञ्चालन गरियो । जुन स्थानीय प्रयासबाट सञ्चालित पहिलो रेस्टुरेन्ट थियो ।

सन् २००८ मा रूपन्देहीको गैडहवा, दाङ र कैलालीमा पनि एकसाथ जटायु रेस्टुरेन्ट सञ्चालमा ल्याइयो । सन् २०१० मा पोखराको घाचक र सन् २०१३ मा सुनसरीको कोशीटापु वन्यजन्तु आरक्षमा पनि जटायु रेस्टुरेन्ट सञ्चालन गरिएको छ । 

गिद्ध र मानव जीवन अन्तरसम्बन्धित भएकाले संरक्षण क्षेत्रमै लागेको भुसाल बताउँछन् । जटायु रेस्टुरेन्टमा गौरक्षा केन्द्रहरू छन् । त्यसमा बृद्ध, असक्त र दूध नदिने गाईवस्तुहरू किसानबाट संकलन गरी पालनपोषण गरिन्छ । तिनीहरूको प्राकृतिक मृत्युपश्चात निश्चित स्थानमा गिद्धहरूको आहाराका लागि राखिन्छ र गिद्धहरू आएर सिनो खान्छन् ।
 
‘अहिले जटायु रेस्टुरेन्टले गिद्धको संरक्षणसँगै पर्यटकले गिद्धको आनीबानी हेर्न, अवलोकन गर्न र अति सकंटको अवस्थामा रहेका गिद्धहरूका विभिन्न प्रजाति र क्रियाकलापलाई नजिकबाट विद्यार्थीले अध्ययन गर्दै मनोरञ्जन पनि लिन सक्दछन्,’ भुसाल भन्छन्, ‘नेपालमा सन् २००१ देखि २०१२ सम्म ९१ प्रतिशतसम्म गिद्धको संख्या घट्यो । संरक्षणको प्रयास थालेपछि सन् २०१२ देखि २०१८ सम्म गिद्ध मर्नेक्रम रोकियो । अहिले गिद्धको संख्या बढ्दै गएको छ ।’ 

सामुदायिक बासस्थान, जटायु रेस्टुरेन्ट र ‘डाइक्लोफेनेकर’ औषधिको प्रतिबन्धले नेपालमा गिद्धको संख्या बढ्दै गएको देखिएको भुसालले बताए ।

सन् १९८० मा नेपालमा १० लाखदेखि १६ लाखको संख्यामा रहेका गिद्ध हाल जम्मा २० हजारको संख्या झरेको गिद्ध सरक्षण अभियान्ता भुसालले बताए । ‘राज्यले पनि गिद्ध संरक्षणका लागि कार्ययोजना बनाएको छ’ उनले भने, ‘अब गिद्ध संरक्षणका लागि प्रकृतिको विनाशलाई रोक्नुपर्छ । प्रकृतिको कुचीकार गिद्धको संरक्षणमा लाग्नुपर्छ ।’ 

पर्यावरणलाई सन्तुलन र गतिशीलता राख्नलाई गिद्ध अनिवार्य हुने उनले बताए । ‘गिद्धको अभाव भएमा सिनो प्रकृतिमै सड्छ । जसमा भुस्याहा कुकुर, स्याल, मुसा र भिंगाको संख्यामा वृद्धि हुन्छ । जसको कारण मानिसमा रेबिज, प्लेग हैजा, आउ, झाडापखाला जस्ता सरुवा रोगहरू फैलिन सक्छन्,’ उनले भने । गिद्धको पर्यावरणीयसँगै धार्मिक र सांस्कृतिक महत्त्व पनि रहेकाले संरक्षणमा सबै लाग्नुपर्ने कृष्ण बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्